प्रवास

नेपाली समाज यूएईले आज ३५औं स्थापना दिवस मनाउँदै

इकागज |
बैशाख ९, २०८१ आइतबार ११:२८ बजे

काठमाडौँ- नेपाली समाज यूएईले आज ३५औं स्थापना दिवस मनाउने भएको छ ।  अप्रिल २१ तारिख आइतबारको दिन आफ्नो कार्यक्रममा नेपाली समाजले नेपाली समुदायमा योगदान दिएका नेपालीहरूलाई विशेष सम्मान गर्ने भएको छ ।

 सन् १९९० मा स्थापना भएको नेपालीहरूको पुरानो संस्था नेपाली समाज नेपालीहरूको सबै भन्दा पुरानो संस्था हो । हाल यस संस्थामा यूएईमा कियाशील रहेका ५० भन्दा बढी संस्थाहरू आबद्ध रहेका छन् ।​


विशेष सांस्कृतिक कार्यक्रम सहित मनाउन लागिएको उक्त कार्यक्रममा विभिन्न विधामा समुदायमा योगदान दिएका नेपालीहरूलाई सम्मान गरिने समाजका अध्यक्ष बेद प्रसाद अर्यालले जानकारी दिएका छन् ।

कार्यक्रममा यूएईमा ३५ बर्ष भन्दा बढी कार्यरत रहेका नेपालीहरूलाई पनि सम्मान गरिनेछ । सांस्कृतिक कार्यक्रमका लागि नेपालबाट गायक नारायण माझी, कुलेन्द्र विश्वकर्मा, गायिका शान्ति श्री परियार, र रेश्मा बोम्जोम दुबई पुगेका छन् ।

नेपाली पञ्चेबाजा सहित यूएईमा रहेका नेपाली कलाकारहरूले उक्त कार्यक्रममा प्रस्तुति दिनेछन् । यूएईमा आपतमा परेका नेपालीहरूको सहयोगार्थ कार्यक्रम आयोजना गरिएको महासचिव केदार कुँवरले बताए ।

समाजले नेपाली दूतावाससँग सहकार्य गरी आपतमा परेका, मृत्यु भएका र विभिन्न कारणले बिरामी भएका नेपालीहरूको उद्धार गर्दै आइरहेको छ । कार्यक्रममा यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्री र श्रम काउन्सिलर दिनबन्धु सुबेदी सहितको उपस्थिति रहनेछ ।


Author

थप समाचार
x