मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

नेपाल वायुसेवा निगमको जग्गा कवाडी राख्ने र शौच गर्ने थलो

फाइल फोटो

काठमाडौँ - नेपाल वायुसेवा निगमको धनगढी बजार क्षेत्रमा रहेको जग्गा कवाडीका सामान राख्ने र शौच गर्ने थलोको रुपमा परिणत भएको छ ।

जग्गा रेखदेखको अभावमा बेवारिसे बनेपछि कवाडी राख्ने र शौच गर्ने थलोमा परिणत भएको हो । जग्गामा प्रवेश गर्ने मुख्य प्रवेशद्वार (गेट) भत्किएको छ भने वरिपरि लगाइएको पर्खालसमेत ठाउँठाउँमा भत्किएको छ । झण्डै दश कट्ठा क्षेत्रफल रहेको उक्त जग्गाको पछिल्लो एक दशकभन्दा बढी समयदेखि कसैबाट रेखदेख भएको देखिँदैन ।  

जग्गा नजिकैको कालोपत्र सडक छेउमा व्यापार गर्दै आएका रसीतुल्लाले भने, `सरकारी कार्यालय भएर पनि नेपाल वायुसेवाको जग्गा बेवारिसे बनेको छ, धनगढी सहरको मुटुमा रहेको यो जग्गा उपयोगमा ल्याउन सके कार्यालयको आम्दानी बढ्ने थियो ।` धनगढीमा सञ्चालनमा रहेको नेपाल वायुसेवा निगमको कार्यालय झण्डै पाँच वर्षअघि बन्द गरिएको थियो । धनगढी विमानस्थलबाट वायुसेवा निगमले आफ्नो जहाज उडाउन नसकेपछि धनगढीको कार्यालय पनि बन्द गरेको थियो । 

निगमले सुदूरपश्चिमको डोटी, अछाम, बझाङ, बाजुरालगायतका क्षेत्रमा धनगढी विमानस्थलबाट केही महिनादेखि हवाई सेवा सुरु गरेको छ । योसँगै धनगढी विमानस्थलमै निगमको कार्यालय सञ्चालन गरिएको छ । निगमका एक कर्मचारीले भने, `धनगढीमा रहेको जग्गा भाडामा लगाउने वा आफ्नै भवन निर्माण गर्ने भन्ने विषयमा केन्द्रमा कुरा चलिरहेको छ ।`

 यसअघि निगमले विगतमा उक्त जग्गालाई भाडामा दिने प्रक्रिया थालेको थियो । भाडामा लिने पहल गर्नुभएका स्थानीयवासी रमणचन्द्र श्रेष्ठले जटिल कानुनी प्रक्रियासँगै लापरबाहीका कारण भाडामा लिन नसकिएको बताए । `जग्गा भाडामा लगाउन नेपाल वायुसेवा निगमले प्रकाशित गरेको बोलपत्रबमोजिम हामीले उक्त जग्गामा ‘स्मार्ट सहर’ बनाउने योजनासहित भाडामा लिने प्रयास गरेका हौँ`, उनले भने, `तर बोलपत्रमा चार वर्षभन्दा बढी समय भाडामा लिन नपाइने भनेर उल्लेख भएको अवस्थामा यसमा ठूलो लगानी गर्नुपर्ने देखिएपछि आफूहरु पछि हट्नुपरेको हो ।`
 
पछिल्लो समय उक्त जग्गामा बालुवा र गिट्टीसमेत थुपार्ने गरिएको छ । `कवाडी राख्ने र शौच गर्ने थलो बन्दा वरिपरिको वातावरणसमेत दुर्गन्धित भइरहेको छ`, स्थानीयवासी रसीतुल्लाले भने । जग्गा नजिकै रहेको खोलामा धनगढी उपमहानगरपालिकाले फोहोरको व्यवस्थापन गर्न थालेपछि वातावरण थप दुर्गन्धित बनेको छ ।