बैंक-वित्त

एकल अंकको ब्याजदर कायम गर्ने प्रधानमन्त्री दाहालको आश्वासन, उद्योगी व्यवसायीको आन्दोलन फिर्ता

बाबुराम भण्डारी |
फागुन ३०, २०७९ मंगलबार २०:२९ बजे

विराटनगर - बैंकको चर्को ब्याजदरविरुद्ध काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरूले घोषित विरोध प्रदर्शनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्योगी व्यवसायीहरूको माग बमोजिम एकल अंकको ब्याजदर कायम गर्न पहल गर्ने आश्वासन दिएपछि प्रधानमन्त्रीकै आग्रहमा आन्दोलन फिर्ता लिएको बताएका छन् । 


निजी क्षेत्रले उठाएका बिषयहरुलाई सरकारले गम्भीर भएर लिएको भन्दै प्रधानमन्त्री दाहालले समस्या समाधान गर्न प्रतिवद्ध देखिनु भएको छलफलमा सहभागी राष्ट्रिय सभा सदस्य गोपी अछामीले जानकारी दिए । समस्या समाधान गर्ने आश्वासन दिएका कारण आन्दोलन फिर्ता लिएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।

निजी क्षेत्रको साझेदारका रुपमा रहेको बैँकबाट हामीमाथि भएको गैर व्यवसायी व्यवहारले निर्णायक आन्दोलनमा जानुपर्ने अवस्था बनेको थियो’ अध्यक्ष रिजालले भने, ‘हाम्रा समस्याका बिषयमा प्रधानमन्त्रीज्युले नै चासो राखेपछि हामीले आज भेटेर आफ्ना सबै कुरा राखेका थियौँ, वहाँले एकल अंकको ब्याजदर कुनै पनि हालतमा लागू गर्ने प्रतिवद्धता जनाउनु भयो, हामीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छौँ ।’

अध्यक्ष रिजालले प्रधानमन्त्री दाहालले उद्योगी व्यवसायीको समस्या समाधान गरेरै छाड्ने प्रतिवद्धता जनाएको जानकारी दिए । ब्याजदर लगायतका विषयमा बैंक तथा वित्तीय समस्या संघर्ष समिति नै बनाएर आन्दोलित भएका उद्योगी व्यवसायीहरूले चार दिन यता काठमाडौं केन्द्रित आन्दोलन थालेका थिए । उनीहरूले सोमबार नेपाल राष्ट्र बैंक घेराउ गरेका थिए भने आइतबार माइतीघर मण्डलामा प्लेकार्डसहित प्रदर्शन गरेका थिए । 

उद्योगीहरुले आन्दोलन चर्काउँदै लगेपछि मंगलबार बेलुका प्रधानमन्त्री दाहाल र उद्योगी व्यवसायीका प्रतिनिधिहरूबीच छलफल भएको हो । उद्योगी व्यवसायीको नेतृत्व गरेका नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष दिनेश श्रेष्ठसहित जिल्लास्थित उद्योगी व्यवसायी सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरु छलफलमा सहभागी थिए । 

एकल अंकको ब्याजदर लागू गराएरै छाड्छु भन्नु भएको छ, उद्योगी व्यवसायीले अब आत्महत्या गर्नुपर्ने अवस्था आउँदैन भन्नु भएको छ’ रिजालले भने, ‘प्रधानमन्त्रीबाटै यति कुरा आएपछि समस्या समाधान हुन्छ भनेर हामी अब हामी जिल्ला फर्किने तयारीमा लागेका छौँ ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x