कला

अनलाइन कला कार्यशालाको मोह

सुनीता साखकर्मी |
असोज ३०, २०७७ शुक्रबार १५:११ बजे

काठमाडौंः ‘प्रकृति सुन्दर छ, किनकी यो जीवित छ, चलिरहेको छ । र यसले हाम्रो इन्द्रीयहरुमा पनि गहिरो प्रभाव पार्छ ।’ अमेरिकी निबन्धकार, दार्शनिक एवं कवि राल्फ वाल्डो इमर्सनले भनेजस्तै प्रकृति परिवर्तनशील छ । सूर्यको प्रकाश होस् या चन्द्रमाको चाँदनीको मात्रा परिवर्तन भएसँगै पलभरमा दृश्य फेरिन थाल्छ । 

प्रकृतिको सुन्दर एक पल क्यानभासमा कैद गर्न चित्रकारहरु प्रकृति नजिक पुग्‍ने गर्छन् । चित्र त स्टुडियोमै पनि बनाउन सकिन्छ । केही रंग र केही कल्पनाको समिश्रण गर्ने हो भने चित्र तयार हुन्छ । तर कलारकारहरु बन्द कोठाभित्र मात्रै चित्र बनाउन चाहँदैनन् । प्रकृतिको काखमा लुटुपुटिएर चित्र कोर्नु जत्तिको मज्जा बन्द कोठामा एक्लै बसेर कोर्नु पक्कै पनि हुँदैन । त्यसैले प्रकृतिको काखमा बसेर, प्रकृतिलाई नै क्यानभासमा उतार्न चाहन्छन् । त्यसैले कलाकारहरु समय-समयमा प्रकृति खोज्दै निस्कन्छन् । स्थलगत रुपमा चित्र कोर्छन् ।
 
तर कोभिड १९ को कहर सुरू भएसँगै देश लकडाउनमा गयो । त्यसपछि स्थलगत रुपमा चित्र कोर्ने क्रम रोकियो । कलाकारहरु घरभित्रै थुनिन बाध्य भए । अहिले केही खुकुलो छ । तर पनि कोभिडको कहर नरोकिएकाले कलाकारहरुले भर्चुअल कला कार्यशाला सुरू गरेका छन् । यस्तै प्रकृति खोज्दै निस्कने केही कलाकारहरुको समुह हो, शनिवारीय स्थलगत कलाकार्यशाला । कोभिड १९ को कहर नभएको भए, देश लकडाउनमा नगएको भए, यो कार्यशालाको टोली सिक्किम पुग्थ्यो । र नेपालमा ती ठाउँका चित्र प्रदर्शनीमा राखिएका हुन्थे । तर हालको लागि त्यो सम्भव छैन ।
 
त्यसैले टोलीले १० अक्टोबरदेखि भर्चुअल शनिवारीय कला कार्यशाला सुरू भएको छ । पहिलो संस्करणमा कलाकारहरुले भर्चुअल रुपमा कला कार्यशाला गरे । जसमा नेपाली कलाकारहरुका साथै विदेशी कलाकारहरुको पनि सहभागिता रहेको थियो ।


फेसबुकबाट जोडिएको चित्रकारको समूहले १ सेप्टेम्बर, २०१८ देखि नेपालमा औपचारिक रुपमा स्थलगत चित्रकला कार्यशाला सुरु गर्‍यो । चित्रकारहरू दिवेश प्रधान, राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, केशवराज खनाल, रामकृष्ण थापालगायतका चित्रकारहरूको टोली कोभिड अघिसम्म प्रकृतिको खोजीमा निस्कन्थे । हरेक शनिबार विभिन्‍न क्षेत्रमा पुगेर दिनभर उक्त ठाउँका दृश्यहरु चित्रमा उतार्थे । यसक्रमले २८ मार्च, २०२० सम्म निरन्तरता पाएको थियो ।
 
वसन्तपुरमा गरिएको शनिबार चित्रकला कार्यशालाको पहिलो संस्करणमा जम्मा तीन जना थिए- चित्रकार राकेशचन्द्र श्रेष्ठ र दिवेश प्रधान र दीपेन्द्रमान बनेपाली । दोस्रो हप्ता पाटनमा गर्दा सुधाराज उपाध्याय थपिए । त्यस्तै तेस्रो हप्ता भक्तपुर दरबार स्‍क्‍वायरमा गर्दा भक्तपुर र थिमिका चित्रकार थपिएर ८ जना भए । थिमीमा गर्दा यो संख्या बढेर २० जना पुग्यो ।

चित्रकार एवं अभियान्ता दिवेश प्रधानका हप्तै पिच्छे कुन स्पटमा पेन्टिङ गर्न जाने भन्ने कुरा चित्रकारको फेसबुक पेजमा पोलिङ सिस्टमबाट निर्धारण गरिन्थ्यो । ‘झन्डै चार सय जना सदस्य रहेको ग्रुपमा चार/पाँचवटा स्पटको नामसहित पोलिङ सुरु हुन्छ, अनि जसमा धेरै भोट आउँछ, त्यहीँ जान्छौँ,’ उनले भने, ‘पूरै लोकतान्त्रिक शैलीमा पोलिङ हुन्छ ।’

चित्रकारहरूले हनुमानढोका, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, थिमी, स्वयम्भू, चाँगुनारायण, टेकु, चापागाउँको बज्रबाराही, खोकना, नयाँ र पुरानो गुहेश्वरी, बौद्ध, बुङमति, चोभार, शंखमूललगायत स्थानहरूमा पुगेर चित्र बनाएका छन् ।
 
यसमा क्रमशः कलाकारहरूको संख्या थपिँदै गएको थियो । चित्रकार एवं अभियान्ता दिवेशका अनुसार हरेक शनिबार ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्वका नयाँ ठाउँमा पुगेर प्रत्यक्ष रूपमा दृश्यावलोकन गर्दै चित्र उतार्दा आधुनिकतासँगै हराउँदै गएका पुराना कुराहरूलाई कलाको माध्यमबाट भए पनि जीवित राख्‍न सहयोग पुग्छ ।
 
१० अक्टोबरबाट सुरू भएको कला कार्यशालाको पहिलो अनलाइन संस्करणमा ३३ जना कलाकारहरुको सहभागिता रहेको थियो । सहभागी कलाकारहरुले खुल्ला आकाशमुनि बसेर कला सिर्जना गरे । यस अनलाइन संस्करणको नियम पनि आफ्नो स्टुडियोमा चित्र कोर्न पाइँदैन भन्‍ने नै थियो । तर कलाकारहरुले कला सिर्जनाको माध्यम र विषय आफै छान्‍न पाउँछन् । सम्भव भएसम्म १५×२२ इन्च साइजको कागज र १८×२४ इन्च साइजको क्यानभासमा कला सिर्जना गर्नुपर्ने नियम थियो । 
 
कला सिर्जना सकिए सिर्जित कलाकृतिहरु अनलाइनमा प्रदर्शनी गरिने चित्रकार दिवेशले बताए । ‘लकडाउन खुकुलो भएपनि अहिले नै बाहिर निस्कने अवस्था छैन । लकडाउनले सिर्जना गरेको समस्यामा पनि हामीले चुप लागेर बस्‍न हुन्‍न भनेर यो कार्यशाला सुरु गरेका हौँ,’ उनले भने, ‘पहिले कलाकारहरु एकै ठाउँमा गएर त्यहीँका कलाहरु उतार्थे । अहिले अनलाइनमा गर्दा एकै पटकमा थुप्रै ठाउँका कलाहरू जम्मा हुन्छौं । कोभिड कहर नसकिउन्जेल यही क्रम निरन्तर चल्नेछ ।’
 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x