आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

लाइसेन्सका लागि आवेदन दिने चार लाख ५२ हजार

काठमाडौं : देशभरमा गरी चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या चार लाख ५२ हजार पुगेको छ । यो संख्या गत पुस २९ देखि अहिलेसम्मको देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुन चाहने सेवाग्राहीको हो । 

लामो समयसम्म अवरुद्ध सेवा अहिले खुलेकाले एकै पटक धेरै सेवाग्राहीले भरेको यातायात व्यवस्था कार्यालयले जनाएको छ । झण्डै १० महिनासम्म अवरुद्ध सेवा खुल्दा एकै पटक भीड भए पनि अहिले कम भइरहेको सूचना प्रविधि निर्देशक पवित्र डङ्गोलले बताए । परीक्षार्थीले अनलाइनमार्फत फारम भर्न पाउने भएकाले जुनसुकै स्थानमा भए पनि फारम भरिरहेका छन् । उनले भने, 'जुनसुकै समयमा र अनलाइन भएकाले सेवाग्राहीलाई फारम भर्न सजिलो भएको छ ।'

गत वर्ष चैतदेखि कोभिड-१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रको स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले पहिलो महिना चाप रहेको सूचना प्रविधि निर्देशक डङ्गोलले बताए । उनका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।

गत पुसमा अनलाइन फारम लिन थाल्दा विभागले निश्‍चित समयभित्र मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो । निश्‍चित समय मात्रै हुँदै धेरै सेवाग्राहीले एकै पटक भीड भएकाले  सेवाग्राहीले भर्न सकेका थिएनन् । शुरुमा रहेको फारम भर्न नसकिने समस्या भए पनि जुनसुकै समयमा भर्न सक्ने व्यवस्था मिलाइएकाले त्यो समस्या हटिसकेको उनले बताए  । उनले भने, 'पहिले पहिले फारम नै भर्न सकिएन भन्‍ने गुनासो आउने गरे पनि अहिले गुनासो छैन ।' रासस