हलिउड/बलिउड

अमेरिकामा नराम्ररी डुब्यो प्रियंका चोपडाको हलिउड फिल्म

इकागज | बैशाख २६, २०८०

मुम्बई - बलिउड छाडेर हलिउड पुगे पनि बलिउड अभिनेत्री प्रियंका चोपडाले लोभ लाग्दो सफलता भने पाउन सकेकी छैनन् । उनले हलिउडमा एकपछि अर्को काम गरिरहेकी छिन्, तर यसरी गरेका सिरिज हुन् वा फिचर फिल्म, तिनले त्यताको मापदण्डअनुसार हिट हुने अवसर भने पाएका छैनन् । 

यही कडीमा उनको पछिल्लो रिलिज ‘लभ अगेन’ पनि परेको छ । अघिल्लो शुक्रबार रिलिज भएको फिल्मले तीन दिनमा २८ करोडको व्यापार गरेको छ । फिल्मको बजेट १ अर्ब हाराहारी रहेको थियो । 

साम ह्युगन र सेलिने डियनको समेत अभिनय रहेको फिल्मले रेटिङ साइटमा जम्मा १९ प्रतिशत रेटिङ पाएको छ । सिनेमा स्कोरमा फिल्मलाई दर्शकले बी रेटिङ दिएका छन् । फिल्ममा प्रियंकाका श्रीमान् निक जोनसको पनि अतिथि भूमिका रहेको छ ।

प्रियंकाले सन् २०१७ मा ‘बेवाच’मार्फत हलिउडमा डेब्यू गरेकी थिइन् । सन् २०२१ मा उनको ‘म्याट्रिक्स रिसरेक्सन’ रिलिज भएको थियो । भर्खरै रिलिज भएको ‘सिटाडेल’ सिरिजले कमजोर समीक्षा पाएको थियो । बलिउडमा दह्रो गरी खुट्टा टेक्न खोजिरहेकी प्रियंकालाई यो फिल्मको असफलताले धक्का दिएको धेरैको विश्लेषण छ ।