प्रवास

बेइजिङका दुई करोडले लगाए कोभिड खोप

अजय अलौकिक |
भदौ ६, २०७८ आइतबार २०:३२ बजे

फाइल फोटो

बेइजिङ - चीनको राजधानी बेइजिङमा दुई करोडभन्दा बढी मानिसलाई कोभिड–१९ विरूद्धको खोप लगाइएको छ । साथै बेइजिङमा बसोबास गर्दै आएका १ करोड ८४ लाख ६४ हजारले खोपको पूर्ण मात्रा दुई डोज लगाइसकेका छन् । 

अगस्ट २१ शनिबार सार्वजनिक तथ्याङ्क अनुसार, १८ वर्षमाथिका स्थायी जनसङ्ख्यामा लगाइएको खोपको दर ९४ दशमलव ३२ प्रतिशत पुगेको छ । यसै गरी १२ देखि १७ वर्ष उमेरका ५ लाख ९६ हजार बढीलाई खोप लगाइसकेको छ । यो समूहमा खोप दर ९० प्रतिशत बढी रहेको पनि बताइएको छ । 


चीनले गत जुनमा ३ वर्षदेखि १७ वर्ष उमेर समूहका नाबालिगहरूमा आफ्नो खोपको आपत्कालीन प्रयोगका लागि अनुमोदन गरेको थियो । जुलाईदेखि खोप दिन थालिएको यो समूहलाई हालसम्म ६ करोड डोज खोप दिइसकेको छ । यो क्रम जारी छ । यसअघि खोप अभियानमा १८ वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई मात्र समेटिएको थियो । 

पछिल्लो तथ्याङ्क अनुसार बेइजिङको जनसङ्ख्या २ करोड १८ लाख ९३ हजार रहेको छ । बेइजिङ नगरपालिका अनुसार, ६० वर्षदेखि माथिका उमेरको जनसङ्ख्या ४३ लाखको हाराहारीमा रहेको छ । ६० वर्षमाथिका व्यक्तिहरूमा विविध अरू रोगहरू पनि हुने भएकोले खोप लगाउन आग्रह पनि गरिएको छ । घरमै बसे तापनि बाहिरबाट आएका परिवारका सदस्यबाट रोग सर्नसक्ने भएकोले खोप लगाउन भनिएको छ । यस बाहेक, यो समूहका मानिसमा खोपको प्रभाव राम्रो देखिएको बताइएको छ ।

हालसम्म चीनमा १ अर्ब ८० करोड बढी डोज खोप लगाइसकेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । एक अर्ब ४२ करोड जनसङ्ख्या भएको चीनमा झण्डै ५५ प्रतिशतले खोप लगाइसकेको छ । चीनभरि ७७ करोड ७० लाख बढीले खोपको पूर्ण मात्रा पाइसकेका छन् ।

साथै खोप लगाएपछि कुनै गम्भिर नकारात्मक प्रभाव देखिएको छैन । खोप लगाएका केहीमा देखिएका सामान्य लक्षणहरू अन्य खोपमा झैँ सामान्य रहेको विशेषज्ञहरू बताउँछन् । साथै चिनियाँ खोप सुरक्षित रहेको प्रमाणित पनि भइसकेको छ । यस बाहेक, खोप केन्द्रमा खोप लगाइसकेपछि तीस मिनेटसम्म निरगरानीकालागि आराम कक्षमा राख्ने पनि गरिन्छ । 

कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी माध्यम खोप नै हो । तथापि खोपको प्रभाव शतप्रतिशत देखिएको छैन । खोप लगाइसकेपछि एन्टिबडी विकास हुन केही निश्चित समय लिने भएकोले खोप लगाइसकेपछि पनि मास्क लगाउने, सामाजिक दूरी कायम राख्ने, हात धुनेजस्ता सुरक्षाका उपायहरू अपनाउनु जरूरी हुन्छ । 

चीनले कोभिड–१९ विरूद्धको लडाइँमा नेपालसहित एक सय बढी देशलाई खोप सहयोग पनि गरेको छ । ६० बढी देशमा खोप निर्यात गर्नुका साथै चीनले हालसम्म ७७ करोड बढी खोप निर्यात गर्दै खोप निर्यातकर्ता मुलुकमा विश्वमा पहिलो स्थान ओगटेको छ ।
 


Author

थप समाचार
x