कृषि

पोखरामा मागभन्दा बढी सयपत्री, बिक्री नभएपछि व्यवसायी चिन्तित

धनबहादुर गुरुङ |
मंसिर २, २०८० शनिबार १४:५३ बजे

पोखरा- तिहारका लागि आवश्यक सयपत्री फूल उत्पादनका लागि पोखरा महानगरपालिकाले यो वर्ष पाँच लाख रुपैयाँ लगानी गर्यो । महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरा महानगरले ५० प्रतिशत अनुदानमा कृषकलाई फूलका बिरुवा उपलब्ध गराएको थियो । जसमा १ सय ५४ कृषकलाई पाँच लाख बराबरको सयपत्री फूलको बिरुवा अनुदानमा दिएको उनले बताए । जसबाट १ सय ५० रोपनी जमिनमा खेती विस्तार भएको प्रमुख कडरियाको भनाइ छ ।

त्यो बाहेक गण्डकी प्रदेशमा फ्लोरिकल्चर एसोसियसन अफ नेपाल (फ्यान) अन्तर्गत ४८ व्यवसायी आबद्ध नर्सरीले पनि सयपत्री उत्पादन गरे । ४८ नर्सरीमध्ये ४ जना पोखरा बाहिरका छन् । बाँकी पोखरा भित्रकै व्यापारी छ । पोखरामा भएका नर्सरीहरूले उत्पादन गरेको फूलले नपुगेर अघिल्लो वर्ष १० प्रतिशत जति बाहिरबाट ल्याउनपर्ने बाध्यता थियो । तर, यो वर्ष पोखरा क्षेत्रमा फूल उत्पादन आवश्यकताभन्दा बढी भएको व्यवसायीहरूको भनाइ छ । उत्पादन बढी भएर फूल बिक्री नहुँदा व्यवसायीलाई चिन्ता पनि उस्तै छ ।


पोखरा-१३ उद्गम टोलमा केबलकार मनकामना नर्सरी सञ्चालन गरेर बसिरहेकी रजिता गुरुङ फूल नबिकेर तनावमा छिन् । उनको नर्सरीको ५० प्रतिशत फूल अझै बोटमै रहेको उनको भनाइ छ । ‘पहिला जस्तो फूल बिक्री भएन । अहिले उत्पादन बढी भएछ,’ उनले भनिन्, ‘धान लगाउनेहरूले पनि फूल लगाए छन् । तरकारी लगाउनेहरूले पनि लगाए छन् अनि उत्पादन बढी भयो ।’

उनले यो वर्ष डेढ लाख रुपैयाँ आम्दानी गर्ने सोच राखेकी थिइन् । तर, तिहार सकिँदासम्म ८० हजार रुपैयाँ जतिको मात्र व्यापार भएको उनले बताइन् ।

आफूले बिक्री गरेका ३५ प्रतिशतको पैसा आए पनि १५ प्रतिशत सित्तैमा बाँडेको उनले सुनाइन् । ‘सित्तैमा बाँड्न परेपछि घाटा नै बेहोर्नुपर्यो । महानगरले प्रतिमाला २० रुपैयाँ दिने सुनेको छु । अब त्यसले के होला र ?’ उनले भनिन्, ‘धुप बनाउन अनि रंग बनाउन लिन आउने कुरा पनि छ । उनीहरू कहिले आउने हो आउने मैले त सित्तैमा दिएँ ।’

फ्लोरिकल्चर एसोसियसन अफ नेपाल (फ्यान) गण्डकीका अध्यक्ष डिलबहादुर गुरुङले पनि अहिले धेरै व्यवसायीहरूको फूल बिक्री नभएको बताउँछन् । ‘यो वर्षको तिहारमा फूलको उत्पादन धेरै भयो । यसपाली व्यापारमा सोचेको भन्दा कमी आयो । तर, स्वदेशको उत्पादनले नै पुग्यो त्यसमा सन्तोष नै मान्नुपर्छ,’ उनले भने, ‘कतिपय फूल त छोएकै छैन । मेरै पनि उस्तै छ अवस्था ।’

नबिकेका फूललाई के गर्ने भन्ने विषयमा आफूहरूसँग कुनै विकल्प नरहेको उनको भनाइ छ । यसका लागि सम्बन्धित निकायले सोच्नुपर्ने अध्यक्ष गुरुङले बताए । ‘नबिकेका फूललाई कलर बनाएर हुन्छ या के गरेर हुन्छ सदुपयोग गर्न पाए अलि राहत हुन्थ्यो,’ उनले भने, ‘महानगरले पनि प्रतिमाला २० रुपैयाँ दिने भनेको छ । यसले पनि कृषकलाई केही राहत मिलेको होला ।’

यता, महानगरले भने सयपत्री फूल मेलाको स्टलमा बिक्री नभएका फूलका हकमा मात्र प्रतिमाला २० रुपैयाँ दिने निर्णय भएको बताएको छ । पोखरा महानगरले गत कात्तिक २५ देखि २८ गतेसम्म सयपत्री फूल मेला आयोजना गरेको थियो । ‘घरबाट माला बनाएर तोकिएको ठाउँमा ल्याएर बिक्री नभएको खण्डमा अन्तिम दिनमा गनेर प्रतिमाला पैसा दिने निर्णय भएको हो,’ आर्थिक विकास महाशाखा प्रमुख कडरियाले भने, ‘अब घर तथा नर्सरीमै भएको फूलहरूलाई सुकाएर बेच्ने भन्ने कुरा भएको छ । तर, निर्णय भइसकेको छैन ।’

नबिकेका फूलहरूलाई सुकाएर राखे प्रतिकिलो ५० देखि १०० रुपैयाँसम्म कुनै एक संस्थाले किन्ने विषयमा छलफल भइरहेको उनले सुनाए ।


Author

थप समाचार
x