चितवन राष्ट्रिय निकुञ्जमा आठ महिनामा ३० गैंडा मरे

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा यस आर्थिक वर्ष २०७८/७९ को हालसम्म ३० वटा दुर्लभ एकसिंगे गैंडा मरेका छन् । यस आवको आठ महिना पनि पुग्न नपाउँदै चोरी सिकारीले मारिएका दुईसहित ३० वटा गैंडा मरेको निकुञ्जले जनाएको छ ।
निकुञ्ज र मध्यवर्ती वन क्षेत्रमा ती गैंडा मरेका हुन् । गत आव २०७७/७८ मा ३३ वटा गैंडा मरेका थिए । त्यसअघि आव २०७६/७७ मा २६ गैंडा मरेका थिए । यस आवको माघ र फागुनमा मात्रै ११ वटा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
उनकाअनुसार खोलाले बगाएर र दलदलमा भाँसिएर आठ, आपसमा जुधेर आठ, प्राकृतिक कारणले ६, बाघको आक्रमणबाट पाँच, चोरी सिकारीबाट दुई र मानवीय लापरबाहीले एउटा गैंडा मरेका हुन् ।
साउन ११ गते लिङ्ग पहिचान हुन नसकेको एउटा गैंडा माडीको घाँघर क्षेत्रमा मृत अवस्थामा फेला परेको थियो । गैंडाको खाग काटिएको थियो । उक्त गैंडा चोरी सिकारीले मारेको तिवारी बताउँछन् ।
त्यसैगरी, असोज ११ गते धोबाहा क्षेत्रमा करिब २८ वर्षको पोथी गैंडा मृत फेला पर्यो । त्यसको पनि खाग चोरी गरिएको थियो । दुई वटा गैंडाको चोरी सिकारीमा संलग्न पाँच प्रतिवादीमध्ये दुई जनालाई पक्राउ गरिएको र अझै तीन जना फरार रहेको उनले बताए ।
माघ र फागुनबाट बाघको आक्रमणबाट चार गैंडाको मृत्यु भएको हो । बाघमारा पोस्टको काभ्रे ताल र खेरियामुहान क्षेत्रमा लिङ्ग पहिचान नभएका दुई गैंडा बाघको आक्रमणबाट मरे । सौराहा र सिसुवार मध्यवर्ती क्षेत्रमा करिब चार/चार महिनाका दुई पोथी गैंडा मरेका हुन् ।
त्यसअघि मंसिर ४ गते घटगाई क्षेत्रमा बाघको आक्रमणबाट डेढ वर्षको भाले गैंडा मरेको थियो । आपसमा जुधेर आठ गैंडाको मृत्यु भएको अनुमान गरिएको तिवारी बताउँछन् ।
सौराहा क्षेत्रको ठूलो घोल क्षेत्रमा साउन ७ गते आपसमा जुधेर करिब २२ वर्षको भाले गैंडा मर्यो । कात्तिक ६ गते नवलपुरको भुताहा मध्यवर्ती वनमा र कात्तिक ११ गते सौराहा क्षेत्रको २ नं मचाननेर एक/एक गैंडाको मृत्यु भएको थियो । त्यसपछि मंसिर ५ गते सौराहा क्षेत्रकै डुंगाघाटमा आपसमा जुधेर करिब २२ वर्षको पोथी गैंडा मर्यो ।
काभ्रे ताल क्षेत्रमा माघ १ गते भालेको आक्रमणबाट दुई वर्षको पोथी गैंडा मरेको थियो । माघ १२ गते सुरुङ खोला क्षेत्रमा एउटा भाले र फागुन ४ गते सिसुवार मध्यवर्ती क्षेत्रमा एउटा पोथी गैंडा आपसमा जुधेर मरेको उनले बताए ।
फागुन १४ गते कुजौली पोस्ट नजिकै शुक्ला घोल क्षेत्रमा करिब २० वर्षको एउटा भाले गैंडा जुधेर मरेको थियो । पछिल्लो पटक फागुन १९ गते नवलपुरको कृष्णसार मध्यवर्ती वन क्षेत्रमा करिब २८ वर्षको पोथी गैंडा प्राकृतिक कारणले मरेको तिवारीले जानकारी दिए ।
चालु आवमा प्राकृतिक कारणले मात्रै १४ वटा गैंडा मरेको उनी बताउँछन् । ‘सिमसार क्षेत्र र दलदलमा भाँसिएर मर्ने गैंडाको संख्या पनि बढी छ’, उनी भन्छन्, ‘बाढीले बगाएर पनि बच्चा गैंडा मर्ने गर्छन् । चालु आवमा बाढीले बगाएर र बुढो भएर चार गैंडा मरेका छन् ।’
मानवीय लापरबाहीका कारण माघ ९ गते खाडलमा परेर करिब १२ वर्षको भाले गैंडा मरेको थियो । पूर्वपश्चिम राजमार्गअन्तर्गतको वनदेवी वरण्डाभार मध्यवर्ती वन क्षेत्रको टिकौली जंगलनजिक सडक नालीको खाल्डोमा परेर गैंडा मरेको हो ।
उक्त गैंडा मरेको विषयमा छानबिन गर्नका लागि वन मन्त्रालयले समिति नै बनाएको थियो । समितिले गैंडा मर्नुमा निकुञ्ज प्रशासन, सडक डिभिजन र निर्माण व्यवसायी सबैको गल्ती रहेको औँल्याएको छ । घटनाको छुट्टै अनुसन्धानका लागि निकुञ्जले राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ ।
गैंडाको संरक्षणको लागि वासस्थान व्यवस्थापन नै प्रमुख चुनौतीका रूपमा रहेको तिवारी बताउँछन् । ‘गैंडा बाहिर गाउँवस्तीमा निस्कँदा गैंडा र मानवबीच द्वन्द्व सिर्जना हुने अवस्था छ । त्यसकारण गैंडालाई वन जंगलमै कसरी सिमित गर्ने भनेर अलिकति ध्यान दिन आवश्यक देखिन्छ’, उनले भने ।
गत वर्ष चैतमा सार्वजनिक विवरणअनुसार नेपालमा ७५२ वटा गैडा छन् । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैंडा छन् । गैंडाको संख्या बढ्दै जाँदा एक ठाउँमा जम्मा भएर आपसमा जुधेर गैडा मर्ने गरेका निकुञ्ज बताउँछ ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया