सप्ताहन्त

प्रेमोत्सव

बालिका थपलिया | माघ २९, २०७८

प्यारो मनमीत !
कविहरूलाई अनि मुटुलाई प्रेमसँग तुलना गरेँ । यसलाई प्रेमको निवासस्थान पनि भनेँ । जब कुनै कविका यी हरफ पढ्छु, अनायसै धड्कनको गति बढ्छ । त्यहाँ तिमी ढुकढुक बजिरहेको महसुस हुन्छ । हो रहेछ मृदुभाषी ! मुटु र प्रेमको सम्बन्ध अन्योन्याश्रित नै हुँदो रहेछ । यो नाजुक र संवेदनशील हुन्छ । एक नजरले नै यसलाई दुखाउन र खुसी पार्न सक्छ । यो स्वतन्त्र दिललाई तिमीले कुन बेला आफ्नो कब्जामा लियौ । मैले ठ्याक्कै थाहा पाउन सकिनँ । मलाई खबर नगरी सुटुक्क सरुवा गराएछौ ।

म पनि के कम पालाको पैंचो तिरिहालेँ । प्रेमको बदला प्रेम ! प्रेमको भागफल प्रेम ! प्रेमको गुणन प्रेम ! तिमीले कुनै पसलको खातामा बाँकी लगेको दस्तखत नगरी मेरो मुटुको खुद्रा माल लग्यौ । एक क्षणमा लाग्छ, मेरो मुटु तिम्रो छातीमा र तिम्रो मुटु मेरो छातीमा टाँसिएका छन् । त्यही तिम्रो मुटु मभित्र चकचक गरिरहेको छ । धकधक गरिरहेको छ । मिठो घाइते बनाउन बलकबलक गरिरहेको छ ।  कति चलाख मुटुहरू ! हामीलाई जानकारी नै नदिई सुटुक्क सल्लाह गरेर एक-अर्कासँग साटिएछन् । अनि प्रेमको भाषा बोल्ने सल्लाहकार भएछन् । हे भगवान्, कति लीलामय यो प्रेम ? अनि प्रेम बोक्ने मैत्रीपूर्ण फुर्लुङ मुटु ।

मेरो हरपलको इलम ! धेरै समयअघिको क्युपिड र साइकीको कथा अहिलेको सन्दर्भमा पनि जीवन्त रूपमा लागू भइरहेझैं लाग्छ । क्युपिडको धनुषवाणको प्रसङ्ग जुनसुकै समयको लागि सान्दर्भिक छ । उनीहरूको कथा सम्झिन मन लाग्यो ।

क्युपिड प्रेमका देवता थिए । भेनसका छोरा । भेनस सुन्दरताकी देवी थिइन् । आफ्नी सुन्दर आमासँग धनुषकाँण र धनुष बोकेको अवस्थामा पखेटायुक्त भेषमा हामी क्युपिडको चित्र देख्‍न सक्छौं । उनी चित्रमा हरदम मुटुमा वाण हान्‍न तयार भएजस्ता देखिन्छन् ।

क्युपिड र साइकीको प्रेमकथा निक्कै मार्मिक छ । एक जना राजाका तीन छोरी थिए । दुइटी ठिकठिकै सुन्दर थिए । कान्छी छोरी साइकीचाहिँ निक्कै राम्री थिइन् । उनी देवीझैं प्रदीप्त, पुतलीझैं चञ्चल, भरखर फक्रिएको गुलाफको कोपिलाझैं ताजा देखिन्थिन् । उनको सुन्दरता देखेर भेनसको मनमा ईष्र्या जाग्यो । किनकि उनलाई संसारमा आफूभन्दा सुन्दर कुनै युवती छ जस्तो लाग्दैनथ्यो । भेनसले क्युपिडलाई साइकीको नजिक गएर उनको मुटुमा वाण हानेर कुनै राक्षससँग प्रेममा पार्नको निम्ति अह्राइन् ।

सुनौला प्वाँखजडित क्युपिड आमाको आदेश पाउनासाथ साइकीको निम्ति प्रस्थान गरे । जब उनी र साइकीको साक्षात्कार भयो तब भेनसको इच्छाविपरीत क्युपिड नै साइकीको प्रेममा परे । उनले साइकीको मुटुमा वाण हान्‍न खोज्दा खुट्टामा पर्‍यो । अनि मायाको आविष्कार भयो । उनले साइकीलाई आफ्नो बनाउने प्रयास गरे । तर त्यतिबेला बिहे गर्न  डराए । किनकि भेनस साइकीको विरुद्धमा थिइन् र क्युपिड भगवान् थिए । साइकी मरणशील थिइन् । 

त्यही समयमा राजाले आफ्नी सुन्दर छोरीको विवाह भएको देख्‍ने चाहना राखेका थिए । तर उनको राक्षससँग विवाह हुने भविष्यवाणी गरिएको थियो । उनलाई पहाडको टाकुरामा आफ्नो भाग्य पर्खिनको लागि अनकन्टार ठाउँमा छोडिएको थियो । 

साइकी निराश भएर त्यहाँ बसेको बेला पश्चिमी हावा जेफिरसले उनलाई आनन्दित बन्‍ने वातावरणको सिर्जना गरिदिए । क्युपिडले त्यो रूप धारण गरेका थिए । उनी रातिराति पनि निष्फिक्री घुम्न थालिन् । क्युपिड अदृश्य रूपमा साइकीको निगरानी गरिरहेका थिए । उनीहरू रातमा जहिल्यै भेटघाट गर्न थाले । क्युपिडले साइकीसँग दुइटा सर्त राखेका थिए । पहिलो उनीहरूको प्रेमको बारेमा परिवारका सदस्यलाई नसुनाउने । दोस्रो उज्यालोमा क्युपिडको अनुहार नहेर्ने । 

उनी दिउँसो बगैंचामा डुल्थिन् । सुन्दर फूलले आफूलाई सजाउँथिन् । पुतलीसँग नाच्थिन् । उनी फूलैफूलको स्वर्गमा पन्छीझैं उडिरहेकी थिइन् । त्यही बेला उनका दुई दिदी आइपुगे । आफूले पहाडको वेदीबाट छुटकारा पाएको र रातमा प्रेमी भेट्न आउनेबारे उनीहरूलाई खुसी हुँदै सुनाइन् । आफ्नी बहिनीको सुन्दरताको डाहा गर्ने दिदीहरूलाई साइकीको त्यो कुराले धेरै सतायो । उनीहरूले सोचे त्यो राति आउने उनको भाग्यमा लेखिएझैं कुनै राक्षस थियो । उनीहरूले साइकीको मनमा शङ्का पैदा गरिदिए ।

साइकीले त्यो रात आफ्नो प्रेमीलाई नजिकबाट बुझ्ने निधो गरिन् । उनको खुसीको आकाशमा पहिलोपटक बादल देखापर्‍यो । जब क्युपिड निदाए, तब साइकी गुलाफको ओछ्यानबाट उठिन् । बत्ती बालिन् र आफनो प्रियतमतर्फ झुकिन् । डरले थरथर काम्दै क्युपिडको नजिक पुगिन् । तब उनको सुन्दरताले मोहित भइन् ।

आश्चर्य र सन्त्रासले उनलाई छोप्यो । उत्तेजनामा बत्तीको तातो तेलको थोपा क्युपिडका दुई आँखामा पर्‍यो । उनी आत्तिँदै ब्युँझिए । उनी दृष्टिविहीन भए रसाइकीसँग रिसाएर अलप पनि भए । किनकि उनले वाचा तोडेकी थिइन् । साइकी आफनो प्रियलाई अविश्वास गरेकोमा पछुताइन् । अनि चारैतिर खोज्न थालिन् । नदीमा, मन्दिरमा, जङ्गलमा जताततै डुलिन् ।

अन्तिममा उनी भेनसको मन्दिरमा पुगिन् । जो उनको सुन्दरताकी प्रतिद्वन्द्वी थिइन् । प्रेमीको खोजमा भौंतारिएकी साइकीले कठिन परीक्षाको सामना गर्नुपर्‍यो । भेनसले ती प्रेमपारखीलाई नोकरको व्यवहार गरिन् र अप्ठेरा काममा लगाइन् । साइकी क्युपिड पाउनका लागि जे पनि गर्न तयार थिइन् । क्युपिडले आफ्नी प्रेमिकालाई माफ गरिसकेका थिए । त्यसैले गोप्य रूपमा उनको हरेक कार्यमा सहयोग गरे ।

प्रेमीको वियोगमा तड्पिएकी साइकीको अन्तिम काम रानी प्रोजरपिनाले प्रयोग गर्ने सजावटको सामग्री भेनसका लागि ल्याउनु थियो । जहाँ पुग्न एकदम कठिन थियो । ती सामग्री प्रयोग गरेर भेनस आफ्नो सुन्दरतालाई अझ बढाउन चाहन्थिन् । उनी त्यो बाकस बोकेर आउँदा नराम्ररी लडिन् तर क्युपिडले बचाए ।

साइकीको प्रेमप्रतिको समर्पणले भेनसको ईष्र्यालु आत्मालाई पगाल्यो । जुपिटरको आदेशमा मरणशील साइकीलाई अमरणशील बनाइयो । अनि उनको क्युपिडसँग बिहे भयो । सबै भगवान् उनीहरूको बिहेमा सहभागी भए । साइकीका दिदीहरू रिसले जलेका थिए । उनीहरूले अन्तत भीरबाट हाम फाले ।

घृणा र ईष्र्याभन्दा प्रेम नै माथि छ भन्‍ने यो कथाको सार हो । दुःख र सङ्घर्षले असली सुख निम्त्याउँदो रहेछ । पुतलीको पखेटा ओढेकी उनी र सुनौलो पखेटा ओढेका क्युपिड हरेक प्रेमजोडीका लागि सम्माननीय छन् ।
तातो तेलको थोपा पोखिएर क्युपिडका दुवै आँखाले दृष्टि गुमाएको कारण प्रेमलाई दृष्टिविहीन छ भनिन्छ । तर यसले टाढा-टाढासम्म देख्‍न सक्छ । आँखाले देख्‍न र भोग्न नसकेको कूरालाई प्रेमले देख्छ अनि भोग्छ । 

मेरो मुटु तिम्रो छातीमा र तिम्रो मुटु मेरो छातीमा टाँसिएका छन् । त्यही तिम्रो मुटु मभित्र चकचक गरिरहेको छ । धकधक गरिरहेको छ ।

ए मेरो उद्गम ! प्रेमले जात, धर्म, उमेर सम्पत्ति, नियम आदि हेर्दैन भन्‍ने आदर्शको पङ्क्ति त सर्वविदितै छ । त्यसैले हाम्रो प्रेम जीवनमा पनि यी कुरा गौण रहे । किनकि चोखो प्रेम कुनै इलाकाको चौघेराभित्र थुनिएर पूर्ण बन्‍न सक्दैन । प्रेमको मुहान नसुक्नेगरी उत्पन्‍न हुन्छ । प्रेमको दृष्टिकोणले कुरूपलाई पनि सुन्दर बनाउँछ । जब हामी प्रेममा हुन्छौं तब दुर्गुणलाई पनि सद्गुणमा परिवर्तन गर्न सक्छौं । यो पन्छीझैं स्वतन्त्र छ । यसको परिकल्पनाले आकाशभन्दा पनि माथि धरतीभन्दा मुनि छ्यापछयाप्ती छापा मार्न सक्छ । भरोसा नै प्रेमको प्रमाण हो । प्रेम थाङ्ग्रा हो । यसले कल्पनाशीलतालाई विस्फारित हुन सहयोग गर्छ । 

मेरो घामछायाँ ! मेरो सुख-दुःखको अभिव्यक्ति ! तिमी मेरो खुसी र गुनासो दुवै पोख्‍ने माध्यम हौ । तिमीले यो कस्तो मोहनी लगायौ ? कति मिठो, कति श्रद्धेय, कति स्वप्निल, कति निकट, मेरो मनले चाहेको मोहनी, व्यग्रताका साथ प्रतीक्षारत मोहनी, हामी दुईलाई एक बनाउने मोहनी, मलाई मायाको किनारैकिनारमा स्मृतिका पत्रहरू छर्दै तिमीसामु आइपुग्न अनि तिम्रै वरिपरि बसेर ग्रन्थ लेख्‍न मन लाग्छ । जहाँ हाम्रो सत्य कथाको महिमा वर्णन गरिएको हुन्छ । हाम्रो सहलेखन हुनेछ त्यो । लय र भाका हाली हाली पढनेछन् प्रेमवादी पाठकहरूले । अनि यसको महत्वलाई अझ बढी बुझ्नेछन् ।

प्रिय मधुशाला ! मदिराभन्दा पनि कडा हुँदो रहेछ मायाको मात । मदिरा त पिउन छोडेपछि मात उत्रँदो रहेछ तर प्रेमले एकपटक मातेपछि बारम्बार बल्झिँदो रहेछ । म खप्न नसक्ने भइसकेँ यो प्रेमको झझल्को र यादको अनवरत आरोह-अवरोह । तिमीलाई सम्झिनुको धमाधम र दौडधुप । तिमीप्रतिको भव्य लगाव मेरो हृदयभित्र यस्तरी जमेको छ कि तिमी घाम बनेर आउनेछौ अनि म हिउँ भएर पग्लिँदैपग्लिँदै तिमीलाई आत्मसमर्पण गर्नेछु ।

अनि तिमी तल्लीन भएर पोखिन लागेको मेरो अनियन्त्रित आवेगलार्ई सम्हाल्नेछौ । प्रेमको लेपन गरेर हामी आआफ्ना मुहारमा दीपको प्रचारप्रसार गर्नेछौं । म तिम्रो आगमनको व्यग्र प्रतीक्षामा छु । तिम्रो दर्शन गर्न लालायित छु । अनि हामी जमिनको चर खनेर आकाशलाई छानो लाएर वायुमण्डलको घर बनाउनेछौं र सँगसँगै समय व्यतीत गर्नेछौं । 

मेरो आधारशीला ! वसन्त, वर्षा, शरद, हेमन्त, शिशिर, गृष्म ऋतुहरू तिम्रो स्मृति लिएर आउँछन् । हिउँदको जाडो, वर्षायामको वर्षा र गर्मी, शरदयामको जुनेली ऋतु । यी सबैमा तिम्रो अमूर्त गरिमाको प्रतिमा चलमलाइरहेको हुन्छ । मेरो पञ्चामृत ! तिमी मेरो नजिक हुँदा पनि स्वच्छ टाढा हुँदा पनि उस्तै गौरव गर्न लायक छौ । सुदामाको जति मोह थियो कनिकाप्रति त्यति नै अर्थ राख्छ तिम्रो प्रेमले मप्रति ।  

मेरो दीपमाला जसरी फूल फुलिसकेपछि भुइँभरि छरिन्छ । वरिपरि रङ्गीचङ्गी बनाउँछ । बिउ पोखिन्छ । नयाँ बेर्ना टुसाउँछन् र क्रमशः क्रमशः बिरुवा र बोट बन्छन् । यो प्रकृतिको देन नै हो । मेरो परिप्रेक्ष्यमा पनि प्रेमले भुल्नै नसक्ने रमित देखाएको छ । तिमीलाई केवल तिमीलाई रङ्गाएको छ । मलाई पनि फूल बनेर तिम्रो शालीनता झन्झन् सजाउन मन लाग्छ ।

यस्तै सुगन्धित परिकल्पनामा हराइरहन्छु म तिमी आउने आशामा । छिरलिएका कुसुमपत्रले अतलसम्म चुम्छन् । म दुखाइले आक्रान्त हुन्छु । सोचाइको संसार फराकिलो बन्छ । मैले फूलमा तिमीलाई देखेकी छु र यसप्रति मेरो विशेष दिलचस्पी छ । यो परिवेशको अपरिमित रीतिथितिले मेरो मनमा नामेट परिस्थिति रचिदिएको छ । सायद फूल र प्रेम एक-अर्काका परिपूरक हुन् ।  

मेरो देवदूत ! मेरो परिचायक ! मेरो प्रेमको भण्डार ! मेरो सपनाको साकार रूप ! तिमीलाई कुनै पनि सम्बोधन उचित छैन किनकि तिमी समुच्चताको प्रतिविम्ब हौ । मेरो उपासना, तपस्या, अर्चना, उपहार, आशीर्वाद, शुभकामना तिमी मेरो सम्पूर्ण पहिचान हौ । तिमीभित्र प्रेमको इन्टरनेट जडान गर्न खोज्दै छु । म भित्रसम्म जोडिने तार टाँग है ।

मेरो लक्ष्य ! उमेरपिच्छे प्रेमको अर्थ फरक भए पनि प्रेमको भावना कहिल्यै मर्दैन । यो जुनसुकै अवस्थामा पनि जीवित रहिरहेको हुन्छ । जति बाँड्यो त्यति बढ्ने प्रेमको मोल अनमोल छ । यसलाई धन सम्पत्तिले किन्‍न सकिँदैन । चोखो मन नै प्रेमको अनुकूल स्थल रहेछ । मेरो जीवनमा तिमीले प्रवेश गरेपछि म प्रेमको बारेमा धेरै नै अनुभवी भइसकेँ । प्रेमकै ज्ञाता र व्याख्याता भइसकेँ ।

मेरो गङ्गाजल ! म तिम्रै सम्मोहनयुक्त दबदबाले झिलमिलाउँछु, तिलमिलाउँछु, पिलपिलाउँछु, खिलखिलाउँछु । तिम्रै भरोसामा टिलपिलाउँछु । प्रेम जहिल्यै पनि उत्सवमय हुन्छ । प्रेमीहरूले प्रेम गर्न हरेक दिन स्वर्णिम अवसर बन्छ । प्रेम पाएको जिन्दगी सङ्गीतमय हुन्छ । प्रेमको चमकले नै जिन्दगी चम्काइदिन्छ । विपना, सपना र कल्पनाभरि बहुरङ्गी चाहनाको बर्सात गरिदिन्छ । प्रेमको निम्ति बलि चढेका भ्यालेन्टाइनको नाममा मनाइने प्रेम दिवसले युगल जोडीलाई अझ नजिक पुर्‍याउने काम गर्छ । प्रेमको महत्व बुझ्नेलाई यो दिन विशेष हर्षको दिन बन्छ । सकेसम्म यसलाई उत्कृष्ट र सम्झनायोग्य तरिकाले मनाउने प्रयास गर्छन् । हामीले पनि मनाएका थियौँ है ।

ए भद्र व्यक्तित्व ! दृष्टिविहीन भएर पनि प्रेमले धेरै परसम्म देख्‍न सक्दो रहेछ । संसारमा आँखा नभई पनि देख्‍न सक्ने चिजको रूपमा प्रेमलाई लिइन्छ । त्यसैले तिम्रा सुन्दर आँखाका नानीमा मैले अविस्मरणीय सपना रोपिदिएकी छु । यो सपनालाई सबैका निद्रालु परेलीमा छरिदेऊ । ए स्वप्नद्रष्टा ! संसारका सबै प्रेमीहरूले प्रेमको अद्भुत सपना देखून् र झलमलाकार अनुरक्तिको महलमा हराऊन् । जसरी म तिमीभित्र र तिमी मभित्र अर्न्तध्यान छौ ।

प्रशान्त किशोरको मेन्टरसीपमा विकासले देखेको बदलिंदो राजनीतिको तस्बिर

पुष्पराज आचार्य | माघ १५, २०७८

काठमाडौँ– निर्वाचनको मैदानमा हरेक राजनीतिक दल तथा तिनका उम्मेद्वारका लागि ‘गर या मर&rsqu...