आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

एपीएफका दिपेश र पुलिसका विष्णु क्‍वाटरफाइनलमा

काठमाडौँ : सशस्त्र प्रहरी बलको एपीएफ क्लबका दिपेश धामी र नेपाल पुलिसका विष्णु कटुवाल राजधानीमा जारी प्रथम खुला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको क्‍वाटरफाइनलमा प्रवेश गरेका छन् । 

एपीएफका धामीले शुक्रबार भएको खेलमा नेपाली सेनाका सन्तोष पनेरुलाई २१-१४ र २१-१२ अङ्कले पराजित गर्दै अन्तिम आठमा स्थान बनाउनुभएको हो । यस्तै नेपाल पुलिसका कटुवालले सेनाका डेभिड थापालाई २३-२५, २१-१९ र २१-१७ अङ्कले पराजित गरे ।

यसैगरी पुरुष एकलतर्फ सेनाका पविन लिनथेप, सेनाका रुकेश महर्जन र भोजबहादुर गुरुङ, भूपू सैनिकका सहरोज अन्सारी, सिल्क ग्रुपका प्रिन्स दाहाल र पुलिसका जीवन आचार्यले आ-आफ्नो खेलमा जित निकाल्दै क्‍वाटरफाइनलमा प्रवेश गरेका छन् । 

तारकेश्वर नगरपालिकाको आयोजनामा भएको उक्त प्रतियोगितामा महिला एकलतर्फ धादिङकी तारा आले र नेपाली सेनाकी प्रार्थना देउवा पनि क्‍वाटरफाइनलमा प्रवेश गरेका छन् । आलेले सेनाकी डेमोना केसीलाई २१-१० र २१-७ अङ्कले तथा देउवाले बुटवलकी प्रतिष्ठा अर्याललाई २१-६ र २१-७ को सोझो सेटमा पराजित गरेका हुन् ।