मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

मापसे जाँचमा कडाई, उपत्यकामा एकैदिन ७८ जनामाथि कारबाही

काठमाडौँ - कोभिड संक्रमण घटेपछि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाई गरेको छ । 

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन मामसे गरी सवारी साधन चलाउने ७८ जनालाई कारबाही गरेको छ । उनीहरुलाई सोमबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कारवाही गरिएको हो । 

ट्राफिक प्रहरीले सोमबार काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने कूल १ हजार ७५७ जना चालकहरूलाई कारबाही गरेको थियो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कारवाहीमा पर्ने चालकमा मदिरा पिएर सवारी साधन चलाउने ७८ जना, फुटपाथमा पार्किङ गर्ने १०४ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७७ जना रहेका छन् । 

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५९ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६८ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने ४० जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३८ जना चालकहरूलाई पनि कारवाही गरिएको महाशाखाले जनाएको छ ।