चटके राजनीति र पटके बिदाको बिदाइ कहिले ?

हृदयन्द्रजंग शाही | फागुन ४, २०७९

पटकपटक व्यवस्था बद्लिए पनि अवस्था नबदलिँदा जनतामा आक्रोश, असन्तुष्टि र चरम निराशा बढ्दो छ । त्यसमाथि पुराना दल भनौदाहरूको सत्तालुप्तीको चटकले आजित भएर जनताले विकल्प खोजे । विगतमा १ सिटमा थन्किएको राप्रपालाई १४ सिटमा पुर्‍याइदिए । न कुनै इतिहास न कुनै विचारवाद बोकेको रास्वपालाई स्थापना भएको ५ महिनामै २० सिटसहित चौथो दलका रूपमा स्थापित गरिदिए ।

जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत स्वतन्त्रहरूको उदय भयो तर उनैले पुरानालाई उछिन्दै बढ्ता चटक देखाएर नवोदित नेताहरू पनि अवसर नपाएर इमानदार देखिएका रहेछन् भन्ने प्रमाणित गरिदिए ।

रास्वपाका सभापति रवि लामिछानेले स्वार्थको द्वन्द्व हुन्छ भन्ने थाहा पाउँदा पाउँदै पनि गृह मन्त्रालय रोजेर मन्त्री हुनेबित्तिकै आफ्नो कार्यक्षेत्रमै नपर्ने राहदानी विभागमा अनुगमन गरेर स्टन्टबाजी सुरुवात गरे । पछि दोहोरो नागरिकता प्रकरणमा दोषी देखिएका लामिछाने सत्ताको भोकले तड्पाएपछि अर्को दिन नागरिकता लिनेबित्तिकै गैरसांसद हुँदाहुँदै फेरि मन्त्री बनाइदिन हारगुहार गरे । तर, आफ्नो भोग नमेटिने भएपछि सम्भावना बोकेका तोसिमा, शिशिरहरूको पनि भाग खोसिदिए ।

सत्ता राजनीतिको दलदलमा जनताले उनीमाथि गरेको विश्वास र भरोसा, नैतिकता, निष्ठा, सिद्धान्त सबैलाई तिलाञ्जली दिएर सती पठाइदिए ।

यस्तै 'भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो' भन्ने राजेन्द्र लिङ्देन पनि विकासका ठेक्का अलपत्र पार्ने ठेकेदार विक्रम पाण्डेलाई सहरी विकास मन्त्री बनाइदिए । अझ रोचक कुरा त के भने त्यही संविधान र व्यवस्थालाई मानेर एउटै मन्त्रिपरिषद्‌मा बसेर संंघीयता, धर्मनिरपेक्षता मान्दैनौँ भन्दै गर्दा नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा माउसुलीझैँ टाँसिएर अर्को चटक देखाइरहेका छन् ।

नागरिक उन्मुक्ति पार्टीको त झन् नागरिकका मुद्दा मामिला उठाउनुपर्नेमा आफ्ना संरक्षक रेशम चौधरीलाई छुटाउने नै मुख्य एजेण्डा छ । आफू अनुकूल जसले काम गर्दिन्छ त्यतै लस्सिएर सरकार बनाउन र ढाल्नमा व्यस्त छ । झन् अरु स्वतन्त्रको त के कुरा गर्नु । आशा गरिएका नया दलबाटै चटक देखाउनमा पुरानालाई उछिन्ने प्रतिस्पर्धा भइदिँदा आजित भएर जनतामा झन् चरम निराशा चुलिएको छ ।

जनतालाई घन्टौँ लाइनमा जाममा पारेर राष्ट्रपति गणतन्त्रको बडामहारानी भइदिनाले यस संस्थाप्रति नै विश्वास घटेको छ । अझ कांग्रेस, एमाले र माओवादीले त राष्ट्रपति जस्तो सर्वोच्च स्वतन्त्र संस्थामा कसलाई ल्याउँदा आफू अनुकूल चलाउन सकिन्छ भन्दै पटके वार्ताको चटक पटकपटक देखाइसकेका छन् । सत्ता समीकरणको अंकगणित सरकारमा को भित्रिने र को बाहिरिने भन्ने चटक त पुरानै छ । राजनीतिक दलहरू दैनिक सत्ता राजनीतिमा व्यस्त भएपछि जनताले चटक हेर्न सिवाय अरु के नै आश गर्न सक्छन् र ?

अब कुरा गरौँ पटके बिदाको । यति एयरलाइन्सको पोखरा दुर्घटनामा सरकारले अकस्मात् बैठक बसेर हवाइ उड्डयन सम्बन्धी नीति नियम, प्राविधिक त्रुटि, आफ्ना कमीकमजोरी, उद्धार, छानबिन र आगामी रणनीति सम्बन्धी छलफल गर्नु त कहाँ हो कहाँ उल्टो अर्को दिन शोक दिवस भनेर सार्वजनिक बिदा दियो । यस्तै फागुन १ गते जनयुद्ध दिवस भनेर बिदा दियो । जनयुद्धमा मारिएका, बेपत्ता पारिएका, घाइते भएकाको छानबिन गर्नुको साटो यसरी पटके सार्वजनिक बिदा दिँदा उनीहरूलाई दिएको सम्मानले सगरमाथा छुन्छ हो ? नत्र ३/४ दिनदेखि भोको मान्छेलाई ललिपप देखाएर लोभ्याउन खोजे जस्तो एक दिन बिदा दिएर सरकारले जनतालाई किन झुक्याउन खोज्छ ? किनकि अहिले सबैलाई रातारात हिरो बन्नु छ । पब्लिक सेन्टिमेन्ट जित्नु छ । यस्ता नेतृत्वबाट दूरगामी महत्वको रणनीति कसरी आश गर्ने जनताले ? 

जनयुद्ध लडेको मान्छे सरकारमा आयो ‘जनयुद्ध दिवस’ भनेर बिदा दियो । भोलि मधेसका नेता सरकारमा आउलान् ‘मधेस आन्दोलन दिवस’ भनेर निर्णय गर्लान् । नागरिक उन्मुक्ति पार्टी सरकारमा आउला ‘थरुहट आन्दोलन दिवस’ भन्ला । यसरी सार्वजनिक बिदा मोहको कस्तो संस्कृति बसाल्दै छौं हामी ? यसरी देश कसरी बन्छ ? यस्ता पटके बिदाले देशको अर्थतन्त्रमा, जनताको दैनिक जनजीवनमा, सरकारी कार्यालयको सेवा प्रदायकमा कस्तो असर पर्छ सायद सरकार अनभिज्ञ छैन होला । तर,पनि बिदा मोह छुट्टै छ ।

यसरी जनताको आवश्यकता र इच्छाविरुद्ध राजनीतिक दलहरूले पटकपटक चटक देखाइरहँदा प्रेम आचार्य, रामदेव मरिक डोम, लेखुराम खाति जस्ता व्यक्तिहरू दिनानुदिन आत्महत्या गर्न बाध्य भएका छन् । अरु देशमा पिपुल्स ह्रयाप्पिनेस, वेलविइङ्का नीति प्राथमिकतामा पर्दै गर्दा नेपाली जनता नेपाली राजनीतिले डिप्रेसनको सिकार भएका छन् । दैनिक हजारौँ विदेशिन बाध्य भएका छन् । किनकि यो देशको भविष्य सोचेर आफ्नो भविष्य अन्धकारमा पार्न कोही चाहँदैन । र, आशा गर्न लायक पनि कोही छैन ।

सबै नेताले ‘हामारी ख्वाहिसोका मोहल्ला तो बहुत बडा था पर आप तो आप्नी जरुरतोके गल्ली से ही मुड गए’ भन्ने जनतालाई साचो प्रमाणित गरिसके । जो आउँछ आशा देखाउँछ । भरोसा दिलाउँछ । आफ्नो स्वार्थ पूरा गर्छ जनताको कुरा गर्दैन । त्यसैले चटके राजनीतिको बिदाइका लागि यी हातहरू हल्लिन आतुर छन् ।

(नेसनल ल कलेज, तेस्रो सेमेस्टर अध्ययनरत)  

नेपालमा २०८३ सालसम्म आर्थिक मन्दीको ग्रहयोग, नोटबन्दीको निर्णय पनि हुनसक्ने

आकाशमा छरिएर  रहेका ग्रहहरुका परिवर्तनसँगै यसले पार्ने प्रभाव क्रमशः सामाजिक, आर्थिक, राजनैतिक र प...

माफ गर्नुहोला, ‘ह्यारीकी प्यारी’लाई प्यार गर्न सकिएन

युवकलाई गाउँमा स्वास्थ्य चौकी बनाउन पैसा चाहिएको छ । यसका लागि एउटै उपाय छ, पुर्ख्यौली सम्पत्ति धरौटी रा...