सन्दिग्ध शताब्दीः कविताजस्तै निबन्ध !
संदिग्ध शताब्दी पढिसकेपछि म फिसिक्क हाँसेको थिएँ । ८४ पेजमा रहेका १४ निबन्ध पढ्नलाई मैले पुरै २ महिना लगाएछु । कविताजस्तै पढेपछि ठाउँठाउँमा घोत्लनुपर्ने खालका निबन्धहरू थिए नि त ।
निबन्धकार श्रीबाबु कार्कीको पहिलो पहिचान कवि हो । यसका साथै चित्रकारका रुपमा पनि उहाँको परिचय छ । यसै भएर पनि हुन सक्छ निबन्ध पढ्दै गर्दा कविता पढेको जस्तो लाग्छ । सन्दर्भवश धेरै कविहरूका कविता पनि समावेश छन् निबन्धमा । यसले निबन्धमा मिठास थपिदिएको छ । आफ्नै कविता पनि छन् कतैकतै ।
निबन्ध पढ्दै गर्दा एकैछिनमा गाउँतिर पुगिन्छ । एकैछिनमा शहर । विभिन्न चित्रहरू देखा परिरहन्छन् । क्यानभासमा भएका चित्रहरू अवलोकन गरिरहेको जस्तो लाग्छ । झट्ट हेर्दा एकथरी देखिएको चित्र नियाल्दै गर्दा अर्कै भएको जस्तो अनुभूति हुन्छ ।
यो असार महिना । खेतीपातीको मौसम । निबन्धकार असार महिनामा आफ्नो चनौटे खेत सम्झन्छन् । कंकृटको शहरमा दही चिउरा खाँदै गाउँको रोपाइँ सम्झन्छन् । धान रोप्दा गाइने असारे सम्झन्छन् । गुन्गुनाउँछन् । बिर्सनै लागेको बेठी सम्झाउँछन् । त्यसैमा जीवन दर्शन पस्कन्छन् ‘असार किसान र माटोबीच प्रेम मौलाउने महिना। असार धर्तीले हरियो पछ्यौरा पहिरेर समृद्धि मुस्कुराउने याम । असार धरतीले शृङ्गार गर्ने महिना ।’(हृदयमा बयली खेल्दै असार)
आजकालको दैनिकीमा बिस्तारै मानवीयता घट्दै छ कि भन्ने चिन्तासँगै ढुङ्गा पो भएछु अचेल भन्ने निबन्ध तयार भएको छ । यो दौडधुपबाट भागेर चुपचाप चुपचाप ढुंगाजस्तै हुँदा पो राम्रो होला कि भन्ने पनि छ ।
निबन्धमा उनी भन्छन् `जीवन त ढुङ्गाको पो सहि । ढुङ्गाको कुनै सपना हुँदैन । ढुङ्गाको कुनै ईर्ष्या, लोभ र मोह हुँदैन ।´
अनेकन गन्थनहरू गरेपछि उनी मानव जीवनकै महत्व भएको सप्रमाण पेस गर्छन् । यो खालका शैली उनका सबै निबन्धहरूमा पाइन्छ । यसले नै निबन्धहरूलाई खास बनाएको छ।
हामीले दैनिक जीवनमा भोगिरहेका विभिन्न पक्षहरूलाई मसिनोसँग केलाइएको छ निबन्धहरूमा । रिस मानव स्वभाव नै होला । रिस निबन्धमा उनले रिसहरूको वर्गिकरण नै गर्न भ्याएका छन् । हाम्रा चलनचल्तीमा रहेका शब्दहरूलाई टपक्कै टिपेर त्यसमा बान्की भर्न सक्नु उनको खुबी हो ।
नितान्तै व्यक्तिगत कुरालाई पनि उनले निबन्धका विषयवस्तु बनाएका छन् । अस्पतालमा बिरामी कुर्नुपर्दाको क्षणका बारेमा रचित निबन्धसंग्रह यस्तै एउटा उदाहरण हो । प्रस्तुतीकरणका शैलीले नितान्तै व्यक्तिगत विषय पनि सामूहिक विषय बनेको छ । उनको भोगाईसँगै पाठक आफू त्यसैमा डुब्न पुग्दछ ।
कोभिड १९ को सुरूवाती त्रासदी भनिसाध्य थिएन। विश्वकै नयाँ रोग। उत्पत्ति कसरी भयो? निवारण कसरी? सबै अलमलमा थिए। यही बेलामा अस्पताल बस्नुपर्दाको अनुभव उनले नियतिको आकस्मिकतामा उतारेका छन् । निबन्धमा उनी भन्छन् `…यत्ति हो नियतिको बज्र कसले कतिखेर सहनुपर्छ । त्यो क्यालेण्डरमा लेखेजसरी नआउने रहेछ…´
सत्य ढाकछोप गर्नुपर्ने हाम्रो तौरतरिकालाई जीवनको पार्श्वमा मृत्युभय ! निबन्धमा कार्की मृत्युचिन्तन गर्छन् । बाँच्नकै लागि अनेकन तिकडमहरू अपनाईरहेको यो परिवेशमा उनले प्रतिगामी हुन रहर गरेका छन् । जीवनको सत्यलाई स्विकार्दै अघि बढ्नुको विकल्प नरहेको तथ्यमा छलफल चलाएका छन् । चर्चित गीत `मर्ने कसैलाई रहर हुँदैन…´ देखि `आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो…´ भन्ने नेपाली समाजको चर्चित कविता उनले आफ्नो तर्क सावित गर्न प्रयोग गरेका छन् ।
उनका १४ निबन्धमा १४ प्रकारका परिवेश छन् । एउटै पात्रको पनि विभिन्न भोगाई छ । निबन्धकार कहिले किसान हुन्छ । कहिले दार्शनिक हुन्छ । कहिले प्रेमिल जोडी हुन्छ । कहिले रिसाईरहेको मानिस । वास्तवमा भन्ने हो भने जीवन भनेकै विभिन्न अवस्था परिवेशहरूको जोडजाड न हो !
निबन्धकार यात्रा गरिरहन्छन् । कहिले आफ्नो गाउँको चनौटे बेंसी पुर्‍याउछन् । कैले सुनसान बन्न लागेको आफ्नो गाउँको अवस्था वर्णन गर्छन् । लगभग यो पुस्ताले बिर्सनै लागेको पत्रमार्फत साथी बनाईने पत्रमित्रताको समय सम्झाउँछन्। निबन्ध पढ्दै गर्दा लाग्छ। हामीले कस्ता कस्ता समय भोगेर आयौं! साँच्चिकै त्यस्तो थियो र?
अन्तमा, निर्वर्जित मन निबन्धक‌ै एक अंशसहित यो सामाग्रीको टुंग्याउनी `…मानिस भ्रम र भ्रान्तीको चक्रव्युहमा धेरैपटक फस्छ। हाम्रो निधारभित्रको कराइमा सधैं उम्लिरहेको हुन्छ खिचडी । पाकिरहन्छ कैयौं कैयौं विषय । अविरल चलिरहन्छ चेतनाको भट्टी…´