आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

भीमफेदीमा बर्ड फ्लु पुष्टि भएका कुखुरा नष्ट

फाइल फोटो

मकवानपुर - भीमफेदी गाउँपालिका–२, आँपचौरस्थित लीला थिङको खोरमा रहेका विभिन्न प्रजातिका कुखुरामा बर्ड फ्लु पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ ।

केहीदिन अघि बर्ड फ्लु शंका गरिएको उक्त खोरमा नमुना संकलन गरि खोर शिल गरिएको थियो ।

बर्ड फ्लु पुष्टि भएको थिङको खोर र आसपासमा रहेका अन्य खोरको ३ सय १८ वटा कुखुरा, ८१ केजी दाना र केही  अण्डा नष्ट गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका कार्यालय प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए । 

उक्त खोरमा आशंका गरिएको संक्रमण सोमबार बर्ड फ्लु पुष्टि भएको थियो । बर्ड फ्लु पुष्टि भएको खोर वरिपरि अरु पनि कुखुरा नष्ट गर्नुपर्ने भएका कारण दुईदिन लगाएर नष्ट गरिएको ठाकुरले बताए ।

बर्ड फ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले नियन्त्रणको प्रयास स्वरूप काम थालिएको उनले बताए । 

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा बसेको बर्ड फ्लु नियन्त्रण समितिले कुखुरा व्यवसायी तथा उपभोक्ताको हितमा हुनेगरि तीन बुँदे निर्णय गरिएको छ ।