प्रवास

कोरिया जाने रोष्‍टरमा समावेश नेपाली कामदारकालागि थप समय दिइने

भाषा परीक्षा गराउन सरकार अनिच्छुक

अतिन आचार्य |
कात्तिक ४, २०७८ बिहीबार १६:३९ बजे

फाइल तस्बिर

काठमाडौँ- काेरियन भाषा परीक्षा पास गरी दक्षिण कोरिया जान नपाएका नेपाली कामदारको समय थपिने भएको छ । भाषा परीक्षा पास गरेर रोष्‍टरमा नाम रहेका नेपाली कामदारका लागि काेरिया राेजगारीमा जाने समय थपिने भएको हो ।

कोभिड-१९ को महामारी सुरु भएपछि नियमित रुपमा जानुपर्ने कामदार कोरिया जान पाएका छैनन् । यसअघि पनि रोष्‍टरमा नाम रहेका नेपाली कामदारको एक वर्ष समय थपिएको थियो । पुन: रोष्‍टरमा करिब ६ हजार नेपाली कामदारको संख्या रहेको राउतले जानकारी  दिए । कामदारको समय ६-६ महिना थप गर्न लागिएको उनले प्रस्ट पारे । विविक कारणले रोष्‍टरमा रहेका कामदार जान नपाएमा समय थप गर्ने व्यवस्था पनि रहेको उनले जानकारी दिए ।


सन् २०१८- १९ मा भाषा परीक्षा पास गरेका कामदारको समय थप्‍न कोरिया सहमत भएको ईपीएस कोरिया शाखाले जनाएको छ । नियमित रुपमा कोरिया जान नपाएका र रोष्‍टरमा नाम रहेकाहरूको समय थप्‍न इच्छुक भएको शाखाका निर्देशक सुरेश राउतले इकागजलाई बताए । पछिल्लो समय विश्‍वभर कोभिड महामारी सुरु भएपछि भाषा परीक्षा पास गरेकाहरू कोरिया जान पाएका थिएनन् । कोरियाले पनि विदेशी कामदारलाई प्रवेशमा रोक लगाएको थियो ।

कोरियाले ईपीएस प्रणालीबाट १६ मुलुकबाट कामदार लाने गरेको छ । नेपालबाट भाषा परीक्षा गरेका कामदारहरूको संख्या कटौती नहुने राउतको दाबी छ । 'कमिटेड कामदारलाई पठाइसकेपछि मात्र भाषा परीक्षामा उत्तिर्ण गरेकालाई लैजाने प्रक्रिया अगाडि बढाइन्छ,' उनले भने ।

कोरियास्थित विभिन्‍न कम्पनीले कामदारको माग गरेमा जुनसुकै समयमा कामदार पठाउन सकिने राउतको भनाइ छ । कोरिया सरकारले कामदार लैजानकालागि सहजीकरण मात्र गर्छ । मुख्य कामदारको माग कम्पनीले गर्ने गरेको उनले जानकारी दिए ।

महामारी सुरु भएको करिब दुई वर्षपछि कोरियाले पहिलोपटक 'कमिटेड' कामदार लाने भएको छ । (कोरियामा भिसा अवधि सकेर रोजगारदाता कम्पनीबाट लेबर कन्ट्रयाक्ट लिएर आएकाहरू) । कोरियाको मानव संशाधन सेवाबाट प्राप्‍त निर्देशन अनुसार कमिटेड कामदारको भिसा प्राप्‍त भएकाहरू जान पाउने भएका हुन् । आगामी १० गते पहिलो चरणमा ५० जना कामदार लैजाने भएको हो । 

गत २ वर्षदेखि विविध कारणले करिब १० हजार नेपाली कामदार कोरिया जान नपाएर स्वदेशमा रोकिएका छन् । ईपीएस शाखाले पहिलो चरणमा कमिटेड कामदार पठाइसकेपछि र कोभिड नियन्त्रणको अवस्था हेरेर थप कामदार पठाउन पहल गर्ने भएको छ ।

कोरियाले निरन्तर कामदार लान थालेपछि नेपालले पनि त्यसअनुसार कति कामदार पठाउन सकिन्छ त्यस विषयमा निर्णय गर्ने भएको छ । राउतले कमिटेड कामदार लैजान थालेपछि मात्र नेपालको तर्फबाट गर्नुपर्ने काम गरिने बताए ।

भाषा परीक्षा अन्यौल

कोरियाले परीक्षार्थीको भाषा परीक्षा लिन आग्रह गरे पनि नेपालले परीक्षा सञ्‍चालनगर्न सकेको छैन । रोकिएका कामदार पठाउन कोरिया जान थालेपछि भाषा परीक्षा सञ्‍चालनगरिने निर्देशक राउतको भनाइ छ । भाषा परीक्षा सञ्‍चालनगरी परीक्षार्थी पास हुँदा थप कामदारको संख्या नेपालमा रोकिने भएको हो । कोभिड नियन्त्रण हुन नसकेकाले पनि परीक्षा सञ्‍चालनगर्न नसकेको हो । शाखाले अबदेखि कम्प्युटर विधिबाट परीक्षा लिने तयारी गरेको छ । यस अघि परीक्षार्थीले पेपरमा परीक्षा दिने गरिएको थियो ।

श्रम स्वीकृति प्राप्‍त गरी ६५ हजार नेपाली कामदार कोरिया गइसकेका छन् । नेपालीहरू कृषि र औद्योगिक क्षेत्रमा काम गर्न जाने गरेका छन् । सन् २००७ देखि वैधानीक रूपमा भाषा परीक्षा गरी नेपाली कामदार कोरिया जान थालेका हुन् ।

सन् २०२० को मार्चदेखि कोभिडका कारण नेपाली कामदार जान पाएका छैनन् । अब भने कोरियाले 'कमिटेड' भिसा वाहक १ सय १९ जना कामदारलाई लाने भएको छ । यसअघि कोरियाले महामारीको बिचमा पनि भियतनाम, मंगोलिया लगायत विभिन्न मुलुकबाट कामदार लिन थालिसकेको छ ।

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x