कला

‘बलिदान’ मा दिव्य देव अनुबन्धित

इकागज |
बैशाख १०, २०८१ सोमबार १८:१७ बजे

काठमाडौँ- आसुसेन फिल्मसको मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिबार औपचारिक सम्झौता गर्दै उनलाई यस चलचित्रमा भित्र्याएको हो ।

चलचित्रका प्रमुख भूमिकाहरू मध्ये एकमा दिव्यको अभिनय रहने निर्देशक सन्तोष सेनले बताए । 'अभिनयमा पारङ्गत दिव्यजीलाई हामीले पहिलेदेखि नै नजरमा राखेका थियौँ तर औपचारिक रूपमा भने चलचित्रको विषयमा कुराकानी गर्न पाएका थिएनौँ । ‘बलिदान’ को एक प्रमुख पात्रको लागि उहाँ एकदमै सुहाउँदो कलाकार हुनुहुन्छ,' निर्देशक सेनले भने, 'यस चलचित्रमा हामीले सबै उत्कृष्ट कलाकारहरूलाई अभिनय गराउँदै छौँ । चलचित्रमा नयाँ भित्रिनुभएका कलाकारहरू पनि पहिले नै पोख्त भइसक्नुभएको छ ।'


नाट्य कर्म र चलचित्र अभिनयलाई सँगसँगै हिँडाइरहेका दिव्यले प्रमुख भूमिका निभाएको चलचित्र ‘चिसो एस्ट्रे’बाट धेरै चलचित्रकर्मीको नजरमा परेका थिए । उनले ‘हिजो आजका कुरा’, ‘दि सेक्रेट्स अफ राधा’, ‘महाजात्रा’ लगायतका चलचित्रमा अभिनय गरेका छन् भने उनको प्रतीक्षित चलचित्र ‘रुदाने’ भने रिलिज भएको छैन । उनले हालै मात्र ‘मेयर’ चलचित्रमा पनि अभिनय गरेका छन् । उनले अभिनय गरेको पछिल्लो नाटक ‘एउटा सपनाको अवसान’, ‘ट्रान्जिट’ लगायत निकै चर्चित छन् । उनले ‘लुक ब्याक इन एङ्गर’, ‘अन्ना इन द ट्रपिक्स’, ‘मिड समर नाइट्स ड्रिम’ लगायतका करिब दुई दर्जन अङ्ग्रेजी नाटकहरूमा पनि अभिनय गरेका छन् ।

अभिनेता दिव्यले ‘बलिदान’ को टिमसँग जोडिन पाउँदा खुसी रहेको बताए । गत वर्ष नै रिलिज भएको यसको टिजरमा आवाज दिएका उनले निर्देशक सेनले त्यही बेला नै सँगै काम गर्ने प्रस्ताव गरेको बताए । उनले भने, 'टिजरको समयमा नै उहाँले काम गर्नु पर्छ है भन्नु भएको थियो । मैले पर्खिरहेको थिएँ । केही दिन अघि उहाँले बोलाउनुभयो र एउटा महत्त्वपूर्ण भूमिकामा काम गर्ने सहमति भयो । भव्यताका साथ चलचित्र बनाउने आँट भएको मेकरसँग काममा जोडिन पाउँदा खुसी लागेको छ ।'

‘बलिदान’ को प्रमुख भूमिकाबाट समीर भट्टले डेब्यु गर्दैछन् । यस चलचित्रमा यसअघि अभिनेता द्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसकेका छन् । सबै स्टार कलाकारहरूको अभिनय रहने यस चलचित्रलाई लिएर ठूलो अपेक्षा गरिएको छ ।

सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको 'बलिदान' को टिजर छायाङ्कन अगावै रिलिज भई व्यापक चर्चामा रहेको छ । सम्भवतः नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक प्री-प्रडक्शनमा रहँदा नै टिजर रिलिज भएको हो ।

यसै वर्ष रिलिज हुने 'बलिदान'को हाल पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । यसको छायाङ्कन करिब ६० प्रतिशत स्टुडियोमा नै छायाङ्कन हुँदैछ । यस चलचित्रका निर्देशक सेनले चलचित्रको कथामा आउने देश काल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेशन खोज्नुपर्ने चुनौतीका बीच सेट डिजाइन भइरहेको बताए ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताएका छन् । यो चलचित्रलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफैँ ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।

आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन् ।


Author

थप समाचार
x