आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

‘वायु प्रदूषणको मारमा बालबालिका, वृद्ध र कोभिड संक्रमित’

डढेलोका कारण उत्‍पन्‍न वायु प्रदूषण सोमबारसम्म रहने

काठमाडौँ : डढेलोका कारण उत्पन्न वायु प्रदूषण आउँदो सोमबारसम्म रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो सोमबारसम्म काठमाडौँ उपत्यकामा वायु प्रदूषण रहने भएको हो ।

अहिले मौसमी प्रणाली सक्रिय नरहेका कारण उपत्यकामा जमेको वायु प्रदूषण हट्न नसकेको महाशाखाले जनाएको छ । मौसमविद मञ्‍जु बासीले भारतबाट आउने मौसमी प्रणाली नआएको र अझै केही दिन कुनै पनि प्रणाली सक्रिय नरहने भएकाले काठमाडौँको आकाशमा धुवाँ धुलो रहिरहने बताइन् । 

‘मौसमी प्रणाली सक्रिय भएको अवस्थामा यसरी धुवाँ धुलो रहदैनथ्यो’ मौसमविद बासीले इकागजसँग भनिन्, ‘अरु वाह्य वायु सक्रिय नभएकाले डढेलोका कारण उत्पन्न प्रदूषण केही दिनसम्म रहन्छ ।’

उनका अनुसार यसरी वायु प्रदूषण भयावह हुनुका पछाडी डढेलो मुख्य कारण हो । गाडीबाट निस्कने प्रदुषण र आगलागीका कारण उत्पन्न प्रदुषणका कारण उपत्यकामा प्रदूषणको चाप बढेको मौसमविद बासीको भनाई छ । सोमबारपछि भने प्रदूषण हटेर मौसम सफा हुने पनि उनले बताइन् ।

यस्तै अहिलेको वायु प्रदूषण कोभिड-१९ संक्रमित, बालबालिका र वृद्धका लागि घातक रहेको चिकित्सकले बताएका छन् । सरुवा रोग विज्ञ डा. शेरबहादुर पुन वायु प्रदूषणलाई ‘साइलेन्ट पेनडामिक’ अर्थात मौन महामारी बताउँछन् ।

यसले तत्काल खास ठूलो असर नदेखाउने भएपनि दीर्घकालिन रुपमा फोक्सोको क्यान्सर, मुटुको समस्या, श्वासप्रश्वासको समस्या बल्झाउने डा. पुनको भनाई छ ।

‘वायु प्रदूषण साइलेन्ट महामारी हो’ उनी अगाडि भन्छन्, ‘यसले तत्कालै ठूलो असर देखाउँदैन । तर भित्रभित्रै भयावह अवस्था पारिरहेको हुन्छ । बालबालिका र वृद्धको प्रतिरोधात्मक शक्ति घट्दै जान्छ । त्यो समस्या अहिले कोरोना संक्रमितमा बढी देखिन्छ ।’

वायु प्रदूषण बढेका बेला घरमै बस्नुपर्ने भनेपनि त्यो सम्भव नरहेको उनको भनाई छ । वायु प्रदूषण हटाउने दीर्घकालिन उपाय खाेज्‍नुपर्ने उनको सुझाव छ ।

‘हामीकहाँ गाडीबाट निस्कने प्रदूषणको मात्रा दिनहुँ बढ्दो छ । यसप्रति कसैको चाँसो छैन्’ उनले भने, ‘तर मुख्य समस्या नै गाडीबाट निस्कने प्रदूषण हो । यस्तो बेला घरबाहिर ननिस्कनु भनेर हुदैन् । प्रदूषण घटाउने दीर्घकालिन उपाय खोज्नुपर्छ ।