प्रवास

एनआरएनए महाधिवेशन : ४० देश पुगेर फर्केपछि यसो भन्छन् अध्यक्षका प्रत्यासी आरके शर्मा

इकागज |
असोज २१, २०८० आइतबार ७:३२ बजे

युएई- युरोपको भ्रमणपछि आफ्नो कर्मभूमि मध्यपूर्व आइपुगेका गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष प्रत्याशी राजेन्द्रकुमार (आरके) शर्माले दुबईमा एनआरएनए अभियन्ताहरूलाई सम्बोधन गरेका छन् ।

बिगत सत्र वर्षदेखि आफु विदेशमा रहेर बिशेष गरेर मध्यपूर्वमा रहँदै गर्दा आफुले पनि विभिन्न समयमा चाडपर्व मनाउन नपाएको पीडाको महसुस आफुले पनि गरेको शर्माले बताए । ‘म यो अभियानमा हिँड्दै गर्दा ममतामयी आमा बिरामी पर्दा पनि समयमा घर जान सकिनँ, तपाईंहरू पनि यस्तो परिस्थितिबाट गुज्रिनु भएको होला’ भन्दै शर्माले आफ्नो सम्बोधनको क्रममा भावुक रुपमा प्रस्तुत भएका थिए ।


अबको नेतृत्व मध्यपूर्वमा आयो भने मात्र श्रमिकको हक, हितका निम्ति धेरै कार्य गर्न सकिने कुरामा शर्माले जोड दिएका थिए । सम्बोधनको क्रममा आफ्ना २४ प्रतिवद्धताहरू दोहोर्‍याउँदै आफू विजयी भएमा ति प्रतिवद्धताहरू इमान्दारीताका साथ पूरा गर्ने बाचा गर्न आफु दुबईलगायतका ४० देशको भ्रमणमा पुगी डेलिगेट्स र एनआरएनए अभियन्तालाई आफ्नो बाचाहरू प्रस्तुत गरेको शर्माले बताए । 

कार्यक्रममा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्‌का उपाध्यक्ष पदका उम्मेदवारहरू धर्मराज अधिकारी, रोबिन प्रसाद शेरचन, हालका मध्यपूर्व संयोजक एवं आइसीसी सचिव पदका उम्मेदवार मनोज कुमार श्रेष्ठ (गोर्खाली), कोषाध्यक्ष पदका उम्मेदवार ठाकुर प्रसाद ढुंगाना, मध्यपूर्व उपसंयोजक राजु केसी, आइसीसी सदस्य पुष्कर सापकोटा, आइसीसी सदस्य मणीप्रसाद भुर्तेल, एनआरएनए यूएईका अध्यक्ष विकास शाही, जनप्रगतिशिल मञ्च युएईका अध्यक्ष बाबुराम विश्वकर्मा, प्रवासी नेपाली मञ्च युएईका महासचिव बाबुराम सापकोटा, नेपाली विजनेश काउन्सिल कोषाध्यक्ष एकेन्द्रबहादुर थापालगायत बैचारिक संघ संस्थाका प्रतिनिधिहरूले सम्बोधन गर्दै अध्यक्षका प्रत्याशी शर्मा र सम्पूर्ण उम्मेदवारहरूलाई विजयीको शुभकामना दिएका थिए  । 

गत हप्ता बुधबार आफ्नो कर्मभूमि कतारको दोहामा अध्यक्षको उम्मेदवारी दिएपछि शर्मा साउदी अरब हुँदै बहराइन पुगेर युरोप भ्रमणमा निस्केका थिए । युरोपको करिब एक साता लामो भ्रमण सकेर शर्मा शनिवार बिहान दुबई आइपुगेका हुन् ।

अध्यक्षको उम्मेदवारीमा आफ्नो समर्थन जुटाउन तथा विश्वका गैरआवासीय नेपाली अभियन्तासँग छलफल र सुझावको लागि शर्माले ४० वटा देशको भ्रमण गरेका छन् । असोजको ३० देखि कात्तिक २ सम्म एनआरएनएको विश्व सम्मेलन काठमाडौँमा हुँदै छ । काठमाडौँमा आउनु अगाडि शर्माले आफ्नो कर्मभूमि मध्यपूर्वका अभियन्तासँग छलफल गर्नेछन् ।

दुबईमा शर्मालाई गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पुष्कर सापकोटा युएईका अध्यक्ष विकास शाही, निवर्तमान अध्यक्ष तथा आइसीसी कोषाध्यक्षका प्रत्याशी ठाकुर ढुंगाना लगायतका अभियन्ताहरूले भव्य स्वागत गरेका थिए । शर्माले पछिल्लो ३ महिनामा ४० देशमा पुगेर आफ्नो पक्षमा समर्थन बटुलिसकेको जनाएका छन् ।

एनआरएनएको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका शर्मा विश्वभरका नेपालीहरूले आफ्नो पक्षमा देखाएको साथ र समर्थनले उत्साहित भएर चुनावी मैदानमा उत्रिएका छन् । आफ्नो उम्मेदवारी, एजेण्डा र प्रतिवद्धता बोकेर तीन महिनादेखि समर्थन जुटाउन विश्व भ्रमणमा निस्किएका शर्मा सबैको सकारात्मक प्रतिक्रिया बोकेर फर्किएका दावी गरेका छन् । अध्यक्षमा उम्मेदवारी दिएका अन्य प्रतिष्पर्धीभन्दा धेरै मेहनेत गरेका शर्मा मध्य पुर्वको अधिकांश समर्थन साथमा लिएर अन्य देशमा पुगेका हुन् ।

शर्माले अध्यक्ष पद मात्रै प्राप्त गर्ने आफ्नो अभिलाषा नभई योजनाबद्ध रूपमा कार्य गर्ने लक्ष्य सहित आफू संघको नेतृत्व गर्ने अभियानमा लागेको बताएका छन् ।

शर्माले आफू अध्यक्षमा निर्वाचित भएपछि २४ वटा बुँदामा मात्रै नभएर त्यसमा आधारित रहेर धेरै काम गर्ने योजना बनाएका छन् । “गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा बोकी शर्मा यतिखेर समर्थन जुटाउन चुनावी अभियानमा छन् । विश्व भ्रमणका बेला शर्माले गैरआवासीय नेपालीहरूका समस्यालाई नजिकबाट बुझेको बताएको छन् ।

८६ देशमा फैलिसकेको गैरआवासीय नेपाली संघको महाधिवेशनमा ५८ देशका प्रतिनिधिले सहभागिता जनाउन पाउने भएका छन् ।

मध्यपुर्व, मलेसिया, कोरिया र श्रमिक मैत्री मुलुकको एक मात्र साझा अध्यक्षका उम्मेदवार रहेका शर्मालाई अधिकांश क्षेत्रका प्रतिनिधिहरूले साथ दिने र सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरूले ३० लाख श्रमिक रहेको मध्यपुर्व र मलेसियाले एनआरएनए स्थापना भएको २० वर्षमा पनि नेतृत्व नपाउनु दुखद भएको जनाउँदै यसपटक शर्मालाई नेतृत्व दिन एनआरएनए डेलिगेटस र अभियन्तालाई आग्रह गरेका छन् ।

शर्मा गैरआवासीय नेपाली अभियानमा सन २००५ देखि सक्रिय छन् । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सल्लाहकारदेखि आइसीसी सदस्य, मध्यपूर्व संयोजक र आइसीसी सचिव भएर काम गरेका छन । हाल उनी संघको आइसीसी उपाध्यक्ष हुन् ।

नेपालको बाग्लुङ जिल्लामा मध्यम परिवारमा जन्मिएका शर्मा २० वर्षअघि सन २००३ मा कतार पुगेका थिए । हाल उनी कतार तथा नेपालमा एक सफल नेपाली व्यवसायी र समाजसेवीका रुपमा चिनिन्छन् ।

२० वर्षमा पुगेको गैरआवासीय नेपाली संघले मानवीय कार्यलाई निरन्तरता दिँदै आर्थिक मुद्दामा यो अभियानलाई केन्द्रित गराउनुपर्ने योजना शर्माको छ । यसका लागि शर्माले रेमिट्यान्सको रकम देशको विकासमा लगाउन प्राधिकरणको योजना अगाडि सारेका छन् । जसलाई विश्वभरमा रहेका गैरआवासीय नेपालीको साथ र सहयोग मिलेको छ ।

‘विश्वमा जुनसुकै कुनामा पुगेपनि नेपालीहरूको चाहना र इच्छा एउटै छ’ शर्माले भने, “नेपाललाई छिट्टै सम्वृद्ध र विकसित बनाएर फर्कने, यही उद्देश्यको लागि अब हामीहरूले काम गर्नु पर्नेछ ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा देश छोड्नेहरूको दृष्य हेर्दा देश नै खाली होला भन्ने चिन्ता बोकेको जनाउँदै शर्माले भने, “यो अवस्था आउन नदिन अब एनआरएनएको नेतृत्वले विशेष कार्य योजना ल्याउनु पर्दछ । म त्यही अभियानमा होमिएको छु ।”

स्थलगत भ्रमणमा पुग्दा त्यहाँका समस्या र समाधानका विषयमा धेरै जानकार भएको शर्माको भनाई छ । श्रमिकका मुद्धा मात्र होइन, नागरिकताका विषय, युवापुस्ता तथा खेलाडीका मुद्धा, महिला तथा लगानीका विषय अनि संस्थाको समग्रका विकासका लागि मार्गचित्र बनेको शर्माको भनाई छ ।

युरोपमा अहिले सिजनल कामदारको अभाव रहेकोले युरोपमा नेपाली कामदार पठाउन सकिने विषय पनि युरोप भ्रमणका क्रममा उठेको छ । युरोपका देशहरूसँग श्रम सम्झौता गर्न नेपाल सरकारलाई आग्रह गर्नुपर्ने विषय पनि उठेको छ ।

विश्वयुद्धको बेला मलेसिया, थाइल्याण्ड, म्यानमारमा पुगेर र उतै बसेका नेपालीहरूलाई पनि गैरआवासीय अभियानमा जोड्नुपर्ने आवाज उठेको छ । त्यस्तै जापान, कोरिया, युरोप, अष्ट्रेलिया र क्यानडामा नेपाली विद्यार्थीहरूको समयस्यालाई सम्बोधन गर्न एनआरएनएले भूमिका खेल्नुपर्ने एनआरएनहरूले माग गरेका छन् ।


Author

थप समाचार
x