भारतबाट जम्मा २२ मेगावाट मात्रै खरिद

काठमाडौंँ - भारतमा ऊर्जा संकट गहिरिँदै जाँदा बिजुलीको भाउ अकाशिएपछि हिजो बुधबार नेपाल विद्युत् प्राधिकरणले २२ मेगावाट मात्र बिजुली भारतीय ऊर्जा बजारबाट ल्याउन सक्यो ।
भारतको इनर्जी एक्सचेञ्ज (आईआईएक्स) मा हिजो प्राधिकरणले ९६ वटा ब्लकमध्ये जम्मा १२ वटा ब्लकमा मात्र बिजुली पाएको थियो । एक्सचेन्जमा हरेक १५, १५ मिनेटमा मूल्य फरक फरक हुन्छ । यसअनुसार प्राधिकरणले ८४ वटा ब्लकमा गरेको प्रतिस्पर्धामा बिजुली नपाएको प्राधिकरण स्रोतले बतायो ।
‘हिजो जम्मा १२ वटा ब्लकमा मात्र पायो, त्यो पनि १५ मिनेटको’ स्रोतले भन्यो, ‘जम्मा २२ मेगावाट बिजुली तीन घण्टा मात्र आयो ।’ अन्य ब्लकमा प्रतियुनिट ३० रुपैयाँसम्म बिजुलीको भाउ तय भएको थियो ।
‘त्यो बिजुली किन्न सक्ने अवस्था रहेन,’ स्रोतले भन्यो, ‘आज अलि महँगो परे पनि किनेर उद्योगलाई दिने कुरो छ, तर सधैंभरि महँगोमा किनेर उद्योगलाई दिन सकिंदैन ।’ दिउँसो भने बिहार विद्युत् आदान प्रदान सम्झौता अनुसार २८० देखि २८५ मेगावाट बिजुली बिहारले दिएको थियो । यो बिजुली उसले सौर्य ऊर्जाबाट उत्पादन गरेको हो । बिहारमा अहिले पनि करिब एक हजार मेगावाट बिजुली अभाव छ ।
‘आफूलाई बिजुली कटौती गरेर भए पनि हामीलाई हिजो दिउँसो बिहारले दियो,’ स्रोतले भन्यो । नेपाल विद्युत् प्राधिकरणले भारतीय बिजुलीको भुक्तानी तत्काल गर्ने भएकाले पनि बिहार दिउँसोका लागि बिजुली दिन तयार भएको हो । बिहारमै बक्यौता नउठ्ने पुरानो समस्याले गर्दा पनि नेपालले बिजुली पाएको हो ।
हिजो भारतीय एक्सचेञ्जमा ३० रुपैयाँ प्रतियुनिट कायम रहेकोमा बिहारले भने प्रतियुनिट ६.१८ भारु (९ रुपैयाँ ८८ पैसा) मा दिएको हो । एक्सचेञ्जभन्दा बिहारको बिजुली प्रतियुनट २० रुपैयाँ ११ पैसा सस्तो पर्यो । बिहारसँग १३२ र ३३ केभीबाट बिजुली आदान–प्रदान हुन्छ । ३३ केभी प्रसारण लाइनबाट आउने मूल्य भने ६.६८ भारु (१० रुपैयाँ ६८ पैसा) पर्छ ।
नेपालले भारतबाट तीन तरिकाबाट बिजली आयात गर्छ । पहिलो, एक्सचेञ्ज बजार (प्रतिस्पर्धा), दोस्रो आदान–प्रदान र तेस्रो विद्युत् खरिद सम्झौता (पीपीए) । यी तीनमध्ये एक्सचेञ्जबाट कहिलेकाहीँ आउने, पीपीएबाट भारतले नै बन्द गरायो भने एक्सचेञ्जमा किन्नै नसक्ने भाउ तय भएकाले आयात गर्न नसकिएको हो । नेपाललाई यतिखेर ४ सय मेगावाट बिजुली अभाव छ । उच्चतम माग १६ सय मेगावाट पुगेको छ भने राति (बेस लोड) करिब एक हजार मेगावाट छ ।
विभिन्न सीमा नाकाबाट बिजुली आयात भए पनि जहाँबाट आयात भएको हो त्यहीं खपत गर्नुपर्ने प्राविधिक बाध्यता छ । टनकपुरबाट नेपाललाई सित्तैमा पाउने १६ मेगावाट बिजुली त्यही क्षेत्रतिर खपत गराउनुपर्छ, त्यो बिजुली वीरगञ्जसम्म आइपुग्दैन ।
त्यसैगरी वीरगञ्जमा आउने बिजुली पनि त्यही खपत गराउनुपर्ने बाध्यता छ । नेपालको आन्तरिक प्रसारण लाइन नभएकाले एक ठाउँबाट आएको बिजुली अर्काे ठाउँमा पुर्याउन नसकिएको हो । भारतीय एक्सचेञ्जमा आज (१२.२६ बजे) को मूल्यअनुसार प्रतियुनिट अधिकतम २० भारु, औसत १५.२७ भारु, पीक १७ भारु र न्यूनतम ११.११ भारु छ ।

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_LysmaNlpP3_wtuyrormlpkilk8vdfuzyzndvtvihd7zclxw04yhkaofafo1if6g77jabog2.jpg)
प्रतिक्रिया