हाम्रो कर्मचारीतन्त्रमा क्षमता छ, तर कार्यसम्पादन छैन

डा. हीरामणि घिमिरे | फागुन २६, २०७९

पासपोर्टको लाइनले यसपालि ठूलै महत्व पायो, पाइरहेको छ । राहदानीलगायतका आधारभूत सेवाहरूलाई ‘सुगम, सरल, कम खर्चिलो र झन्झटमुक्त बनाउने’ बुँदा वर्तमान सरकारको पहिलो निर्णय नै बन्यो । अब छिट्टै नै बन्ने (पुनर्गठन हुने) सरकारको प्राथमिकतामा पनि यो विषय पर्ने नै छ । समस्या पुरानै हो । यसले पाएको राजनीतिक ‘प्रोफाइल’ मात्र नयाँ हो । यसैअनुरूप मन्त्रीस्तरीय ‘निर्देशन’हरूको बाढी आइरहेको छ र यो आफैँमा एउटा समस्या बन्ने हो कि भन्ने डर पनि व्यक्त हुन थालेको छ ।

नागरिकले अनुभव गर्ने गरी सेवाको गुणस्तरमा सुधार ल्याउन सरकारले दिएको निर्देशनको प्रतिक्रियाका रूपमा मन्त्रालयहरूले एक एकीकृत कार्ययोजना प्रस्तुत गरेका छन् । सुधारका लक्ष्यमा पुग्न छिटो–छिटो दगुर्नु पर्छ भन्ने मान्यताबाट कार्ययोजना निर्देशित छ । सिर्जनात्मक सोचबाट छोटो बाटो पहिल्याउने कोशिस गर्न मन्त्रालयहरूलाई सायद समयको कमी थियो ।

एउटा उदाहरण हेरौं । राहदानीलगायतका सेवा ‘चुस्तदुरुस्त’ बनाउन दुई सिफ्टमा सेवा दिने प्रस्ताव गरिएको छ । यस्ताखाले असफल प्रयोग पहिले नै भइसकेको हो । काठमाडौँ निवासी  माया मानन्धरले आफ्नो पासपोर्ट २०७१ पुस १ गते बिहान ६ बजे पाएकी हुन् । काठमाडौँकै चैतन्य महर्जनले आफ्नो नागरिकता पनि त्यसै समयमा पाएका हुन् । सरकारले त्यसबखत यस्ता सेवाहरू प्रदान गर्ने कार्यालयहरूलाई दुई सिफ्टमा १२ घण्टा चलाउने निर्णय गरेको थियो । तर यसले निरन्तरता पाउन सकेन । जुन अव्यावहारिक ठहरियो ।

कोभिडकालमा २०७७ असार १ गते यसलाई ब्युँताइयो, बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म नागरिकहरूलाई सेवा दिने गरी । यसले पनि निरन्तरता पाएन । त्यसो भए, फेरि के परिवर्तन भयो र जसले गर्दा हामी फेरि दुई सिफ्टमा जान खोज्दैछौं ? तथ्य र अनुभव नहेरी नयाँ नीति प्रस्ताव गर्नु एक दुःखद कुरा हो ।

एकीकृत कार्ययोजनाको अर्को पाटो अझ अप्ठ्यारो छ । कार्ययोजनाले २१ शीर्षकमा ६०७ वटा कामलाई समेटेको रहेछ ! र, यी कामभित्र नयाँ कानुन तर्जुमा र पुराना कानुनमा संशोधनजस्ता जटिल र लामो समय लाग्ने सवालहरू पनि परेका रहेछन् । यसले ‘नागरिकले अनुभव गर्ने गरी छिटै सेवाको गुणस्तरमा सुधार ल्याउने’ प्रधानमन्त्रीको आग्रहलाई न्याय गर्‍यो त ? 

खाँचो सायद ‘सन्जीवनी बुटी’को थियो । सिङ्गो सुमेरु पर्वत ! कुरा नराम्रो होइन । तर, त्यसभित्र अब फेरि संजीवनी खोज्नुपर्ने (अर्थात्, ‘प्राथमिकीकरण’ गर्नुपर्ने) भयो । यसले थप समय र सीपको माग गर्नेछ । वास्तवमा समस्या कानुनको हुँदै होइन । समस्या मनोवृत्तिको हो । अनि कुरा पासपोर्टको मात्र पनि होइन ।  नागरिकताको प्रमाणपत्र लिन वा राष्ट्रिय परिचयपत्र बनाउन पनि उत्तिकै झन्झट छ । सवारीचालक अनुमति–पत्र पाउन त ‘असम्भव’ नै भइहाल्यो । यो एक अस्वीकार्य परिस्थिति हो । समस्या समाधान गर्न नयाँ ढंगले सोचौं ।

वैकल्पिक संस्थागत प्रबन्धको आवश्यकता
पासपोर्ट सेवाको व्यवस्थापनमा को–को संलग्न हुन सक्तछन् त भनी हेरौं । पासपोर्ट जस्तो महत्वपूर्ण दस्तावेज जारी गर्ने काम सरकारी निकायकै हो । तर यस प्रक्रियाका विभिन्न चरणमा सरकारबाहिरका संस्था वा संयत्रहरूको संलग्नता रहन नसक्ने भन्ने हुँदैन । वास्तवमा बायोमेट्रिक्सको कामबाहेक अरु कुरामा निजीक्षेत्रका निकायहरूले सहजीकरण गर्न सक्तछन् । बायोमेट्रिक्समा पनि समय मिलाउनेदेखि लिएर अन्य आवश्यक काम निजी आर्थिक प्रतिष्ठानहरूले गर्न सक्तछन् । 

यसैले पासपोर्ट लगायतका विभिन्न सेवाहरूको वितरणमा निजी क्षेत्रलाई संलग्न गराइनु पर्छ । यसका लागि सेवा–प्रवाहकै प्रयोजनका लागि सरकारको सीमित वित्तीय सहभागितामा एक निजी कम्पनीको स्थापना गर्न सकिन्छ ।  प्रस्तावित कम्पनीलाई हरेक पालिकामा कम्तिमा एउटा ‘सेवा सहजीकरण केन्द्र’ संचालन गर्न प्रोत्साहित गर्नुपर्छ । यसका लागि केन्द्रले गरेका कारोबारका आधारमा सानो अनुदान उपलब्ध गराउन सकिन्छ । यो एक प्रोत्साहन मात्र हो; केन्द्रले आफ्नो सेवा–शुल्क भने सम्बन्धित पालिकासँग समन्वय गरी आफैँ निर्धारण गर्नेछ । यस व्यवस्थामा सरकारको समेत वित्तीय सहभागिता रहने हुँदा यसको विश्वसनीयता र स्वीकार्यता सुनिश्चित हुनेछ ।

‘सेवा सहजीकरण केन्द्र’ले सेवाग्राहीहरूलाई सम्बन्धित सरकारी निकायहरूसँग जोड्ने काम गर्नेछ । यसले पासपोर्ट वा अन्य यस्तै सेवाका लागि आवश्यक कागजातहरूको परीक्षण गरी तिनलाई ठीक–दुरुस्त राख्न र आवश्यकताअनुसार दरखास्त वा फर्महरू लेख्न÷भर्नमा सहयोग गरी बायोमेट्रिक्सका लागि समयसमेत मिलाइदिनेछ ।

यस अर्थमा यो केन्द्र एक वैधानिक र उत्तरदायी ‘बिचौलिया’ हुनेछ ।  यसलाई हामी ‘मध्यस्थकर्ता’ भनौं । कम्पनीले प्रतिस्पर्धात्मकरूपमा सहजीकरण केन्द्र संचालन गर्न न्यूनतम योग्यता पुगेका स्थानीय इच्छुक उम्मेदवारहरूको छनोट गर्नेछ । यसले आफ्ना सेवाहरूको व्यवस्थापन गर्न डिजिटल प्रविधिको भरपूर उपयोग गर्नेछ । अर्थात्, नेपाल सरकारले अंगालेको ‘डिजिटल नेपाल फ्रेमवर्क’ लाई यसले पूर्वाधारको रूपमा प्रयोग गर्नेछ ।

उक्त फ्रेमवर्कले सरकारी सेवाहरूको संचालनमा निजी क्षेत्रलाई संलग्न गराउने परिकल्पना गरेकै छ । भनिरहनु परोइन, प्रस्तावित सहजीकरणको सेवा सेवाग्राहीहरूका लागि पूर्णतः ऐच्छिक हुनेछ । सेवाप्रदायक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क राख्न उनीहरू सधैँ नै सक्नेछन् । 

सरकारी सेवाहरूको व्यवस्थापनमा विभिन्न उपायद्वारा सेवाग्राहीहरूलाई सहजीकरण गर्ने र उनीहरूका लागि छनोटका अवसरहरूलाई फराकिलो पार्ने अभ्यास अन्य मुलुकहरूमा पनि हुँदै आएको छ ।  कर्मचारीतन्त्र बलियो र प्रभावकारी भएका ठाउँमा स्वयं सरकारी निकायहरू नै ‘मध्यस्थकर्ता’ को भूमिकामा रहने गरेको पनि देखिन्छ ।

उदाहरणका लागि बेलायत र न्युजिल्यान्डका ‘नागरिक परामर्श कार्यालय“ र जर्मनीका ‘नागरिक कार्यालय’ लाई लिन सकिन्छ ।  यी कार्यालय पूर्ण सरकारी हुन् भने भारतका हरेकजसो स्थानीय निकायमा रहेका ‘कमन सर्विस सेन्टर’ भनेर चिनिने  ‘मध्यस्थकर्ता’ हरू सरकारको सहभागितामा निजी कम्पनीले प्रवर्धन गरेका व्यापारिक प्रतिष्ठानहरू हुन् ।

यिनीहरूको खास कार्यक्षेत्रमा पनि केही भिन्नता छ । यो आ–आफ्नो देशको सन्दर्भले निर्धारण गर्ने कुरा हो । यहाँनेर यसको सैद्धान्तिक पाटोलाई पनि जोडिहालौं । शासकीय प्रणालीसम्बन्धी विकसित हुँदै आएको मान्यताले सार्वजनिक सेवाहरूको सह–उत्पादन (को–प्रडक्सन) मा जोड दिन थालेको छ । अर्थात्, सेवाहरूको डिजाइन, व्यवस्थापन र कार्यान्वयनमा नागरिकहरूको अर्थपूर्ण सहभागिता रहन सक्छ र रहनु पनि पर्छ । यसका सामाजिक, आर्थिक, र राजनीतिक कारणहरू छन् । यसबाट हाल सबै सरकारी कार्यालमा रहेका तर प्रयोग नगरिएका ‘नागरिक बडापत्र’ को प्रयोजनलाई पनि मद्दत पुग्नेछ ।

सेवा–प्रवाहको यो प्रस्ताव पनि संरचनात्मक सुधारका अरु विषय जस्तै संघीयताको कार्यान्वयनसँग पनि जोडिएको छ । नेपालमा संघीयताको कार्यान्वयन सुरु भइसकेतापनि प्रशासनको संघीयकरण अझ हुन सकेको छैन । संविधानले तीनै तहका आ–आफ्ना निजामती सेवा हुने भनेर स्पष्ट भनेको छ । तर यससम्बन्धी नियम–कानुनको तर्जुमामा भएको ढिलाइले कर्मचारीतन्त्र र राजनीतिक तहमा यसबारे असन्तुष्टि रहेको बुझ्न गाह्रो छैन । खासमा प्रदेश र स्थानीय सरकारहरूमा आफ्नो नियन्त्रण रहिरहोस् भन्ने चाहना संघीय सरकारमा देखिन्छ । स्वयं कर्मचारीहरू प्रदेश वा स्थानीय सेवामा जान इच्छुक देखिँदैनन् । यस सन्दर्भमा निजी क्षेत्रको संग्लनता झन् बढी आवश्यक भएको छ ।

कर्मचारीतन्त्रको सुदृढीकरण
यदि सेवाहरूको संचालन र वितरण सरकारी संस्थाहरूबाट नै गर्ने हो भने कर्मचारीतन्त्रलाई बलियो र उत्तरदायी बनाइनुपर्छ । नेपालको सार्वजनिक प्रशासनलाई ‘सक्षम कर्मचारीहरू रहेको असक्षम संगठन’ का रूपमा चित्रित गर्न सकिन्छ ।  अन्तर्राष्ट्रियस्तरमा गरिएको एक तुलनात्मक अध्ययनले यसलाई स्पष्ट पार्छ ।

उक्त अध्ययनले कर्मचारीतन्त्रको योग्यता र क्षमतालाई नियुक्तिको निष्पक्षताका आधारमा हेरेको छ । यस अर्थमा अध्ययनले समेटेका १०८ देशमध्ये नेपालको कर्मचारीतन्त्रले ४३ सौं स्थान हासिल गरी आफूभन्दा विकसित भनिएका कैयौं मुलुकहरूलाई पछाडि पारेको छ । तर त्यही अध्ययनको कार्यसम्पादनमा आधारित मूल्याङ्कनमा भने हाम्रो कर्मचारीतन्त्र ९७ औँ स्थानमा झरेको छ । अर्थात्, क्षमता छ, कार्यसम्पादन छैन ।

आफ्नो क्षमतालाई नागरिकहरूको सेवा र विकासमा लगाउनेतर्फ कर्मचारी वर्गमा इच्छाशक्ति र उत्प्रेरणाको अभाव छ । यसलाई एक दुर्भाग्यका रूपमा लिनुपर्ने हुन्छ । यो कुरालाई कर्मचारीतन्त्रमा उत्तरदायित्वबोध नभएको अर्थमा पनि बुझ्न सकिन्छ । वस्तुतः उत्तरदायित्व प्रणालीको असफलता नेपालको कर्मचारीतन्त्रको सबैभन्दा ठूलो समस्या हो ।

यसैले नै होला, हाम्रो कर्मचारीतन्त्रले राजनीतिक नेतृत्वको विश्वास जित्न सकेको छैन । गणतन्त्र पछिका तीन–तीनजना प्रधानमन्त्रीले आफूले कर्मचारीतन्त्रबाट सहयोग पाउन नसकेकाले राम्रो काम हुन नसकेको गुनासो सार्वजनिक रूपमै व्यक्त गरेका छन् । अन्य मुलुकमा यस्तो गुनासो सुनिँदैन, यद्यपि राजनीतिक र प्रशासनिक नेतृत्वका बीच विश्वासको संकट ती मुलुकमा पनि नदेखिने चाहिँ होइन ।
यसैले दोस्रो विकल्पका रूपमा कर्मचारीतन्त्रलाई प्रभावकारी बनाएर सेवा–प्रवाहमा सुधार ल्याउने अवसर पनि सरकारसँग छ । आफ्ना ‘सक्षम’ कर्मचारीहरूको सीप र क्षमतालाई संस्थागत क्षमतामा रूपान्तरण गर्न निजामती सेवाको स्वरूप र ढाँचामा परिवर्तन गर्ने कटिबद्धता सरकारले देखाउन सक्नु पर्छ । 

यसको प्रस्थान–बिन्दु पहिल्याउन यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा विकसित हुँदै आएका परिसूचकहरूको अध्ययन आवश्यक पर्न सक्तछ । उदाहरणका लागि ‘निजामती सेवाको प्रभावकारितासम्बन्धी अन्तर्राष्ट्रिय परिसूचक’ (संक्षिप्त अंग्रेजीमा ‘इन्साइज’ भनिने गरेको) जस्तो कर्मचारीतन्त्रको प्रभावकारिता मापन गर्ने विधिले समेटेका परिसूचकहरूलाई लिन सकिन्छ ।

यसले मुख्यतः तीनवटा विषयमा सुधारका प्रयासलाई केन्द्रित गर्नु पर्नेमा जोड दिन्छ– कर्मचारीतन्त्रको कार्यक्षेत्र, क्षमता, र स्वायत्तता । यी मूल विषयअन्तर्गत अन्य धेरै विषयहरूको अध्ययन गर्नुपर्ने हुन्छ । यी तीनै क्षेत्रमा हामीले केही अनुभव हासिल गरेकै छौँ । सेवामा सुधार ल्याउने आजको प्रयासका सन्दर्भमा यिनमा थप विचार–विमर्श गरौँ ।

पैसा हुनेले मात्र उपचार पाउने, पैसा हुने मात्र डाक्टर बन्ने यही हो समाजवादी राजनीति ?

डा. गोविन्द केसी | फागुन २५, २०७९

नेपालमा जहिले पनि स्वास्थ्यको अवस्था दयनीय छ । सहरका मध्यम वर्ग र निम्न मध्यम वर्गमा समेत गुणस्तरीय स्वास्थ्य ...

प्रधानमन्त्री किन प्रधानमन्त्री हुन सक्दैन ?

आदित्यमान श्रेष्ठ | फागुन २४, २०७९

प्रधानमन्त्री भनेको प्रधानमन्त्री जस्तो काम नगर्ने भयो । प्रधानमन्त्रीले मन्त्रिमण्डलका सदस्यहरू अर्थात मन्त्रीहरू ...

गुनको बदला गणित अनुसन्धानको व्यावहारिक प्रयोगको गोरेटो कोरेर तिर्नेछु

धेरै सम्भावना बोकेका युवा देशमा केही हुन्न भनेर विदेशिँदा मलाई भने देशमा नै केही गर्न मन लागेको थियो...

अबको राष्ट्रपति स्वयं संविधान-कानुनको दायरामा बस्‍ने हुनुपर्छ

सोमबहादुर थापा | फागुन २२, २०७९

राष्ट्रपति पदमा दुई पूर्वसभामुख चुनावी मैदानमा उत्रिएका उत्रिएका छन् । सभामुख भएपछि फेरि सक्रिय राजनीतिम...