आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

उद्योग संगठन मोरङको अध्यक्षमा प्याकुरेल

काठमाडौं : उद्योग संगठन मोरङको अध्यक्षमा सुयश प्याकुरेल चयन भएका छन् । शनिबार सम्पन्न ४८औँ साधारणसभाले १४ सदस्यीय १७औँ कार्यसमिति चयन गरेको हो ।

२०२४ मा उद्योगी जुद्धबहादुर श्रेष्ठ संस्थापक अध्यक्ष भएर स्थापित सङ्गठनको कार्यसमिति १७ सदस्यीय हुने प्रावधान छ । कम्तीमा एक महिलासहित तीन सदस्य अध्यक्षले मनोनयन गर्ने छन् ।

कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा प्रदीप मुरारका तथा उपाध्यक्षमा राजकुमार गोल्छा, नन्दकिशोर राठी र भोलेश्वर दुलाल एवं कोषाध्यक्षमा विपीन काबरा निर्विरोध छानिएका छन् ।

सदस्यमा सुरेन्द्र गोल्छा, सुदीप घिमिरे, तारानाथ निरौला, सौरभ शारडा, सुबोध कोइराला, इन्द्र खत्री राजन, पारस लनियाँ र सुनिलकुमार धनावत सर्वसम्मतिले निर्वाचित हुनुभएको संगठनले जनाएको छ ।