कृषि

कृषिमा आधुनिकीकरण

हिलोमा होइन, सुख्खा माटोमा धान : किसान र वातावरणलाई प्रविधिको वरदान

सुनीता साखकर्मी |
साउन २, २०७८ १६:७ बजे

काठमाडौँ - कञ्चनपुरस्थित बेलौरी नगरपालिका–६ हात्तीबोझा गाउँका आसारेराम वडायकले परम्परागत तरिकाबाट धान खेती गर्न छाडेको पाँच वर्ष भइसक्यो । उनले न धानको ब्याड राख्छन्, न खेत हिलो बनाएर बेर्ना रोप्छन् । हल्का चिसो खेतमा मेसिनले सिधै धान छर्ने गर्छन् उनी ।

आसारेरामले प्रयोग गरेको यो विधिको नाम हो, छरुवा प्रविधि । ‘यो विधिलाई छरुवा प्रविधि वा (डिएसआर) प्रविधि भनिन्छ,’ उनी भन्छन्,‘न धानको ब्याड राख्ने झन्झट, न त खेतमा पानी लाएर बेर्ना रोप्ने टेन्सन । कम खर्च र लागतमा बढी उत्पादन पाउने भएपछि धान छर्न थालेँ ।’


आसारेरामले अपनाएको छरुवा विधिमा धान खेती गर्दा ब्याड राख्नुपर्दैन, बिऊ उखेल्न र रोप्न पनि पर्दैन । सिड ड्रिल मेसिनले सिधै खेतमा धान छरिन्छ । पाँच वर्ष अघिसम्म आसारेराम पनि बाबुबाजेले सिकाएको विधिबाटै खेत हिल्याएर धान खेती गर्थे । त्यो खेती जीविकोपार्जनका लागि मात्रै ठीक्क हुन्थ्यो । तर, यतिले मात्र हुन्न भन्ने भएपछि  विकल्पको खोजीमा लागे । त्यही खोजले उनलाई छरुवा प्रविधि चिनायो ।

आसारेरामले यो प्रविधिको बारेमा सोधिखोजी गरे । दुई वर्ष सिमिट इन्टरनेसनलको सीसा परियोजनाबाट छरुवा प्रविधिबाट धानखेती गर्न तालिमसमेत लिए । अनि सुरु गरे, छरुवा प्रविधिबाट धानखेती । उनले सुरुमै रिस्क लिन चाहेनन् । त्यसैले एक बिघा क्षेत्रफलमा मात्रै यो प्रविधिबाट धान खेती गरे । कम लागतमा बढी उत्पादन भयो । त्यसपछि उनले क्षेत्रफल बढाउँदै लगे । अहिले पाँच बिघा जमिनमा यही विधिबाट धान छरेका छन्, आसारेरामले । 

एक बिघामा १० हजारदेखि १५ हजार रुपैयाँसम्म बचत हुने वडायकको अनुभव छ । यो प्रविधिबाट उनले ‘सावाँ मन्सुली’, ‘सर्जु—५२’, ‘बहुगुणी—२’, ‘सिल्की—२७७’ र ‘राधा—४’ जातको धान लगाएका छन् । परम्परागत तरिकाबाट हिल्याएर रोपाइँ गरी लगाइएको धानखेतीभन्दा छरुवा प्रविधिबाट लगाइएको धानखेतीको उत्पादन १५ देखि २० प्रतिशत बढी हुने उनको भनाइ छ ।

‘पोहोर छरुवा प्रविधिबाट एक विगहा क्षेत्रफलमा लगाइएको हर्दिनाथ धानको उत्पादन ४५ क्विन्टल भएको थियो,’ आसारेरामले भने, ‘परम्परागत तरिकाबाट खेती गर्दा सोही क्षेत्रफलमा मुस्किलले १० क्विन्टल धान उत्पादन हुन्थ्यो ।’

आसारेराम मात्रै होइन, बेलौरीका अर्का किसान खडक चौधरीले पनि यही प्रविधिबाट धान खेती गर्न थालेका छन् । परम्परागत तरिकाभन्दा यो प्रविधिबाट खेती गर्दा श्रमशक्तिमा २५ देखि ३० प्रतिशत र पानीमा २० प्रतिशतसम्म बचत हुने उनको अनुभव छ । पछिल्लो समय बेलौरीमा सात जनाभन्दा बढी किसानले यो प्रविधि अपनाएका छन् ।

दुवै किसानले अपनाएको यो ‘छरुवा प्रविधि’ले उनीहरूलाई त फाइदा पुर्‍याएको छँदैछ, सँगै नेपाललाई पनि फाइदा पुगेको छ । नेपाल मात्रै होइन, विश्वकै पर्यावरणलाई  पनि केही राहत दिएको छ । किनकि माटो हिल्याएर गरिने परम्परागत खेती प्रणालीबाट मिथेन र नाइट्रस अक्साइड अत्याधिक उत्सर्जन हुन्छ । र दुवैले अपनाएको यो छरुवा प्रविधि वा डिएसआर प्रविधिबाट धान खेती गर्दा कम मिथेन उत्सर्जन हुन्छ ।

पृथ्वीमा उत्पादन भएको मिथेन, नाइट्रस अक्साइड कार्बाेनडाइअक्साइड, कार्बाेनमोनोअक्साइड लगायत ग्यासहरूको अत्याधिक उत्सर्जन हानिकारक छ । यी उत्सर्जन भएका ग्यासहरू वायुमण्डलमा गएर बस्छन् र पृथ्वीको हरितगृहमा प्रभाव पार्छन् । जसले गर्दा सूर्यको उपयोगी प्रकाशलाई पृथ्वीसम्म आइपुग्न दिँदैन ।

त्यसकारण यस्ता ग्यासको उत्सर्जन कम गर्न विभिन्न प्रविधि बनेका छन् । त्यसमध्ये यो डिएसआस वा छरुवा वा घैया विधि एउटा हो । यसका अलावा ‘अल्टरनेट वेटिङ एन्ड ड्राइङ’ विधि पनि छ जसलाई नेपालमा लागू गर्न नेपाल कृषि अनुसन्धान परिषद्का सेवानिवृत्त एवं वरिष्ठ कृषि विज्ञ माधव जोशीले पनि सल्लाह दिएका छन् । यो विषयमा अनुसन्धान नै गरेर नै उनले यो सुझाव दिएका हुन् । 

‘एग्रोनोमी जर्नल अफ नेपाल’को ‘भोल्युम ४’ मा  २०१६ ‘नेपालमा धानको खेतबाट मिथेन ग्यास उत्सर्जनको स्थिति’ शीर्षकमा उनको शोधपत्र प्रकाशित भएको थियो । जर्नलको १४२ देखि १४८ पृष्ठमा छापिएको उक्त शोधपत्र छापिएको छ । जर्नलको १४५ र १४६ पृष्ठमा तालिका नै देख्न सकिन्छ । जसमा सन् २००० देखि २०१० का बीच नेपालमा धान खेतीबाट हुने मिथेन उत्सर्जनको बारेको तालिका देख्न सकिन्छ ।

यसमा धानखेतीबाट कम्तिमा १११.५७ र बढीमा १३३.०७ ग्रामसम्म उत्सर्जन भएको देखाइएको छ । २०१० मा नेपालबाट उत्सर्जन हुने मिथेन उत्सर्जनको १७ प्रतिशत (७२७.४१ ग्राम) मिथेनको प्रतिनिधित्व धान खेत र पशुपालन क्षेत्रले गरेको उनको अनुसन्धानले देखाएको थियो । साथै उनले नेपालमा धान खेतबाट मिथेन उत्सर्जन कम गर्न अपनाउनुपर्ने उपायसमेत बुँदागत रूपमा लेखेका छन् । जसको १० नम्बर बुँदामा मिथेन उत्सर्जन कम गर्न धान खेतमा ‘अल्टरनेट ड्राइङ एन्ड वेटिङ’ विधि लागू गर्न प्रोत्साहन गर्नुपर्ने उल्लेख गरेका छन् ।

यो विधि पनि छरुवा विधि जस्तै हो । यसमा पानी व्यवस्थापनको तरिकाहरू हुन्छन् । परम्परागत धान खेती प्रणालीमा बालीमा पानी जमाइराख्ने गरिन्छ । तर यो विधिमा धेरै कम पानी प्रयोग हुन्छ र समय–समयमा थोरैथोरै गर्दै सिंचाइ गरिन्छ ।  

अमेरिकाबाट प्रकाशन हुने ‘एल्सिभियर’ जर्नलमा २०१६ मा ग्याब्रियल टी लाहुवा, रुफस एल चनेयव, मारिया अर्लेन एडभियन्टो–बोरबेक र बु्रस ए लिनक्विस्टाले यो ‘अल्टरनेट वेटिङ र ड्राइङ’ र ‘डाइरेक्ट सिडेड धान’ पर्यावरणीय पक्षका बारेमा तीन वर्ष लगातार अध्ययन गरी शोधपत्र तयार पारेका थिए ।

‘यो विधि प्रयोग गर्दा धान खेतीबाट उत्सर्जन हुने मिथेन र नाइट्रस अक्साइड कम हुन्छ, तर यसको उत्पादन भने भिन्न–भिन्न देखियो,’ शोधपत्रमा लेखिएको छ, ‘यो विधिले खेती गर्दा धान खेतबाट ६० देखि ८७ प्रतिशतसम्म मिथेन उत्सर्जन कम भएको देखियो । त्यस्तै नाइट्रस अक्साइडको उत्सर्जन औसत ०.३८ केजीमा सीमित गरिदियो ।’

यी विधिलाई प्रविधियुक्त बनाउनमा इन्टरनेसनल राइस रिसर्च इन्स्टिच्युटको पनि ठूलो हात रहेको छ । यही संस्थाले दक्षिण एसियामा परम्परागत रूपमा गरिँदै आएका छरुवा वा घैया विधिलाई ‘डिएसआर’ प्रविधिमार्फत र ‘अल्टरनेट वेटिङ र ड्राइङ’ विधिलाई प्रविधिमार्फत खेती गर्न सहज बनाइदिएको छ ।

इन्टरनेसनल राइस रिसर्च इन्स्टिच्युटका नेपाल प्रतिनिधि डा. कृष्णदेव जोशीका अनुसार नेपालका केही जिल्लामा यो प्रविधि परीक्षण भइरहेको छ । उनी पनि यो विधिले धान छर्दा मिथेन, नाइट्रस अक्साइड जस्ता ग्यासहरू कम उत्सर्जन हुने बताउँछन् ।

‘धानको बेर्ना रोप्न खेत जोत्नुपर्छ, वा खन्नुपर्छ । साथै माटो हिल्याउनुपर्छ । यसरी हिल्याउँदा माटोभित्र अक्सिजन खेल्न पाउँदैन । त्यसले मिथेन पनि अत्याधिक उत्सर्जन हुन्छ,’ उनी भन्छन्, ‘यस विधिमा हामीले गहुँ छरेजस्तै सुख्खा जमिनमा धानको बीउ छर्ने हो । यसले खेतमा अक्सिजन खेल्न पाउँछ । जसबाट मिथेन उत्सर्जन कम हुन्छ ।’

खेत हिल्याएर उत्पादन भएको धानलाई ‘एनारोविक’ धान भनिन्छ भने छरुवा(डिएसआर) वा ‘अल्टरनेट वेटिङ एन्ड ड्राइङ’ विधिबाट उत्पादन भएको धानलाई ‘एरोबिक राइस’ भनिन्छ । अत्याधिक फाइदा हुँदाहुँदै पनि नेपालमा यो घैया वा छरुवा विधिबाट धान भने कमै रोपिन्छ ।

दुई वर्षअघि सिन्धुलीबाट छरुवा धान नै लोप भएको समाचार अन्नपूर्ण पोस्ट्मा छापिएको थियो । २०७६ असार २१ गते ‘लोप हुँदै घैया धान’ शीर्षकमा छापिएको समाचारमा सिंचाइ सुविधा नपुगेको पाखो खेतबारीमा लगाइने छरुवा धान ‘घैया’ लोप हुने अवस्थामा पुगेको उल्लेख गरिएको थियो ।

आकाशे पानीको भरमा खेती गर्नुपर्ने भएकाले मौसम अनुकूल पानी नपर्ने र मलखादको मात्रा नमिल्ने भएपछि सिन्धुलीमा मात्रै झन्डै तीन सय हेक्टर पाखोबारी तथा खेतमा गरिँदै आएको छरुवा धान ‘घैया’ लोप हुँदै गएको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख राजन ढकालले बताएका थिए ।

इन्स्टिच्युटका नेपाल प्रतिनिधि डा.जोशीका अनुसार नेपालमा अहिले ८ देखि १० प्रतिशत मात्रै छरुवा ‘घैया’ धान लगाइन्छ । अन्य ९० प्रतिशतभन्दा बढी धान खेत हिल्याएर नै रोपिन्छ । जसले गर्दा धान खेतबाट मिथेन र नाइट्रस अक्साइडको अत्याधिक उत्सर्जन हुन्छ ।

‘जुनसुकै स्रोतबाट निस्केको भए पनि मिथेन र नाइट्रस अक्साइड हानिकारक हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले इन्टरनेसनल राइस रिसर्च इन्स्टिट्युटले नयाँ प्रविधि भित्राएको हो ।’

इन्स्टिच्युटले नेपालमा कृषि अनुसन्धान परिषद्सँग मिलेर नेपालमा यस विधिको केही जिल्लामा प्रयोग गरी अनुसन्धान गरिरहेको छ । तर यसको अनुसरण दु्रत गतिमा नभइरहेकोसमेत डा.जोशी स्वीकार गर्छन् । 

‘यी विधिहरू वैज्ञानिक र प्राविधिक छन् । कुन समयमा कति पानी दिने, कति मल दिने, कुन समयमा झारको व्यवस्थापन गर्ने लगायत सबै ज्ञान किसानमा हुनुपर्छ । त्यसैले यो विधि किसानको लागि बिल्कुल नयाँ छ । विधि थाहा नभएसम्म यो खेती गर्न सकिँदैन,’ उनी भन्छन्, ‘यो  विधिबाट धान छर्दा परम्परागत खेती जत्तिकै उत्पादन हुन्छ भन्ने कुरामा विश्वस्त नभएसम्म किसानले यो विधि अपनाउने आँट गर्न सक्दैनन् ।

’यो विधि सुन्दा जटिल भएपनि अभ्यास गर्दै जाँदा किसानहरू अभ्यस्त हुने उनको तर्क छ । यसको जटिलतासँगै फाइदा पनि बढी भएकाले किसानलाई यो विधि अपनाउन सल्लाह दिन्छन्, उनी । भन्छन्, ‘परम्परागत धान खेती वातावरणीय हिसाबले, लागतको हिसाबले, माटोको गुणको हिसाबले हानीकारक छ ।’

बहुआयामिक फाइदा हुने भएकाले श्रीलंकामा ९० प्रतिशत र दक्षिण पूर्वी कम्बोडियामा यही छरुवा (डिएसआर) विधिबाट धान खेती हुने गरेको डा. जोशी बताउँछन् । कोभिड–१९ संक्रमणको डरले कामदारको अभाव भएपछि २०२० मा भारतको हरियाणा पञ्जावमासमेत यो विधिबाट धान खेती गर्नेको संख्या ह्वात्तै बढेको थियो । यसवर्ष त हरियाणा सरकारले यो विधिलाई अत्याधिक प्रयोग गर्न किसानलाई तालिम नै दिन थालिसकेको छ ।

२०२१ जुलाइ १६ मा हिन्दुस्तान टाइम्समा प्रकाशित एक रिपोर्ट अनुसार विज्ञको निगरानीमा हरियाणाका आठ जिल्लाका किसानले २० हजार एकड जमिनमा यो छरुवा(डिएसआर) विधिबाट धान खेती गरेका छन् । प्रत्येक जिल्लाका किसानले बढीमा २.५ एकर जमिनमा यो विधिबाट धान छरेका छन् ।

‘यो नयाँ पहल हो । यो विधि अपनाउन २० हजार किसानलाई सहयोग गर्छाैँ र एक लाख किसानलाई यो बारेमा शिक्षा दिने योजना बनाएका छौँ,’ हरियाणा एडिसनल चिफ सेक्रेटरी डा. सुमिता मिश्राले बताएकी थिइन् । हरियाणाको कैथलमा ४ हजार एकर, कर्नाल र कुरुक्षेत्रमा ३–३ हजार र सोनपट, पानीपत, जिन्द, अम्बाला र यमुनानगरहरुमा २–२ हजार एकरमा यो विधिबाट धान खेती गरिएको उनले जनाएकी थिइन् ।

छरुवा धान खेतीका तरिका

नेपालमा छरुवा खेतीबारे थुप्रै शोध तथा प्रकाशन भइसकेको छ । यो विधिबाट धान खेती गर्न चाहने किसानको लागि विभिन्न सरकारी तथा गैर सरकारी संस्थाले यसबारे लेखेका छन् । साथै आफ्नो वेबसाइटमा यो खेतीबारे विस्तृत जानकारी राखेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद्को कृषि अनुसन्धान केन्द्र (वागवानी) किमुगाउँ, दैलेखले २०७१ मा धान खेतीबारे ‘उन्नत धान खेती प्रविधि’ पुस्तक सार्वजनिक गरेको छ । अनिलबाबु बानियाँ, विकाश घिमिरे शशीराम शर्मा, चेतबहादुर राना र कुमार सुवेदीद्वारा लिखित उक्त पुस्तकमा पनि छरुवा धान खेतीबारे उल्लेख गरिएको छ ।

‘धान छरेको ४–५ दिनपछि झार नियन्त्रक विषादीहरू बुटाक्लोर २ ग्राम प्रति लिटर पानीका दरले घोली धान रोपेको ३–४ दिनभित्र स्प्रे गर्ने र रोपेको ३० दिनपछि गोडदा पनि झारपात नियन्त्रण गर्न सकिन्छ,’ पुस्तकमा लेखिएको छ, ‘बढी बोट संख्या भएमा बोटहरु हटाई उचित संख्या कायम गर्नु पर्दछ ।

बीउ छरेको ५०–६० दिनमा दोश्रो पटक झार नियन्त्रण गर्नु पर्दछ । छरुवा धान खेतीमा मलखादको मात्रा साधारणतयाः प्राङ्गागारिक मलको हकमा ५ देखि १० डोको प्रति रोपनी प्रयोग गर्दा राम्रो हुन्छ भने रासायनिक मलको हकमा भने ४.५ के.जी डिएपी २.५ के.जी पोटास र युरिया प्रति रोपनीमा प्रयोग गर्नु पर्दछ ।’

त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि छरुवा धान खेती सम्बन्धी तरिकाहरू उल्लेख गरेको छ । यसमा चिस्यान भएको तयारी जग्गामा सोझै हातले छर्ने, हलोको पछाडि, चाइनिज–सिड ड्रिल, जिरो टिल मेसिन एवं ड्रम सिडरले हिल्याएको खेतमा लहरै मिलाएर धान लगाउने उल्लेख छ । 



Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
ad
x