कला

२०७७ मा सिनेमाका १२ काण्ड

इकागज |
बैशाख ३, २०७८ शुक्रबार १२:४८ बजे

काठमाडौं :  भाइरसले आतंकित बनाएपछि सरकारले वैशाखदेखि माघ १ सम्म हल खोल्ने अनुमति दिएन । यही कारण यो साल कुनै पनि उल्लेख्य फिल्म रिलिज भएनन् । स्टक क्लियरेन्स गर्ने हिसाबले चारवटा फिल्म रिलिज भए, जुन रिलिज गर्नु र नगर्नुमा खासै अन्तर रहेन ।

तर, कलाकारले फिल्ममार्फत जति इन्टरटेन गराउँथे, त्योभन्दा कति हो कति इन्टरटेन गराए, विभिन्न काण्डमा मुछिएर । वर्ष लागेसँगै  सुरु भएका यी काण्ड वर्षको अन्त्यसम्मै चलिरहे । यसमा कोही कलाकारको बोली चिप्लियो त कसैको मेकअपले ढाकिराखेको नियत देखियो ।  



 १. रिमाको कालो चिया 

दर्शकलाई रमाइलो गराउने शृंखलाको बोहनी गरेकी थिइन्, रिमा विश्वकर्माले । रिमाले फेसबुक लाइभमा आफूले लकडाउनको समयमा बल्ल कालो चिया पकाउन सिकिरहेको बताएपछि नेपालमा कालो चिया रातारात चर्चाको विषय बनेको थियो । केहीले रिमाले नचाहिँदो बडप्पन देखाएको टिप्पणी गरे पनि धेरैले भने यसलाई ट्रोलको विषय बनाएका थिए । रिमाको यो गफ नपचेपछि केही समय सामाजिक सञ्जाल थरीथरीका परिकार बनाउन सिकेको स्ट्याटसले रंगिएको थियो । 

२.वर्षालाई भारतीय साथीको चिन्ताले दिएको चिन्ता

नेपाल–भारत सीमा विवादको विषयमा बोल्ने क्रममा वर्षा राउतले मिडियाका कारण नेपाल र भारतको झगडा परेको तर्क गर्दै आफूलाई भारतीय साथीसँग मुख देखाउन पनि गाह्रो हुने बताएकी थिइन् । तर, उनको यो अभिव्यक्तिमा सारा देश तरंगित भयो । वर्षालाई देशनिकाला गर्नेसम्मका कुरा भए । पछि उनले लाइभ कार्यक्रममा बोल्ने क्रममा जिब्रो चिप्लिएर अन्यथा हुन गएको भन्दै माफी मागिन् । तर, भोलिपल्टै आफू देशभक्त भएको देखाउन अरु हिरोइन जस्तो पलायन नभएको अन्तर्वार्ता दिएपछि अमेरिकातिर रहेको हिरोइनले वर्षासँग चित्त दुखाए । 

३. पूजाको आइक्यु 

नेपालमा कतिवता प्रदेश छन् ?
७२ वटा   
नेपालमा कति जिल्ला छन् ?
जिल्ला त केरे १४ वटा छन् ।  
टेलिभिजन प्रस्तोता प्रकाश सुवेदीले सोधेका प्रश्नको एउटा पनि सही उत्तर नदिएपछि  पूजा शर्माले पनि एक दुई हप्ता दर्शकलाई इन्टरटेन गराइन् । कुनै समय टेलिभिजन पत्रकारितासमेत गरेको बताउने पूजा शर्माले अन्तर्वार्तामा प्रकाश सुवेदीले बताउँदा बताउँदै पनि सञ्चारमन्त्रीको नाम भन्न सकेकी थिइनन् । बरु उल्टै विकास बोर्ड प
पूर्वअध्यक्ष निकिता पौडेललाई सञ्चारमन्त्री भएको बताउँछिन् । जबकि केही समय अघि लकडाउनका समयमा पूजा र  निकितासँगै रसवरी पार्टी गरेकामा विवादमा परेका थिए । 
४. दीपाश्रीको निसानामा महानायक, महानायकको निसानामा दीपाश्री

प्रकाश सुवेदीसँगकै अन्तर्वार्तामा दीपाश्री निरौलाले संकटको समयमा राजेश हमाल उद्योगको पक्षमा नदेखिएको भन्दै ‘खै कहाँ हुनुहुन्छ महानायक ?’ भन्ने प्रश्न गरेपछि दीपाश्रीलाई हमालका फ्यानले तोरीका फूल देखाए । दीपाश्रीले दसचोटि माफी माग्दा पनि हमालका फ्यानको रिस शान्त भएन । अझ फ्यानसँगै केही सेलेब्रिटी पनि दीपाश्रीविरुद्ध खनिएपछि त महानायक विवादमा हात नसेक्ने कोही भएन । यो विवाद सेलाउन कम्तीमा तीन महिना लाग्यो । 

५ साम्राज्ञीले भुवन केसीको थालमा दूलो पारेपछि 
महानायक विवाद मत्थर हुन के लागेको थियो भुवन केसी र साम्राज्ञीराज्य लक्ष्मी शाह मैदानमा ओर्लिए । बलिउडको सिको गर्दै केही अभिनेत्री आफूहरू नातावादको सिकार भएको भन्दै मुखरित भए । वर्षा सिवाकोटी, नम्रता सापकोटा र एलिजा गौतमले मौकामा चौका हान्दै आफूलाई उद्योगले हेला गरेको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि जनाए । यही मेसोमा थपिइन्, साम्राज्ञीराज्यलक्ष्मी शाह । उनले भने अवसरभन्दा पनि केही सेटमा खाना नपाएको त केही सेटमा हिरोलाई मात्र छाता ओढाइएको गुनासो गरिन् । भुवन केसीलाई साम्राज्ञीको यो आरोप असह्य भयो । उनले साम्राज्ञीलाई लक्षित गर्दै ‘जुन थालमा खाने त्यही थाल दूलो पार्ने ?’ स्ट्याटसको वाण हाने । साम्राज्ञीले ब्याकफायर खोल्दै भुवन केसीले जापानमा गलत तरिकारले छुन खोजेको भन्दै स्ट्याटसको मुद्दालाई ‘मि टू’मा बदलिदिइन् । यो प्रकरणले दर्शकलाई केही समय राम्रै मनोरञ्जन दियो । भुवन केसीले अन्तमा साम्राज्ञीविरुद्ध मानहानीको मुद्दा दर्ता गराएपछि यो प्रकरण अदालतमा प्रवेश गरेको छ ।   

६. पूजा र प्रकाश सुवेदी काण्ड 

विवादमा नाम जोडिएको हिसाबले हेर्ने हो भने पूजा शर्मालाई यो सालको वर्ष व्यक्ति मान्दा पनि फरक पर्दैन । पूजा वर्षभरि नै विवादमा आइन् भन्दा पनि फरक पर्दैन । लकडाउनकै समयमा भिडभाड गरेर रवी लामिछाने, दीपकराज गिरी, दीपाश्री निरौला आदिसँग रसबरी पार्टी गरेपछि पूजाले विवादमा पर्ने शृंखलाको खाता खोलेकी थिइन् । पछि सुष्मा कार्कीलाई आफ्ना फ्यान लगाएर खेदेको प्रकरणमा पनि पूजाको नाम आयो । तर, यो सबैलाई छायाँमा पार्ने गरी पूजा र प्रकाश सुवेदी भिडे टेलिभिजन कार्यक्रमको निहुँमा । पहिलको विवादबाट तर्सिएर पूजाले टेलिभिजन फेरेका प्रकाश सुवेदीलाई अन्तर्वार्ता दिन आनाकानी गरेपछि टेलिभिजनबाटै पूजालाई दारे नायिका भनिदिए । पूजाले यसपछि भएभरका संघसंस्थामा उजुरी दिइन् । फिल्मसम्बन्धी संघसंस्थाले पनि प्रकाश सुवेदीलाई माफी नमागे बहिष्कार गर्ने विज्ञप्ति निकाले । बाँकी हिरोइनले पनि प्रकाश सुवेदीलाई बहिष्कार गर्ने सार्वजनिक घोषणा गरे । प्रकाश सुवेदीले माफी मागेपछि बल्ल यो काण्ड सेलायो । 

७. सुष्मालाई श्वेताको किक 

वर्षको उत्तराद्र्धतिर श्वेता खड्काले मनोरञ्जन गराउनमा बाँकी कलाकारलाई पालो दिइन् । श्वेतालाई विवादमा ल्याउन मद्दत गरिन्, आफ्नै सुष्मा कार्कीले । पत्रकारसँगको भनाभनमा श्वेताकी बहिनीले जान्ने भएर सुष्मालाई ब्याककिक हानेपछि सुष्मा प्रहरीको शरणमा जान बाध्य भइन् । दरबारमार्गको एक रेष्टुँरामा भएको विवादमा त्यहीँको प्रहरी चौकीमा श्वेता पक्षले माफी मागेपछि मत्थर भयो । तर, सुष्माले आफ्नो सुन हराएको भन्दै टेकुको अपराध अनुसन्धान शाखामा उजुरी दिएकी थिइन् । त्यसमा कति प्रगति भयो, यसको सूचना भने बाहिरिएको छैन । 

८. माझी बस्ती कसले बनायो ?
सुष्मासँगको विवादले श्वेतालाई अर्को विवादमा फँसायो । यता नाइट क्लबमा नशामा टिल्ल रहेका कारण सुष्मासँग झगडा गरेको खबर आइरहेका बेला श्वेताले माझी बस्ती बनाउन सहयोग मागेको देखेपछि धेरैको दिमाग तात्यो । अझ श्वेताको दोस्रो विवाहको तामझाममा मान्छेको गुनासो छँदै थियो । यता अरुसँग माझी बस्ती बनाउन चुनदाम मागिरहने श्वेताले विवाहको खर्च कटाएर माझी बस्तीलाई सहयोग गर्न खोजेको कसैले महसुस गरेनन् । यही समयमा केही युट्युबमा माझी बस्ती ऋणमा रहेको र श्वेताले पहिला नै हात झिकिसकेको ग्राउन्ड रिपोर्ट आएपछि त श्वेताको मधुमासमा मधु बाँकी रहेन । मुस्किलले यो विवाद सेलायो । 

९. बाहुबली पल 

वर्षभरि नै पल शाह म्युजिक भिडियोमा व्यस्त रहे । म्युजिक भिडियोमा गरेको मेहनतले जम्मा भएको पैसा उनले लकडाउनले संकटमा परेका प्राविधिकका लागि खर्चेर वाहवाही लुटे । तर, वर्षको अन्त्यतिर आइपुग्दा उनले हिरोको छवि बचाउन सकेनन् । म्युजिक भिडियो खेल्न धरान पुगेका पलले त्यहीँ निर्देशक अरुण प्रधानलाई आफ्नै सहयोगीले हातपात गर्दा मूकदर्शक बने । अरुणले पलका विरुद्ध प्रहरीमा उजुरी दिएपछि यो मुद्दा पनि प्रहरीसम्म पुग्यो । अन्त्यमा दुवै पक्षले एकअर्कासँग माफी मागेपछि यो मुद्दा रफादफा भयो । 

१०. हिरोइनको जिरो टोलरेन्स 
यो साल केही हिरोइन भने सामाजिक सञ्जालको शुद्धीकरणमा लागे । उनीहरूले जिरो टोलरेन्स भन्दै युट्युबमा आएका नराम्रा कमेन्ट हटाउन लगाए । यसको नेतृत्व गरेकी निशा अधिकारीले आफ्नो त गराएर छाडिन् नै कांग्रेस नेता गगन थापाको पनि चिन्ता गरिन् । यही क्रममा क्यानडा नेपाल र निशा अधिकारी केही समय फेसबुकमा दन्तबझान गरे । निशाको सिको गर्दै रिमा विश्वकर्मा र ऋचा शर्माले पनि पहिला पहिला दिएका अन्तर्वार्तामा आएका कमेन्ट हटाउन लगाए । तर, भल्गर कमेन्ट आएको भन्दै युट्युबरलाई कमेन्ट हटाउन दबाब दिएका हिरोइनले आफैंले प्रश्न सोध्दा भने सेक्ससम्बन्धी प्रश्न छुटाएनन् । खासगरी निशाले ऋचालाई सोधेको सेक्ससम्बन्धी प्रश्नले निशाको अभियानमाथि प्रश्न उठायो ।

११ मुन्द्रेको क्लबबाट दीपा, दीपाको क्लबबाट मुन्द्रे 
मुन्द्रेको कमेडी क्लबबाट जितु नेपालले दीपाश्री निरौलालाई हटाए भने यता छक्का पञ्जा टिमबाट जितु नेपाल हटे । जितु नेपालले मुन्द्रेको कमेडी क्लबको दोस्रो सिजनबाट रातारात दीपालाई हटाएपछि दुवैबीच ‘अल इज वेल’ नरहेको संकेत मिल्यो । नभन्दै यसको केही समयपछि छक्का पञ्जा टिमबाट जितु अलग भएको समाचार आयो । त्यसयता सार्वजनिक स्थानमा एकअर्कालाई देखे–नदेखै नगरे पनि दुवैबीच पहिलेझैं सम्बन्ध सौहाद्रपूर्ण छैन । 

 १२. मगन्ते महानायक !

पल शाहपछि लकडाउनभर व्यस्त रहनेमा राजेश हमाल पनि रहे । उनले पनि हाजमोलाझैं जे आए पनि पचाउने शैलीमा जस्तासुकै गीत हुन् वा जस्तासुकै गीत बनून्, मतलब नगरी अभिनय गरिरहे । यसका लागि दुर्गेश थापादेखि टिकटक भाइरल होचा कलाकारसँग पनि कम्मर मर्काए । उनीहरूको इसारामा टिकटकमा पनि नसुहाउँदो गरी देखिए । यही समयमा दलित विभेदमाथि बनेको ‘जातको प्रश्न’ नामको कार्यक्रम पनि चलाए । नवराज विकको नृशंस हत्यामाथि सारा कलाकारले बोल्दा एक शब्द पनि नबोलेका राजेश हमालले यो कार्यक्रमपछि पैसा लिएर मात्र जातको विषयमा बोल्ने हो ? भन्ने प्रश्नको उत्तर दिन सकेनन् । अनि उनले दीपाश्रीले उठाएको प्रश्नको जवाफ पनि दिन सकेनन् । दीपाश्रीले जुन क्षेत्रले उनलाई महानायक बनायो, उनीहरूलाई दुःख पर्दा हमाल किन अगाडि नआएको भन्ने प्रश्न गरेकी थिइन् । कालान्तरमा राजेश हमालले देखासिकीका लागि प्राविधिकलाई राहत बाँड्न आए तर बाँडिरहँदा थाहा भयो, यसका लागि उनले गोजीबाट सुको पनि दिएका छैनन् । विदेशबाट उनका फ्यानले पठाइदिएको पैसा नै उनले दानी बनेर बाँडेका हुन् । अर्थात् हमाल पनि अरु केही नेपाली सेलेब्रेटी जस्तो मागेर नै समाजसेवा गर्ने मनुवा निस्किए ।

 

 


 


Author

थप समाचार
x