कसरी नेपालमा राष्ट्रियता, राजनीतिक सिद्धान्त र दर्शन कमजोर बन्दै गयो ?

विवेक देवकोटा | फागुन २७, २०८०

विदेशी दासत्व नभोगेको नेपाल संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको फलामे साङ्लोमा बेरियो भने हामीलाई विदेशीले हाम्रै झन्डामुनि दास बनाउने छन्  । संविधानले कुनै अधिकार नदिएका कथित अगुवाले असंवैधानिक र अनैतिक तवरले सरकारलाई आदेश-निर्देश गरिरहेका छन् । न्यायपालिकामा समेत दलीय भागबन्डाको असभ्य र फोहोरी खेल भइरहेको दृष्टान्त छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, विदेशी दूतावासहरू तथा पर्दा पछाडि बसेका कतिपय गुप्तचरहरूले प्रत्यक्ष-अप्रत्यक्ष रूपमा नेपालको स्वामित्व ग्रहण गर्ने घातक योजना बनाइरहेका छन् । यो तीतो यथार्थ हो । 

आज घुसखोरी दुष्चरित्रले मुलुक विक्षिप्त छ । फेरि आजभोलि पश्चिमा छाँटले भुटिएका दिमागहरूले कुतर्क पस्केर देश समाजलाई झन् राष्ट्रियता विरोधी सामाजिक विखण्डनको घातक योजना बनाइरहेका छन् ।

पूर्वाग्रह राखेर कुनै व्यवस्था नयाँ भयो भनेर नाम दिँदैमा इतिहासको सत्यता मेटाउनुपर्छ भन्ने पनि त होइन । राष्ट्रिय एकताको स्वरलाई साहित्यका पानाले मात्र समेटेर इतिहास पूर्ण बन्दैन । हुनलाई त इतिहासले वीरतालाई लेख्छ । त्यसैले त आजसम्म हामी... 'सबै जातका फूलबारी हौँ', भन्ने महान अभिव्यक्तिसँग हामीले स्वाभिमानको उच्चतममा रम्न पाइरहेका छौं । इतिहासमा राष्ट्रियताको सम्मान गर्नेले कदर पाए । कालु पाण्डे, रामकृष्ण कुँवर, केआइ सिंह, कीर्ति शाह, तुलाराम पाण्डेजस्ता महान योद्धाले यो राष्ट्र निर्माणको सङ्ग्रामको महायज्ञमा दिलो ज्यान दिए, राष्ट्र र राष्ट्रियता सर्वोपरि ठानेर एकीकरणको सपना साकार पार्नका निम्ति कुनै कसुर छाडेनन् । राष्ट्र र राष्ट्रियतालाई सर्वोपरि ठान्दा अङ्ग्रेजको सपनामा भेल बाढी आयो । 

किन हामीले कहिले सोचेका छौं ? राष्ट्रवादी देशभक्तहरू बसेर सामूहिक छलफल गरेका छौं ? छैनाैँ ।

 

नेपाल राष्ट्रलाई सोच्ने र इतिहासलाई पनि सम्झिने हो भने साँच्चै भगवानले फुर्सदमा सोचेर बनाएको एक संसारमा कुनै ठाउँ छ भने त्यो हो- नेपाल । विश्वको कुनै देशमध्ये एक मात्र सुन्दर देश हो नेपाल । नेपाली स्वाभिमानका स्वर्णाक्षरित नाम छन् । यहाँ बहुजातिका परम्परा, भेष र पर्वका एकताको श्रृङ्गारमा स्वर्गले आफ्नो स्वरूपलाई बिर्सन्छ । आखिर दिलो ज्यान दिएर, राष्ट्र र राष्ट्रियता सर्वोपरि ठानेर त जोड्यो यो अमर हृदयस्पर्शी इतिहासलाई । आज विश्वले इतिहासका यस्ता अमर नामलाई सलोट गर्दछ । यो गौरवसँग हामीले रमाउन पाउनु अवसर होइन र ? यो राष्ट्र निर्माण भनेर आजसम्ममा थुप्रै परिवर्तन भए, घटना घटे, समयसँगै तीता-मीठा अनुभवले भरिएको केवल राष्ट्रियता छ । राष्ट्रले परिवर्तन पाउला तर इतिहासबाट सिकेर इतिहासलाई सम्मान गर्दै भविष्यको स्वप्‍न बुन्‍न पनि जान्नुपर्छ । किनकि पुर्खाको जीवनीसँग नेपाली माटोको अटुट नाता छ ।​

राष्ट्रघाती भनेको राष्ट्रघाती मात्रै हुन्छ । राष्ट्रियताले त विनाश होइन, क्रान्ति होइन, बुद्धत्वको सिङ्गो सारलाई मनन गर्छ । फैसला राजनीतिको त्यान्द्रो समाउन बाध्य भएकाहरूले गर्ने होइन । यो फैसलाको जिम्मा इतिहासलाई छाडिदिनुपर्छ । नेपालको अहिलेको विकृत राजनीतिक परिवेशमा भइरहेको अतिशयोक्तिपूर्ण बहसले राष्ट्रवाद र राष्ट्रघातको परिभाषा नै बदल्न खोज्दै छ  ।

नेपालको हित-अहित जोडिएर आउने विषयमा पक्ष वा विपक्षमा असल नियतका साथ व्यक्त हुने विचारहरूलाई फरक मतका रूपमा सम्मान गर्नु र स्थान दिनु लोकतन्त्रसम्मत व्यवहार हो  । तर, जब तुच्छ राजनीतिक स्वार्थलाई राष्ट्रिय स्वार्थभन्दा माथि राखेर अस्वाभाविक भाष्यहरू निर्माण गर्न खोजिन्छन्, तब तथाकथित तर्कहरू बलमिच्याइँपूर्ण र असभ्य हुन थाल्छन् । तर, यहाँ त आफ्नो पक्षमा नभइदिए नबोलिदिए, सरकारको बारेमा प्रश्न गरेकै भरमा सोसल मिडियामा लेखेकै भरमा राष्ट्रघातीको परिभाषा दिने गरिन्छ ।

यहाँ दरिद्रता, विषमता र अज्ञानता त हजारौं वर्षअघिदेखि थियो तर राष्ट्रियता यति कमजोर बनेको पटक्कै थिएन । वास्तवमा दलका नेता, प्रजातन्त्रवादी, साम्यवादी, मधेसवादी वा विदेशवादी भन्नेहरूले राष्ट्रको हितविपरीत बोल्ने, खलल पुर्याउने र खोल ओड्ने काम गर्छन् भने ऊ राष्ट्रघाती नै हो । तसर्थ त्यस्ता व्यक्तिलाई जुनसुकै ठाउँमा बहिष्कार गर्न सक्नुपर्छ ।

झट्ट हेर्दा संसद्, सरकार, न्यायपालिका, संवैधानिक अंगहरू, राजनीतिक दलहरू, स्थानीय सरकार, सञ्चारमाध्यम, मजदुर युनियनहरू, विश्वविद्यालय आदिका गतिविधि हेरेर राष्ट्र कता जाँदैछ भन्ने छनक पाइन्छ । यहाँ त भ्रम, निराशा, अन्योल, कुण्ठा, पीडा, औडाहा र अस्थिरता झन् बढ्दैछ । किन हामीले कहिले सोचेका छौं ? राष्ट्रवादी देशभक्तहरू बसेर सामूहिक छलफल गरेका छौं ? छैनाैँ ।

प्राचीन देशहरूमा हजारौं वर्षदेखि मौलिक सभ्यता छ । आज पनि उत्तरी क्षेत्रको भारतीयले दक्षिण भारतीयसँग कुरा गर्दा अंग्रेजी भाषा प्रयोग गर्नुपर्ने बाध्यता छ । अंग्रेजले भारत स्वतन्त्र बनाएपछि अंग्रेजीको प्रभुत्व छँदैछ तर नेपाल कहिले पनि दास थिएन । 

हजार रुपैयाँ हिनामिना गर्नेलाई 'भ्रष्टाचारी' भनेर थुनिन्छ तर राष्ट्रघातीलाई उच्चपदस्थ अधिकृतहरूले समेत लाचारीपूर्वक सलाम ठोक्ने र त्यस्ता देशघातीहरू प्रधानमन्त्रीसमेत बन्न पाउने यो कस्तो प्रणाली हो ? जनता किन यस्ता विषयमा मौन बस्ने ? किन अपराधीलाई सम्मान गर्ने ?हामी राष्ट्रघातको समर्थन गर्दैनौँ भने राष्ट्रवादी हुँ भन्न किन लाज मान्ने ? देशभक्त हुँ भन्न किन डराउने ? किन विदेशीहरूका एजेन्डामा समर्पित हुने ?

 

 

नेपालमा हजारौं वर्षअघिदेखि हाम्रो आफ्नै धर्म, संस्कृति, परम्परा र भाषा सुरक्षित थिए । दक्षिण एसियाको सुरक्षालाई नेपालको राजनीतिक अस्थिरताले झन् जोखिममा पारेको छ ।

म्याडागास्करदेखि सोमालिया, रूआन्डा र अल्जेरियासम्म जातीय विद्वेषको आगो फैलाएर विदेशीले अफ्रिकीहरूको एकतालाई कमजोर बनाए । 'साम्राज्यवादीहरूले हाम्रो राष्ट्रियता कमजोर बनाउन राष्ट्रिय पहिचानको खोजी गर्नुपर्छ भन्ने सिकाए । नेपालका कथित ठूला दललाई विदेशीले मोटो रकम दिएर 'राष्ट्रिय पहिचानको राजनीति' गर्न उक्साइरहे ।

त्यसैले नेपालमा राजनीतिक सिद्धान्त र दर्शन कमजोर बन्दै गएको छ । जात, धर्म, सम्प्रदाय र क्षेत्रीयताको राजनीति गर्नेहरू प्रजातन्त्रका ठूला शत्रु हुन् र राष्ट्रियताका दुस्मन पनि । राष्ट्रियताको पहिचान बदल्ने र राष्ट्रिय भावना कमजोर बनाएर खास विशेष कुनै जात, क्षेत्र वा सम्प्रदाय सुदृढ बन्दैमा राष्ट्र बलियो हुँदैन, तर राष्ट्र बलियो हुँदा सबै स्वतःप्रबल बन्छन् ।

त्यसैले राष्ट्रियता र प्रजातन्त्र बलियो बनाउन राष्ट्रवाद बाधक बन्दैन । जातिवाद, मार्क्सवाद-माओवाद, मधेसवाद, समाजवाद आदि पाखण्ड मात्रै हुन् । राष्ट्रवादको विरोध गर्नुको कुनै तुक छैन । आफूलाई अन्तर्राष्ट्रियवादी भन्न रुचाउने तर राष्ट्रवादी हुन नचाहनेहरूले बुझ्नुपर्छ, जो असल राष्ट्रवादी हुन सक्दैन, त्यस्ता व्यक्ति र समूहको राजनीतिक नारा विषको लड्डु मात्रै हो ।

जसरी साम्राज्यवाद र उपनिवेशवादको साङ्लो चुँडाएर पनि धेरै अफ्रिकी राष्ट्रहरू विदेशी विचार धारामा निर्देशित हुन रुचाउने नेताहरूका कारण कमजोर छन्, हामी आज त्यस्तै अवस्थामा छौं । बाह्य शक्तिको प्रत्यक्ष र परोक्ष लगानीमा चलेका नेपालका सञ्चारमाध्यमले राष्ट्रघातीलाई किन पुल्पुल्याउँछन् भनेर पर्याप्त बुझ्न सकिन्छ ।

अब जनताले राष्ट्रियता र प्रजातन्त्रका शत्रु चिन्न थालेका छन् । त्यसैले आज युवाहरू नै बाह्य हस्तक्षेपविरुद्ध बोल्न थालेका छन् । यो खुसीको कुरा हाे । हाम्रा वीर वीरांगना पुर्खाले अंग्रेज र चीन दुवैसँग युद्ध गरे । धनी हुन् र सुख प्राप्त गर्न उनीहरू लडेका थिएनन् । सुवासचन्द्र बोसले 'आजादहिन्द फौज' बनाएर संघर्ष गरे । उनलाई आज पनि भारतको सबैभन्दा स्पष्ट र राष्ट्रवादी नेता मानिन्छ । सच्चा राष्ट्रियता र राष्ट्रवादीको कुरा गर्ने र राष्ट्रियतामा राजनीति गर्नेहरू कुनै सुसम्पन्न र शिक्षित परिवारमा जन्मिनु पर्ने र उनले व्यक्तिगत सुख सुविधा हेर्दैनन् । राष्ट्रवादीहरू राष्ट्र स्वाधीन हुनुपर्छ भन्ने ध्येयले संघर्ष गर्छन् ।

​यदि सच्चा राष्ट्रियताको कुरा गर्नेको कुरा कोही कसैले सुन्दैनन् भने एक्लै हिँड्नु पर्दछ । हरेक देशमा राष्ट्रवादीहरूले एक्लै हिँड्दा पनि लाखौं सहयात्री पाएका उदाहरण छन् । राष्ट्रघातीहरू अन्त्यमा एक्लै पर्छन् । लेन्डुप दोर्जे धनी थिए तर पछुतो गर्दै मरे, पोलपोट एउटा झुप्रामा ग्लानि, पीडा र पश्चाताप भोगेर मरे । भिडकुन क्विजलिङलाई गोली ठोकेर मृत्युदण्ड दिँदा जनता रमाए । 

तसर्थ राष्ट्रघातीहरू, जातिवाद, मार्क्सवाद-माओवाद, मधेसवाद, समाजवादका नारा लगाउनेहरूलाई सञ्चारमाध्यम, गोष्ठी, सेमिनार उद्घाटन वा कुनै पनि सार्वजनिक ठाउँमा बहिष्कार गर्नुपर्छ । हजार रुपैयाँ हिनामिना गर्नेलाई 'भ्रष्टाचारी' भनेर थुनिन्छ तर राष्ट्रघातीलाई उच्चपदस्थ अधिकृतहरूले समेत लाचारीपूर्वक सलाम ठोक्ने र त्यस्ता देशघातीहरू प्रधानमन्त्रीसमेत बन्न पाउने यो कस्तो प्रणाली हो ? जनता किन यस्ता विषयमा मौन बस्ने ? किन अपराधीलाई सम्मान गर्ने ?हामी राष्ट्रघातको समर्थन गर्दैनौँ भने राष्ट्रवादी हुँ भन्न किन लाज मान्ने ? देशभक्त हुँ भन्न किन डराउने ? किन विदेशीहरूका एजेन्डामा समर्पित हुने ?

#जय देश !! 

 

 

राष्ट्रियसभालाई संवैधानिक र कानुनीरुपमै कमजोर बनाइयो

संविधान निर्माणका क्रममा राष्ट्रियसभालाई कस्तो बताउने भनेर गम्भीररुपमा छलफल चल्यो । यसलाई अधिकारसम्पन्न, प्...

पश्चगामी शक्ति हाबी हुँदैछन्, जनभावना बुझेर काम गरौँ

हरिराम चौधरी | फागुन १६, २०८०

राष्ट्रियसभामा छ वर्षे कार्यकाल मेरो पहिलो हो । पछिल्ला समय राष्ट्रियसभामा प्रतिनिधित्व र यसको औचित्यका बार...

विकास र समृद्धिका लागि चुनावमा एउटा दललाई बहुमत दिलाउनुपर्छ

राजकुमार गुप्ता | फागुन ८, २०८०

देश विकास, दिगो शान्ति स्थापना र भ्रष्टाचारविहीन समाज निर्माणका लागि नेकपा (एमाले) सदनमा प्रभावकारी भूम...