कृषि

वर्षाले बरबाद

काटेर भित्र्याउन ठिक्क पारेको धानबालीमा क्षति

दीपक उपाध्याय |
कात्तिक १, २०७८ सोमबार १०:२८ बजे

कैलाली - आइतबारदेखि परेको अविरल बर्षाका कारण काटेर भित्र्याउन ठिक्क पारेको धानबालीलाई ठूलो नोक्सानी पुर्‍याएको छ । कैलाली धानखेतीका लागि पकेट क्षेत्र रहेको भएपनि यसपटकको पानीले किसानले काटेर भित्र्याउन ठिक्क पारेको हजारौँ हेक्टर क्षेत्रफलको धानबालीलाई नोक्सानी पुर्‍याएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रराज शर्माले बताए । 

कैलालीमा करिब ७० हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको बताउदै केन्द्रका प्रमुख शर्माले बेमौसी पानीका कारण भएको नोक्सानीले यो वर्ष ५ देखि १० प्रतिशत धान उत्पादनमा कमि आउने बताए । अघिल्लो वर्ष २ लाख ८० हजार मेट्रिकटन धान उत्पादन भएको बताउदै प्रमुख शर्माले यो वर्ष समय-समयमा पानी परेका कारण धान उत्पादन बढ्ने अनुमान गरिएको भए पनि अहिले उक्त परिणाममा धान भित्र्याउन नपाउने बताए । 


उत्पादन भएको धानबालीसमेत राम्रो मूल्य नपाउन सक्ने भएकाले किसानहरू प्रत्यक्ष मारमा पर्ने केन्द्रका प्रमुख शर्माले बताए । धान भिजेकाका कारण कालो हुने, बिउका लागि उपयुक्त नहुने हुँदा व्‍यापारीले सस्तो मुल्यमा धान खरिद गर्नसक्ने भएकाले सरकारले ध्यान दिनु पर्ने शर्माले बताए ।

अहिले पनि पानी निरन्तर परिरहेका कारण  किसानहरूले कम भिजेका धानलाई भिज्नबाट बचाउन ध्यानदिनु पर्ने केन्द्रका प्रमुख शर्माले जानकारी दिए । उनले किसानहरूले ७० देखि ८० प्रतिशत सम्म धान काटिसकेको बताउदै बाँकी धानसमेत काट्ने तयारीमा रहेका किसानहरूलाई केही समय धान नकाट्न आग्रह गरे । 

कैलालीको भजनीका किसान हेमेन्द्र भारद्वाजले पानीका कारण काटेर थ्रेसिङ गर्न ठिक्क पारेको धानबालीलाई धेरै नै क्षति पुर्‍याएको बताए । उनले वर्षभरी गरेको मिहेनत खेर जाने भन्दै चिन्ता व्यक्त गरे । 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x