मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

जल उत्पन्न प्रकोप नियन्त्रण तालिम पुस्तिकामाथि सुझाव संकलन

मकवानपुर- जल उत्पन्न प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी प्रदेश स्तरीय सुझाव संकलन कार्यक्रम हेटौंडामा भएको छ ।

जल उत्पन्न प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि पूर्व तयारीमा जुट्न स्थानीयस्तरको किसानलाई प्रदान गर्ने तालिमको प्रशिक्षण पुस्तिका माथि सरोकारवालाहरू बीचमा सुझाव संकलन गरिएको हो ।
राष्ट्रिय सिंचाइ जल उपभोक्ता महासंघ नेपालले प्रकाशन गरेको प्रशिक्षण हाते पुस्तकमा टिप्पणी गर्दै बागमती प्रदेशको उर्जा खानेपानी तथा सिचाइ मन्त्रालयका सचिव मोहन शाक्यले किसानले अपनत्व गर्नेगरी कार्यक्रम बनाउन र सोही अनुसारको प्रशिक्षण सामग्री बनाउन आग्रह गरे ।

विपत्ति र प्रकोपबाट सबैभन्दा बढी पीडित किसानहरू नै हुने भएकोले यसले तल्लो तहको किसानले पनि राहत पाउने अपेक्षा आफूले गरेको शाक्यले बताए । सिँचाइ तथा नहर निर्माणकार्य गर्दा भविष्यमा आईपर्ने जोखिमबारे पनि सचेत गराउन शाक्यले आग्रह गरे ।

कार्यक्रममा सिँचाइ महाशाखा प्रमुख नवराज अवस्थीले स्थानीयको समस्यालाई सम्बोधन हुने गरी सीपको बिकास गर्न ध्यान दिनुपर्ने बताए ।

प्रकोपको कारण, यसबाट उब्जने समस्या समाधानको उपाय, विद्यमान जल,जमिनको अवस्था बारे पनि जानकारी चाहिने आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका उपसचिव नारायणप्रसाद पोख्रेलले बताए। किसानलाई नहर, सिचाइको थोरै प्रयोगबाट धेरै फाइदा लिने सीप ज्ञानबारे पनि जानकारी समेट्न उपसचिव पोख्रेलले बताए ।

स्थानीय स्तरमा हुने प्रकोपबाट बच्ने उपाय, प्रकोपको लेखाजोखा गर्ने विधि, तथ्यांक संकलनको तरिकाबारे प्रशिक्षणमा जानकारी गराइने बिषयबस्तु समावेश गरिएको राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासंघका सामाजिक परिचालक पूण्यप्रसाद सुवेदीले बताए ।

विपद व्यवस्थापन चक्र, विपद जोखिम व्यवस्थापन र विपद व्यवस्थापन चरणवद्व कार्य, रणनीतिक योजनाको प्राथमिकताहरू, बिषयगत अवधारणाहरू, प्रकोप संकटासन्न तथा क्षमता लेखाजोखा सबन्धी अवधारणा तथा औजारहरू बारे जानकारी दिने गरि स्थानीय तहमा प्रशिक्षण गराइने महासंघका
सामाजिक परिचालक पूण्यप्रसाद सुवेदीले बताए ।

तालिमपछि स्थानीय स्तरको किसानहरूले जल उत्पन्न प्रकोप नियन्त्रणको लागि आवश्यक कदम, समस्या र समाधान बारे सीप हासिल गर्ने अपेक्षा गरिएको छ ।

स्थानीय क्षेत्रको समस्या र चुनौतीलाई सम्बोधन गर्ने गरि काम सुरु गरेको महासंघको प्रदेश कोषाध्यक्ष हेमलाल उप्रेतीले बताए । युएसएआडी र तायर नेपालको सहयोगमा प्रदेश स्तरीय छलफल गरिएको हो । यस्तो छलफल तथा सुझाव संकलन कार्य सातै वटा प्रदेशमा गर्ने र सबै सुझावलाई संकलन गरि पुस्तकको अन्तिम रूप तयार गरिने महासंघका बागमती प्रदेश अध्यक्ष रघुनाथ महर्जनले बताए ।