प्रवास

जापानी सम्राट नारुहितोले ६३ औँ जन्मदिन मनाउँदै, राष्ट्रिय उत्सवका रूपमा बिदा दिइने

संगीता कुँवर |
फागुन ११, २०७९ बिहीबार ८:३७ बजे

जापान- जापानी सम्राट नारुहितोले आज आफ्नो ६३ औँ जन्मदिन मनाउँदै छन् । जन्मदिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सम्राट नारुहितोले कोभिडका कारण तीन वर्षदेखि ग्रामीण क्षेत्रको भ्रमण गर्न नसकिएको र अब पुनः भ्रमण सुरु गर्ने बताउँदै भने, ‘म मान्छेहरूसँग प्रत्यक्ष भेट्न र कुरा गर्न मनपर्छ । कोभिड कम भएपछि ग्रामीण भेगका मान्छेसँग फेरि भेट्ने कुराले धेरै खुसी बनाएको छ ।'

अमेरिकाले शासन गरेपछि ओकिनावा जापानमा फिर्ता भएको ५० वर्ष पुगेको छ । सोही अवसरमा ओकिनावा प्रान्तको भ्रमणको बारेमा बोल्दै सम्राटले 'मैले ओकिनावाको युद्धका शोकसन्तप्त परिवारहरूको कुरा नजिकबाट सुनेको छु । प्रत्येकको कठिनाइ र दुःखको बारेमा सोचेको छु । समग्रमा त्यो घटनाले शान्तिको महत्त्वको स्मरण पनि गरायो ।'


सम्राट दम्पत्ति आउँदो जुनमा आफ्नो विवाहको ३० औँ वार्षिकोत्सव मनाउने तयारीमा छन् । हारुहितो जापानका १२६ औँ सम्राट हुन् । उनी २०१९ मे १ देखि जापानको सम्राटका रूपमा आफ्नो कार्यभार ग्रहण गरेका हुन् । नारुहितो नयाँ सम्राट बनेपछि 'रेइवा' नामको 'नयाँ युग' आरम्भ भएको थियो । जापानमा सम्राटको जन्मदिनलाई राष्ट्रिय उत्सवका रूपमा बिदा दिइने चलन छ ।


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x