मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

अमेरिकाका राष्ट्रपतिका उम्मेदवारको आ-आफ्नै तर्क

अमेरिकी लोकतन्त्रलाई कसैले अपहरण गर्न सक्दैन् : वाइडन, धाँधली भयो मतगणना रोकौं : ट्रम्प

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हारको नजिक पुगेसँगै उनले निर्वाचनमा धाँधली भएको जनाउँदै तीन राज्यमा मतगणना स्थगित गर्न माग गरेका छन् ।  उनले पेन्सिलभेनिया, मिचिगन र जर्जियामा मतगणना स्थगित गर्न माग गरेको हुन् । उनले त्यहाँको अदालतमा उजुरी नै गरेका छन् ।

अमेरिकी राष्ट्रपति हुन २७० इलेक्ट्रोरल भोट (निर्वाचित प्रतिनिधि) प्राप्त गर्न आवशयक छ । त्यसका लागि हरेक अर्थात ५० राज्यबाट यस्ता मत आफ्नो पक्षमा पार्न आवश्यक छ । पछिल्ला मत गणनामा डेमोक्रेटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडनले जित्‍ने निश्‍चित प्रायः भएपछि ट्रम्पले उजुरी गरेको आरोप छ ।

यो समाचार तयार पार्दासम्म ५० मध्ये ४३ राज्यबाट मतपरिणाम आइसकेको छ । मतपरिणाम अनुसार डेमोक्र्याट उम्मेदवार बाइडनको अग्रता छ । स्पष्ट रूपमा कसले जित्छ यसै भन्‍न नसक्ने विश्लेषणहरु आएपनि वाइडन जित्‍ने प्रायः निश्‍चित छ । हुनपनि वाइडनले आफु जितिसकेको बताएका छन् ।

‘ब्याटलग्राउन्ड स्टेट’ भनिने पेन्सिल्भेनिया, एरिजोना, जोर्जिया र विस्कन्सिनले नै जितको अवस्था निर्धारण गर्नेछ । अहिले ओहायो, टेक्सस, फ्लोरिडासहित २३ राज्यमा ट्रम्पले जित्‍ने छन् । ती राज्यमा मतसर्वेक्षणले देखाएभन्दा उनले राम्रो मत ल्याएका हुन् । अमेरिकामा यसपटक करिव १० करोड मतदाताले हुलाक मार्फत् अर्लि भोट (अग्रिम मतदान) गरेका थिए । अमेरिकामा यसपटक झण्डै ७० प्रतिशत मत खसेको आंकलन गरिएको छ । पछिल्लो १ सय २० वर्षमा सर्वाधिक मत हो ।

यतिबेला आएर राष्ट्रपति ट्रम्पले धाँधली भएको आरोप लगाउँदै मतगणनालाई सर्वोच्च अदालतमा चुनौती दिने जनाएका छन् । ट्रम्पका कार्यकर्ताहरूले पेन्सिल्भेनिया, विस्कन्सिन, जोर्जिया र मिशिगनमा मतगणना रोक्न कानुनी प्रक्रिया नै अघि बढाएका छन् । ट्रम्पका कार्यकर्ताले पेन्सिलभेनियाको मत गणनाको विषयलाई अदालतमा पनि चुनौती दिने तयारी गरेका छन् । ट्रम्पका उप-चुनावी व्यवस्थापक जस्टिन क्लार्कले चुनाव भएको तीन दिनभित्र हुलाकबाट प्राप्त भएका मतपत्र गणना गर्ने/नगर्ने भन्‍ने विषयले अन्यौल बढाएकाले  यसको निरुपण अदालतबाट हुने बताएका छन् । 

राष्ट्रपति ट्रम्पले यही विषयलाई चुनावी प्रचारका क्रममा लगातार उठाउँदै आएका हुन् । हुलाकबाट प्राप्त हुने मतपत्रले चुनावमा धाँधली हुने भन्दै आफू सर्वोच्च अदालत जाने उनले बताएका थिए । ट्रम्पको चुनावी अभियानले विस्कन्सिन राज्यमा पुनः मत गणनाका लागि आग्रह गरेको छ । विस्कन्सिन राज्यमा धेरै अनियमितता भएको दाबी गरिएपनि कहाँ, कसरी धाँधली भयो भन्‍ने बारेमा केही बताइएको छैन ।

बाइडन पक्षधरहरूले ट्रम्पको टिप्पणीलाई ‘आपत्तिजनक’ भन्दै मतगणना रोक्‍न नहुने माग गरेका छन् । उजुरीमा मतपत्र राखिएका स्थान र मत गणना स्थलसम्म आफ्ना प्रतिनिधिको पहुँच सुनिश्‍चित गर्न ट्रम्पको चुनावी अभियानका तर्फबाट आग्रह गरिएको छ । अमेरिकी संचार एजेन्सी एपीका अनुसार मिचिगनमा डेमोक्रेट पार्टीका बाइडनले विजय हासिल गरेका छन् । औपचारिक घोषणा हुन बाँकी छ । नेभादा, पेन्सिलभेनिया र जर्जियामा अझै पनि मत गणना कार्य जारी छ। दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

‘अमेरिकी लोकतन्त्रलाई कसैले पनि अपहरण गर्न सक्दैनन् । यो अहिले मात्र होइन, कहिल्यै सक्दैनन,’ वाइडनले भनेको एपीले जनाएको छ । हार नजिक पुगेपछि धाधली भन्‍नुको कुनै अर्थ नरहेको भनिरहेको अवस्थामा ट्रम्प अदालत जाने भएका हुन् । मतगणना नरोकिएपछि उनी अदालतको ढोका ढकढक्याउन पुगेका हुन् । निर्वाचनमा धाँधली भयो भनिरहेका ट्रम्पले अहिले हुलाक र इमेल मतबारे प्रश्‍न उठाएका हुन् ।