प्रवास

टिप्पणी

यस्तो छ अमेरिकी चुनावमा चिनियाँ चासो

अजय अलौकिक |
कात्तिक २०, २०७७ बिहीबार १३:४५ बजे

बेइजिङ : संयुक्त राज्य अमेरिकामा भइरहेको राष्ट्रपतीय चुनावको सरगर्मीले सारा विश्वलाई छोएको छ । यो चुनावको चस्का चिनियाँहरूलाई पनि मज्जैले लागेको देखिन्छ । त्यसो त, आम चिनियाँहरू अरू देशको राजनीतिमा चासो दिएको पाइन्‍न । तर यो पटक भने कसले जित्ला भन्‍नेमा उत्सुक भए ।

पछिल्लो घोषित तथ्याङ्क अनुसार, डोनाल्ड ट्रम्पले २१४ र उनका प्रतिस्पर्धी जो बाइडेनले २६४ इलेक्ट्रोल भोट पाएका छन् । २७० इलेक्ट्रोल भोट ल्याउने उम्मेद्वार अमेरिकी राष्ट्रपतिमा विजयी हुने छन् । हालको नतिजालाई हेर्दा बहालवाला राष्ट्रपति ट्रम्पलाई भूतपूर्व उपराष्ट्रपति जो बाइडेन अघि छन् ।


यता, बिग डे अर्थात् नोभेम्बर ३ चुनावको दिनदेखि चिनियाँ सामाजिक सञ्जालमा बाइडेन र ट्रम्प छाएको देखिन्छ । चिनियाँहरुले बढी प्रयोग गर्ने सामाजिक सञ्‍जाल वइपो, विच्याटमा पछिल्लो प्राप्त मत संकेतका तस्बिरहरू तथा 'स्वीङ स्टेट'बारे चर्चा परिचर्चा भएको देखिन्छ ।

यस पटकको अमेरिकी चुनावले ४ वर्षअघिको चुनावको तुलनामा चीनमा कम मिडिया कभरेज पाइएको छ । साथै चिनियाँ विश्लेषकहरूले पनि चिनियाँ जनता आफ्नै विकासमा केन्द्रित रहेको र चीनको भविष्य अमेरिकी राष्ट्रपतिमा निर्भर नभएको टिप्पणी गर्छन् । साथै ट्रम्प वा बाइडेन जो जसले जिते पनि द्विपक्षीय सम्बन्धको विकासमा कुनै ठूलो आशा नराखेको पनि बताएका छन् ।

ग्लोबल टाइम्सका सम्पादक हू सीचिनले अक्टुबर ३१ मा प्रकाशित आफ्नो लेखमा कुन उम्मेद्वारको जीत चीनलाई हितकर हुन्छ ? भन्दै टिप्पणी गरेका छन् । खासमा भन्नुपर्दा चीनका लागि दुवै जना खराब हुन् । यो अफिसियल टोन होइन तर सत्य यही नै हो, उनी भन्छन् । न्यू योर्क टाइम्स र सिएनएनजस्ता मेनस्ट्रिम मिडियाहरू डेमोक्र्याटिक पार्टीका मुख्य समर्थक भए पनि चीनका लागि कति खतरनाक छन् । चिनियाँ जनताले ट्रम्प, पेन्स वा पोम्पेओमा फरक छुट्ट्याउन सक्दैनन् । चीनले आफ्नो उत्तम बाटो पहिल्याउने क्रममा अमेरिकालाई भरोसा गर्न सक्दैन । चीनप्रतिको अमेरिकी धारणालाई हामी आफैले मात्र आकार दिन सक्छौं ।

ट्रम्प विजयी भएमा उनी आफ्नै तरिकाले अघि बढ्ने छन् र विश्वस्तरमा अमेरिका उत्तरदायित्वबाट पन्छिँदै जाने छ । यो स्थिति चीनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभाव बढाउने थप मौका हुने छ ।

चिनियाँ विश्लेषकका अनुसार, डेमोक्र्याटिक र रिपब्लिकन पार्टीका आआफ्नै वैदेशिक नीति भए पनि चीनलाई दबाउने वा सिमित बनाउने दिशा कहिले परिवर्तन भएको छैन । पूर्वराष्ट्रपति बाराक ओबामाको शासनकालमा उनको डेमोक्र्याटिक पार्टीले चीनविरूद्ध ट्रान्स प्यासिफिक पार्टनरसिपको अवधारणा अघि सारेको थियो भने ट्रम्प प्रशासनले उक्त ट्रान्स प्यासिफिक पार्टनरसिपलाई त्यागेर चीनसँग व्यापार युद्ध र विज्ञान तथा प्रविधिको युद्ध सुरू गरेको छ । साथै ट्रम्पले इण्डो प्यासिफिक रणनीतिलाई पनि अघि सारेका छन् ।

ट्रम्पले चीनलाई प्रतिद्वन्द्वी मान्दै सन् २०१७ मा राष्ट्रिय सुरक्षा रणनीति लागू गरेका थिए । त्यस लगत्तै व्यापार युद्धको आरम्भ गर्नुका साथै पछिल्लो समय ह्वावैमाथि प्रतिबन्ध लगाएका छन् र चिनियाँ विद्यार्थीलाई भिजा (भिसा) दिन पनि रोक लगाएका छन् । पछिल्लो समय कोभिड-१९ का कारण दुई देशबीचको सम्बन्ध झनै बिग्रँदै गएको छ ।

यसैबीच बिग डेपछिको पहिलो दिन बुधबार मात्र १ लाख अमेरिकी सङ्क्रमित भएको जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्याङ्कले देखाएको छ । हालसम्म अमेरिकामा ९४ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने २ लाख ३३ हजारको मृत्यु भइसकेको छ ।

समग्रमा, यस पटक पनि ट्रम्प विजयी भएमा उनी आफ्नै तरिकाले अघि बढ्ने छन् र विश्वस्तरमा अमेरिका उत्तरदायित्वबाट पन्छिँदै जाने छ । यो स्थिति चीनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभाव बढाउने थप मौका हुने छ । कोभिड-१९ पछि अमेरिका विश्व स्वास्थ्य संगठनबाट अलगिएको छ भने चीन अझ निकट रहेर समन्वय गरिरहेको छ । यदि बाइडेन राष्ट्रपति भएमा अमेरिका र उनका पक्षधर पश्चिमा राष्ट्रको गुटबन्दी फेरि एक पटक झाङ्गिने छ जसले चीनलाई असर पार्ने छ ।

अन्तमा, बाइडेन या ट्रम्प चीनलाई कुनै फरक रहन्न । चीन आफ्नो तीव्र विकासमा अग्रसर छ । साथै विश्व समुदायलाई साझा भाग्य निर्माणको बाटोमा निमन्त्रणा गर्दै साझा विकासमा अडिग रहेर बढिरहेको छ । उसले स्वतन्त्र विकास क्षेत्र, नवीन रेशममार्ग तथा खुलापन र बहुपक्षीयतालाई आत्मसाथ गरी विश्व अर्थतन्त्र र विश्वलाई अघि बढाउनेमा कुनै शंका छैन ।


Author

थप समाचार
x