कला

कुञ्‍जमा फेरि 'म्यारिज प्रपोजल'

इकागज |
जेठ १२, २०८१ शनिबार ६:४३ बजे

काठमाडौँ- काठमाडौँको थापागाउँमा रहेको कुञ्‍ज नाटक घरमा नाटक `म्यारिज प्रपोजल´को पुन: मञ्चन सुरु भएको छ । रुसी नाटककार आन्तोन चेखभले लेखेको नाटकलाई चे शंकरले नेपालीमा अनुवाद गरेको नाटकको मञ्चन सुरू भएको हो । 


नाटकको कथा विवाहको सम्बन्ध बिस्तारमा देखिने लफडामा केन्द्रित छ। संगीत सापकोटा र आशिष घिमिरेले नाटकलाई निर्देशन गरेका छन् । कलाशी प्रोडक्सनको प्रस्तुति एवं कर्मन कलासँगको सहकार्यमा नाटक जेठ १० गते शुक्रबारबाट जेठ २७ सम्म मञ्चन गर्न लागिएको निर्देशकद्वयले जानकारी दिए  । 

निर्देशकका अनुसार नाटकले विसंगतिवादी विषयवस्तुलाई समेट्दै मनोरञ्जनात्मकता झल्काउने प्रयास गरेकोछ । सन् १८२० को विषयबस्तुलाई समावेश गर्दै वर्तमान परिस्थिति सापेक्ष रूपमा नाटक तयार गरिएको बताइएको छ । 

सन् २०१८ मा मण्डला थिएटरमा प्रस्तुत गरिएको नाटकको विषयवस्तुलाई भारतको अलावादमा भएको कुम्भ फेस्टिबलमा सन् २०१९ मा मञ्चन गरिएको थियो भने पुनः बंगलादेशको राजशाहिमा बोङंबोन्धु थिएटर फेस्टिबलमा प्रस्तुत गरिएको थियो । 

नाटकमा विजया कार्की, डोरेस खतिवडा, चन्द्र नेपाली र सुन्दर धितालको अभिनय छ । नाटकलाई सन् २०१८ मा तीन जना पात्रहरूमार्फत मञ्चन गरिएको थियो भने यसपटक एक जना पात्र थपिएको छ।  नाटकले विभिन्न सामाजिक मनोभावनालाई आत्मसात् गर्दै आगामी पुस्ताका नेतृत्वदायी भुमिका चित्रणमा समेत ओत पुर्‍याउने विश्वास लिइएको छ । 

करिब ४० मिनेटमा समावेश रहेको नाटको विषयवस्तुलाई परिस्कृत गर्दै १ घण्टा १० मिनेट पुर्‍याइएको छ । उक्त नाटकलाई सन् २०१८ मा कलाशी प्रोडक्सनले आफ्नो पहिलो प्रोजेक्टका रूपमा मञ्चन गरेको थियो। नाटक मञ्चनबाट प्राप्त रकम धादिङको गजुरीमा अवस्थित श्री चेपाङ निम्‍न माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग स्वरूप प्रदान गरिएको थियो । कलाशी प्रोडक्सनले हालसम्म '२४ मा १२', 'अधेरी नगरी चौपट राजा', 'ज्ञानको चिहान' र समय पीडा नाटक मञ्चनलगायत विभिन्न क्षेत्रमा काम गरिसकेको छ ।


Author

थप समाचार
x