सप्ताहन्त

कथा : ठेगाना

निरूपा प्रसून | बैशाख १०, २०७९

स्वभावैले छिट्टै विचलित हुने मान्छे हुँ म तर आज कुन तत्वले यस्तरी स्थिर तुल्याएको छ मलाई ? आइपर्ने हरेक परिस्थितिलाई समय स्वयंले नियन्त्रण गर्दो रहेछ । दोधार, खुसी, छटपटी, अन्यौल सबै एकै साथ समाधान भए जस्तो आँधीहुरीपछिको सन्‍नाटा त नभनौँ आँधीहुरीपछिको आकाश उज्यालो भएजस्तो । अन्योलको गुन्जायस रत्तिभर पनि थिएन । म निस्फिक्री हुँइकिरहेको थिएँ समयको वेगसँगै । समय अजिबको कुरा लाग्छ मलाई । सधैं समय अनि उमेर अचम्मको हुने रहेछ । आफँै फेरबदल हुने कुनै क्रिया प्रतिक्रियाको जरुरी नपर्ने ।  

एउटा समय थियो ठूलो आशा बोकेर जीवनको दुई दशक काटिसकेकी थिएँ । खै कस्तो प्राप्तिको खोजीमा थिएँ म ? यसरी त कहिले पार पाउने हो कहिले प्रश्न गरिदिन्थँे आफैसँग । निरन्तर लागि परेँ कसो चिताएको नपुग्ला ? अझ ताजुब त के भने मध्यरातमा पनि आफ्नो मोबाइलको घण्टीको पर्खाइमा हुन्थेँ म । तर कसको त्यो आफैँलाई थाहा हुन्थेन । मेरा आफन्त ईष्टमित्र कोही कसैको होइन । अनायास मलाई डायल गर्न मन लाग्थ्यो उसको मोबाइल नम्बर उसैको घरमा मध्यरातमा उठेर दौडेर पुगूँझैँ लाग्थ्यो । तर कहाँ ? मलाई उसको घरको ठेगानासम्म थाहा छैन ।

हो म उसलाई चिन्दिनँ । उसको नाम पनि थाहा छैन मलाई । मैले आजसम्म सोधेकी पनि छैन नि ! सधैँ मेरो सपनामा आउँछ र मलाई टाढाटाढा क्षितिजमा हात समातेर लग्छ । यति निमग्न हुन्छु कि ब्युझँदासम्म पनि उसैको बाहुपासमा समाहित भैरहेकी छु कि झँै लाग्छ र त म हलचल नगरी उही स्थानमा स्थिर भैराख्छु । फेरि तत्काल ऊ आउनेछ र मलाई लग्नेछ । सुनसान त्यो ठाउँ संवादहीनता पनि कति मनपर्दो ! यो शृंखलाको अन्त्य कहिले पनि नभइदियोस् जस्तो । एकोहोरो हेराइमा म कति धेरै कुराको प्राप्ति भेट्छु ।

‘म यी तिम्रा कोमल हातहरू कहिले पनि छाड्ने छैन ।’ यो कुरा उसले मलाई भनेको थियो कि मैले उसलाई ? भुसुक्कै बिर्सिएँ मैले । खुल्दुलीमा एकैछिन बेचैन भए पनि हठात् मेरो मनमा यस्तो खयाल आँउछ , ‘जस्ले भने पनि आखिर एउटाले त भनेकै हो नि । किन लालमोहर लगाउनुपर्यो यसैले भनेको हो भनेर ?’ बेलाबेला ‘प्रेमको प्रमाण देखाऊ त ?’ भनेर जिद्दी गर्ने केटी पनि मै हुँ । पछि आफैँलाई बकवास लाग्छ आफ्नै कुरा पनि मलाई । 
‘प्रेमको दस्तावेज बन्‍न चाहन्छु म ।’

ऊ मुस्कुराउँछ मात्र मेरो कुराले । अचेल उसको मौन भाषा पनि त म बुझ्छु । सुरुवाती दिनमा म उसलाई लाटो हो कि भन्‍ने ठान्थेँ । तर पछि आफैँ बुझेँ ऊ लाटो होइन उसलाई आवाज मन पर्दैन रहेछ त्यसैले उसलाई बोल्न मन पर्दैैन । म बोलेको मन पर्छ उसलाई । मलाई भने ऊ मौन भएको असाध्यै मन पर्छ । उसैको सिको गरुँ भन्छु एक निभेष नबोली बस्न सक्तिनँ रहेछु म । 

पटरपटर कति बोल्नुपर्छ मलाई ? चित्त बुझेको कुरामा पनि बोल्छु, चित्त नबुझेको कुरामा पनि बोल्छु । खुसी हुँदा पनि आवाज निकाल्नुपर्छ मलाई, पीडामा पनि रोइदिन्छु । भनिहालेँ म ऊ जस्तै मौन बस्छु भनेर कोसिस गर्दा पनि सक्तिनँ । मौन बस्न सक्नु जो कोहीको वशको कुरा होइन रहेछ । एकदमै कठिन कुरा । प्रत्येक दिन अथवा रातको एउटा समयमा ऊ आउँछ र मेरो हात समाएर लैजान्छ मलाई कतै सुन्दर लोकमा । म डोहोरिन्छु उसको पछिपछि ।
हरपल मेरो समय उसको खोजीमा निस्कन्छन् । जुनको शीतल जत्तिकै शीतल उसको प्रिय छायाँमा मनमोहनीझैँ लठिठ्एकी छु म । जसको मायामा छु उसकै पछि लाग्नु अस्वाभाविक होइन । 

  मैले आफूलाई उसको शयनकक्षमा चुपचाप छाडेर फेरि आफ्नै ठेगानामा फर्किएँ ।

दुनियाँ मलाई अरु मान्छेहरूसँग भेट्न आग्रह गर्थे । म आफ्नो प्रेमीलाई उनीहरू सामु देखाउन पनि असमर्थ थिएँ । यस्तो बेला अतालिन्थेँ म । कोसँगको मायामा छु ? आफूले आफैँलाई बारम्बार प्रश्न गर्थे । उसको घर देखेकी भए पनि जान्थेँ नि ! उसको घर नै पो छैन कि ? भएको भए त मैले भेट्नुपथ्र्यो । मन नमानेर होस् कि मानेर उसको बाटोलाई पछ्याउन थालेँ । पहिले उसलाई नदेख्दा छटपटी हुन्थ्यो अहिले उसको ठेगाना नभेट्दा छटपटी भएको छ । 

कहिलेकाहीँ त अत्तालिन्थेँ ऊ हरायो भने ? के हुन्छ होला मेरो अवस्था ? 
जसलाई भेटे पनि ‘उसलाई भनिदिनु है !’ भनूँझैँ लाग्छ । 
म उसलाई त्यत्तिकै माया गर्छु, जति माया मेरो सासले धानेर राखेको छ । 
प्रेममा कल्पना गर्नु जतिको मज्जा अरु कुरामा हुन्‍न होला ! 

ऊसँग बिताएको समय एक एक गरी पल्टाएर रम्न खोज्छु, कहिले उसैको कल्पनाको वेगले त कहिले अरुले बिथोल्न खोज्थ्यो मलाई । मन न हो कहिले अडिग हुन्थ्यो त कहिले तरल । त्यो पललाई सम्झेर त्यसैमा हराउनु मेरो दिनचर्या बनेको छ । कल्पनामा खुसी हुने मेरो मन यथार्थसँग ठक्कर खाँदा दु:खी हुन्छु कि भन्‍ने डर पनि लाग्थ्यो । कहिलेकाहीँ हो डर लाग्ने त होइन भने ऊसँगको कल्पनामै पनि ममा निर्धक्क र निडर हुन्छु म । मान्छेलाई किन यस्तरी मायाको जरुरी पर्छ होला ?

मलाई अरुलाई भन्दा अलिकति धेरै नै माया मन पर्छ क्यारे ! म अरुभन्दा अलिकति धेरै नै मायामा डुब्दो रहेछु भन्‍ने उदाहरण त म नै थिएँ । उसलाई सम्झेर एक्लै हुनुमा आनन्द आउँछ मलाई । बिहानपख भन्दा साँझपख अलि धेरै । 

मनभित्र भएको मान्छे ! कति मज्जा हो सम्झँदैमा आनन्दको बादलले ढाके जस्तो । खुब मज्जा आइरहने उसको यादमा हराउन । मानौँ, ऊ सुन्दर हरफ हो त्यो उत्कृष्ट पुस्तकको, जुन पुस्तक सिरानीमुनि राखेर सुत्ने गर्छु प्रत्येक रात । मेरो लागि मानौँ ऊ मन्त्र जस्तै अकाट्य र महत्वपूर्ण त्यतिकै सुन्दर पनि । म ऊसँग परिपूरक हुन चाहन्छु जीवन र मृत्यु जस्तै । मान्छे र धर्म जस्तो ? मृत्यु र श्राद्ध जस्तो !  

तर के सम्झनु, खोज्नु या सपनामा देख्नु मात्र प्रेम हो ? के उसलाई प्राप्त गर्नु प्रेम ठहरिने छैन ? के त्याग मात्र प्रेम हो ? के गुमाउनुमा पनि प्रेम छ ? किन निर्माण भए प्रेमका यस्ता उदास परिभाषाहरू ?

अन्तत: एकदिन ऊ भेटियो र सबैभन्दा पहिला सोधेँ, मैले उसको ठेगाना । 
उसले आफ्नो ठेगाना भनिदियो । 
म उसकै घरमा गएर उसको सामु प्रेम प्रस्ताव राख्न चाहन्थेँ । भोलिपल्ट बिहानै म उसले भनेको ठेगानामा गएँ । 
ऊ भेटियो र भन्यो, ‘जाऊँ भित्र’
म भित्र गएँ । उसको कोठामा । अचम्म उसको खाटमा म पहिलेदेखि नै बसिरहेकी रहेछु । उसैलाई पर्खिरहेकी रहेछु । मधुमासका लागि ।
ढोकामा पनि म र कोठामा पनि म । 
ऊ बीचमा उभिएर हाँसिरहेको थियो ।
मैले आफूलाई उसको शयनकक्षमा चुपचाप छाडेर फेरि आफ्नै ठेगानामा फर्किएँ । 
के यस्तो हुन्छ ? हुँदो रहेछ त ।

बिदाइ

विक्रम कुँवर | चैत १९, २०७८

असिम-असिल चाहनाहरू बोकेर  मिलन वर-वर  आउँदो रहेछ  बिछोडको वेदनाहरू बोकेर  ...

तप्प थोपा

विक्रम कुँवर | चैत १२, २०७८

निन्द्राबाट ब्युँझायो  तप्प–तप्प थोपाले  किन ममतामयी बन्यो  जानोस् पानीको थोपाले...

मेरा साथीहरू मैसँग भन्‍थे- भूपीसँग चिनाइदेऊ न, लभ गरौं (भिडियोसहित)

‘नेपाली कवितालाई लोकप्रिय बनाउने कविमध्ये भूपीको नाम एक नम्बरमा आउँछ’ भन्दा अत्युक्ति हुँदै...