सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

सुदूरपश्चिम स्पोर्टस अवार्ड : गोपीचन्द्र र गौरीका उत्कृष्ट, सरस्वती लोकप्रिय

धनगढी : दोस्रो पटक आयोजना भएको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्की वर्ष पुरुष खेलाडी र पौडीकी गौरीका सिंह वर्ष महिला खेलाडीबाट सम्मानित भएका छन् । 

खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भएको अवार्ड कार्यक्रममा पार्कीलाई नवजीवन अस्पताल वर्ष पुरुष खेलाडी र सिंहलाई नोभा अस्पताल वर्ष महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो । 

पार्कीले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत ५ हजार मिटरको मध्यम दुरीमा पहिलो स्वर्ण पदक जित्ने किर्तिमान बनाएका थिए । पुरुष ५ हजार मिटर दौडको निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै उनले स्वर्ण जितेका थिए । भारतका सुनिल दवारलाई करिब १ सेकेन्डले पछाडि पार्दै १३ वर्ष अघि गुमेको स्वर्ण उनले फिर्ता ल्याएका थिए । 

यस्तै सिंहले १३ औँ दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण दुई रजत र तीन कास्य जितेकी थिइन् । एक सय, दुई सय र चार सय मिटर फ्रिस्टाइल तथा दुई सय मिटर व्याकस्टेकमा गरी ऐतिहासिक चार स्वर्ण जित्ने कीर्तिमान उनको नाममा छ । दक्षिण एसियाली खेलकुदमा सबैभन्दा बढी ९ पदक जितेर सर्वाधिक पदक जित्ने अर्को किर्तिमान पनि उनको नाममा छ । 

यस्तै भलिबलकी सरस्वती चौधरी वर्षको लोकप्रिय खेलाडी घोषित भएकी छन् । चौधरीलाई बनदेवी क्लव पिपुल च्वाइस अवार्ड प्रदान गरिएको हो । उनले पौडीकी गौरिका सिंह र क्रिकेटकी अन्जली चन्दलाई पछि पारिन् । चौधरीले ४५ दशमलव ९ प्रतिशत भोट पाइन् भने सिंहले ४४ दशमलव ८५ र चन्दले ९ दशमलव २५ प्रतिशत भोट पाइन् । नेपालको महिला भलिबल टोलीले बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्ने टीमकी महत्वपूर्ण खेलाडी थिइन् चौधरी । उनले १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई भलिबलमा ऐतिहासिक रजत पदक जित्दा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

कुस्तीका राजेन्द्र चन्द वर्ष प्रशिक्षक घोषित भएका छन् । दिनेश सोप वर्ष प्रशिक्षक अवार्ड चन्दलाई प्रदान गरिएको हो । उनको प्रशिक्षणमा नेपालले १३ औँ दक्षिण एसियाली खेलकुदमा कुस्तीमा पहिलो स्वर्ण जितेको थियो । उनी एक स्वर्णसहित तीन रजत र तीन काश्य गरी सात पदक जिताउने प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा १३ औँ दक्षिण एसियाली खेलकुदमा कुस्तीमा सहभागीता जनाएका सबै खेलाडीले पदक जितेका थिए । कैलाली अस्पताल दोस्रो सुदूरपश्चिम स्पोर्टस् अवार्डमा एथलेटिक्सका लक्ष्मीदत्त भट्टलाई सारथि अस्पताल लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । 

तीन दशक अघि चार पटक नेपाल च्याम्पियन बनेर धेरै एथलेटिक्स खेलाडी जन्माउने कैलालीको गेटा निवासी भट्टलाई नेपाल खेलकुद पत्रकार सञ्च कैलालीले लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको हो । तेक्वान्दोकी आयशा शाक्य र क्रिकेटकी अन्जली चन्दलाई वर्षको स्पेशल अवार्डबाट सम्मानित गरेको छ । दुबै खेलाडीलाई न्यू सिटी पोलीक्लिनिक स्पेशल अवार्ड प्रदान गरिएको हो । 

गत वर्ष स्वदेशमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा आयशाले दोहोरो स्वर्णपदक जित्दै इतिहास रचेकी थिइन् । अन्जलीले १३ औँ साग अन्तर्गत महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पार्दा कीर्तिमानी बलिङ गरेकी थिइन् । उनले ह्याट्रिकसहित कुनै रन नदिएर ६ विकेट लिएकी थिइन् । उनी पहिलो ओभर मेडेन राख्दै तीन विकेट, दोस्रो ओभरको अन्तिम दुइ बलमा दुई विकेट र तेस्रो ओभरको पहिलो बलमा विकेट लिएर कीर्तिमान रच्न सफल भएकी थिइन् । 

यस्तै कुस्तीकी संगीता धामी निसर्ग अस्पताल वर्ष युवा खेलाडी घोषित भएकी छन् । उनले १३ औँ दक्षिण एसियाली खेलकुदमा कुस्तीमा नेपाललाई पहिलो स्वर्ण जिताएकी थिइन् । उनले ५५ किलो तौल समूहमा बंगालदेशकी रिमी सरकारलाई पराजित गर्दै स्वर्ण पदक जितेकी थिइन् । उनले नेपालभित्र आयोजना हुने सबै कुस्ती प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् ।

ब्याडटमिन्टनका प्रिन्स दाहाल र कुस्तीकी सिवाङ्गी दुवे सुदूरपश्चिम आइकन घोषित भएका छन् । माया मेट्रो अस्पताल सुदूरपश्चिम आइकन (पुरुष) र दुबैलाई तिवारी मेडिसियन सुदूरपश्चिम आइकन (महिला) बाट पुरस्कृत गरिएको हो । दाहालले १३ औँ दक्षिण एसियाली खेलकुदमा दोहोरो रजत पदक जितेका थिए भने दक्षिण एसियाली क्षेत्रीय खेलकुदमा २१ वर्ष मुनिको प्रतिस्पर्धामा दोहोरो कास्य पदक जितेका थिए । जुनियर ईन्टरनेशनल च्यालेन्जसमा कास्य पदक, प्रेसिडेन्ट कप नेपाल जुनियर ईन्टरनेशनल सिरिजको १९ वर्ष मुनिमा कास्य पदक र अन्नपुर्ण अन्तराष्ट्रिय सिरिजमा ऐतिहासिक रजत पदक जितेका दाहाललाई पुरस्कृत गरिएको मञ्चले जनाएको छ । 

यस्तै १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई कुस्तीमा रजत पदक जिताउने दुवैलाई अवार्ड प्रदान गरिएको हो । उनी कम उमेरमा खुल्ला समूहमा प्रतिस्पर्धा गर्दै नेपालका लागि पदक जित्ने युवा खेलाडी हुन् । उनको राष्ट्रियस्तरका कुस्ती प्रतियोगितामा अहिलेसम्म दोस्रो भएको रेकर्ड छैन् ।