बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

पासपोर्ट छिटाे बनाउन दलालकाे बाटाे राेज्दा कारबाहीमा परिएला है !

काठमाडौँ- 'के तपाइ राहदानी बनाउन जानुहुदैछ ?  होशियार ! कतै तपाइ  विचौलियाको फन्दामा त पर्नु भएको छैन ।'

त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा लाइन लाग्दा विभिन्न व्यक्तिहरू पासपोर्ट छिटो बनाइदिन्छु भन्दै पुग्छन् । बाहिर भेटिएका कोही मानिसले पासपोर्ट छिटो बनाइदिन्छु भनेमा तपाइ ठगिन पनि सक्नुहुन्छ ।

पछिल्लो समय राहदानी विभागमा पासपोर्ट बनाउनेको लामो लाइन देख्न सकिन्छ । विद्यार्थीदेखि वैदेशिक रोजगारीमा जानेहरू बिहानैदेखि पुगेका हुन्छन् । लाइनमा बस्दा-बस्दा सास्ती भोगेको पनि उनीहरूले गुनासो गरिरहेका छन् ।

विचौलियाले चाँडो राहदानी बनाइदिन्छु भनेर रकम र सक्कल कागजात लिएर फरार हुने गरेको राहदानी विभागले जनाएको छ । राहदानीको कभर, कलम र फोल्डर पनि बिक्री गर्न बसेका हुन्छन् ।

'मैले तोक आदेश लगाइदिन्छु, छिटो राहदानी बनाइदिन्छु भनेर ठग्ने वा फसाउने हुन्छन्,' विभागले भनेको छ,' निगरानी गर्नलाई सादा पोसाकमा विभिन्न निकायका कर्मचारीहरू खटाइएको छ । विचौलियाहरूसँग काम लिएमा सेवा लिने र दिनेलाई दुवैलाई कारबाही गरिन्छ ।' सोझा साझा सेवाग्राहीहरू फस्न सक्ने विभागले चिन्ता गरेको छ ।

विद्युतीय राहदानीको कभर बलियो हुने भएकाले छुट्टै कभरको आवश्यकता नपर्ने विभागले जनाएको छ । कलम र फोल्डरको पनि आवश्यकता जरुरी छैन । राहदानी बनाउँदा सक्कल फोटोकपी र तस्बिर को आवश्यकता पर्दैन ।