मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

बेपत्ता बालबालिकाको खोजीमा गोताखोरसहितको टोली परिचालन

काठमाडाैँ – सुर्खेतस्थित भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको छ । नम्बर ३२ रक्तकाली गण सुर्खेतबाट १४ जनाको विपद् उद्धार टोली र बाँकेको शम्शेरगञ्जस्थित रिर्जभ गणबाट चार जनाको गोताखोर टोली परिचालन गरिएको हो । 

सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित रामघाट दशरथपुर जोड्ने झोलुङ्गे पुल नजिक शनिबार भेरी नदीमा नुहाउने क्रममा स्थानीय तीन बालबालिका बेपत्ता भएका थिए। बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका–११ रामघाटका १० वर्षीया गङ्गा खड्का, आठ वर्षीया कृष्णा सिञ्जाली र लेकबेंसी नगरपालिका–५ खल्टाकुराका १० वर्षीय दिनेश बुढा रहेका छन् । स्थानीय रोजिता थापा र लक्ष्मी पच्भैयाले नदीमा बालबालिका बगिरहेको देखेपछि आफन्तलाई खबर गरेका थिए । 

सशस्त्र प्रहरी बल नम्बर ३२ रक्तकाली गणका प्रमुख विमल डाँगीले खोजीकार्य जारी रहेको जानकारी दिए। विपद् उद्धार टोलीको नेतृत्व सशस्त्र प्रहरी नायब उपरीक्षक करण धाँमी र गोताखोर टोलीको नेतृत्व सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश थापाले गरेका छन् । “आज बिहान १० बजेदेखि गोताखोर र विपद् उद्धार टोली परिचालन गरिएको हो, हालसम्म बेपत्तालाई फेला पार्न सकिएको छैन”, गणका प्रमुख डाँगीले भने, “गोताखोर टोली खोज्दै रामघाटदेखि सत्तरीतर्फ गइरहेको छ ।”