मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

छिनोफनो हुने भनिएको नेकपा बैठकमा को-को सहभागी हुँदैछन् ?

काठमाडौं : नेकपाको सचिवालय बैठक पार्टी मुख्यालय धुम्बाराहीमा आज बस्दैछ । आज दिउँसो ३ बजे बस्‍ने बैठकले पार्टीको निर्णयभन्दा सरकार बाहिर गएकाले त्यसको छिनोफानो गर्ने बताइएको छ । नेकपाभित्रको विवादले उग्र रुप लिइरहेको बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बोलाएको बैठकमा को-को सहभागी हुन्छन् भन्‍ने चासोको बिषय बनेको छ ।

नेकपाको सचिवालय ९ सदस्यीय छ । जसमा आजको बैठकमा दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी हुनेछन् । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्‍वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेल सहभागी नहुने बालुवाटार स्रोतले जनाएको छ । तर गृहमन्त्रीसमेत रहेका अर्का सचिवालय सदस्य रामबहादुर थापा भने जाने की नजाने दोधारमा छन् । पूर्वमाओवादी समूहबाट मन्त्री बनेका थापा यसअघि दाहाल निकट मानिन्थे । तर पछिल्‍लो समय उनी प्रधानमन्त्री ओलीसँग निकै नजिएका छन् । यद्यपि  दाहाल निकट नेताहरु थापा बैठकमा सहभागी हुने दाबी गरिरहँदा उनको उपस्थिति हुने/नहुनेबारे अन्यौल छ ।

यसअघि पनि नेकपा विवादले उग्र रुप लिइरहेका बेला ६ बुँदे सहमति प्रस्ताव गरेर ओलीसँग नजिकिएका नेकपाका उपाध्यक्ष वामदेव गौतम पनि बैठक सहभागी हुने उनका प्रेस सहयोगी विश्‍वमणी सुवेदीले इकागजलाई जानकारी दिए । 

नेकपाभित्रको विवादले उग्र रुप लिएपछि अर्का अध्यक्ष ओलीले बैठक बस्‍न अस्वीकार गर्दै आएका थिए । दाहालले भने पार्टीभित्रको विवाद बैठकले नै समाधान गर्नुपर्ने अडान यसअघि नै राखेका थिए । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेका विभिन्‍न विषयबारेमा छलफल अत्यावश्यक भएको महसुस गरी दाहालले बैठक डाकेको बताए । 'सरकारको नेतृत्व गरिरहनुभएका अर्का अध्यक्ष ओलीले पार्टी निर्णय अनुरुप कार्यमा प्रश्‍न उठेपछि बैठक माग गरिएको थियो । दाहालले सोही माग पूरा गर्नु भएको हो,' श्रेष्ठले इकागजसँग भने 'यो बैठकले सरकार सञ्‍चालन, पार्टीभित्रको गतिबिध, मुलुकको समस्यालगायत विषयमा गहन छलफल हुनेछ । '

नेकपाका एक सचिवालय सदस्यका अनुसार आजको बैठकले पार्टीभित्रको समस्या समाधान उपाय खोज्‍नेछ । 'सरकार एकतर्फी पार्टीको निर्णयभन्दा बाहिर गयो' ति सदस्यले भने 'आजको बैठकले छिनोफानो गर्नेछ ।' 

कर्णालीमा आफ्नै पार्टीका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव गरेपछि चुलिएको विवाद हाल उत्कर्षमा पुगेको छ । त्यसपछि प्रधानमन्त्री ओलीले आफू खुसी मन्त्रिपरिषद पुनर्गठन र भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता गरेपछि ओली दाहालबीच अविश्वास बढेको छ । बिहीबार अध्यक्षद्वय ओली र दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन ।