सम्भावित फुटलाई रोक्न नेताहरूको दौडधुप

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को विवाद उत्कर्षमा पुगेको छ । कर्णाली प्रदेशमा आफ्नै पार्टीका सांसदले मुख्यमन्त्रीविरुध्द अविश्वास प्रस्ताव प्रकरणपछि उत्पन्न विवाद फुटको संघारमा पुर्याएको छ । पार्टी विवाद साम्य पार्न दोस्रो तहका नेताहरूको दौडधूप र भेटघाट बाक्लिएको छ ।
पार्टीको कर्णाली प्रदेशको संसदीय दलमा देखिएको विवादपछि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा मन्त्रिपरिषद् पुनर्गठन गरको इतर समूहको आरोप छ । प्रधानमन्त्रीको त्यो कदमले दुरी झन बढायो । पार्टीमा आन्तरिक विवाद चुलिएका बेला भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले काठमाडौं आएर प्रधानमन्त्री ओलीलाई भेटेपछि अविश्वास झन चुलियो ।
अविश्वास चुलिएपछि ११ दिनसम्म अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच संवाद नै हुन सकेन । ओलीले आफू निकटका नेताहरूलाई निरन्तर खुमलटार पठाएर संवादहिनता तोडियो । तर विवाद भने अर्केतिर मोडियो ।
आइतबार पार्टी प्रवक्ता नारायाणकाजी श्रेष्ठले नै ओलीले सल्लाहमै पार्टी फुटाउने प्रस्ताव गरेको खुलासा गरे । कार्यकारी अध्यक्ष दाहाललाई उध्रित गर्दै श्रेष्ठले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी फुटाउने प्रस्ताव शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहालसँग गरेको खुलासा गरेका थिए । विरलै मात्र मुख खोल्ने पार्टी महासचिव विष्णु पौडेलले समेत पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको भनाइ सामाजिक सन्जालमा पोष्ट गरेका थिए ।
दुवै पक्षबाट यस्तो बयान बाहिर आएपछि पार्टी फुटको सँघारमा पुगेको आँकलन भइरहेको छ । यसै सन्दर्भमा अध्यक्ष दाहालले आइतबार नै वरिष्ठ नेता, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायतका नेताहरूसँग ब्रिफिङ गरेका थिए । दाहालले आफूनिकटका नेतासँग पछिल्लो विवादका विषयमा निरन्तर छलफल गरिरहेका छन् । आइतबार नै दाहालले आफूनिकटका स्थायी समिति सदस्यलाई काठमाडौं बोलाएको एक सदस्यले बताएका थिए । उनीहरू आज बिहानै काठमाडौं आइपुगेका छन् ।
यता ओलीले पनि आफूनिकटका नेताहरूसँग निरन्तर छलफल गरिरहेका छन् । ओलीको सचिवालय र आफ्ना विश्वासपात्रसँग ओली निरन्तर छलफलमा छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहानै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र केही आफूनिकटका केन्द्रीय सदस्यसँग छलफल गरेका थिए । त्यसपछि पनि ओली आफू निकटकासँग छलफलमै व्यस्त छन् ।
विवाद समाधान हुनेमा विश्वस्त
पार्टीमा देखिएको विवाद समाधान हुनेमा दोस्रो तहका नेताहरू भने विश्वस्त देखिएका छन् । पार्टी फुट्ने स्थिति पैदा भएपछि दोस्रो तहका सक्रियता बढाएका हुन् । नेतृत्व तहमा सिध्दान्त र विधि-विधानको विवाद नभएको र भागबण्डा मिलाएमा खण्डमा विवाद साम्य हुने धारणा दोस्रो तहका नेताहरूको छ । स्थायी समितिका एक सदस्यले भने, ‘यो सिध्दान्त वा विधि विधानको विवाद होइन ।’ उनले भने, ‘शक्तिको बाँडफाँड र भागवण्डा मुख्य विषय हो । यसअघि पनि यस्ता समस्या देखिएकै हुन् । पार्टी फुट्छ भन्ने हल्ला चलेकै हो । यो विषय पनि समाधान भइहाल्छ ।’
केन्द्रीय सदस्य विष्णु रिजालको पार्टी नफुट्नेमा ढुक्क छन् । ‘नेकपामा विवाद छ । तर यही आधारमा पार्टी फुट्दैन ।’ उनी भन्छन्, ‘यसभन्दा ठूला संकट र क्षति भोगेर एकतामा आइपुगेको नेताहरूले जीवनको उत्तराध्दमा राजमार्ग छाडेर फेरि भीरको बाटो रोज्दैनन् ।’ उनको बुझाइमा पार्टी विभाजनका लागि न परिस्थिति छ न त नेताहरूको मनस्थिति छ ।
पछिल्लो विवादका विषयमा पूर्वमाओवादी पक्षका नेताहरू भने मौन छन् । पूर्वएमाले पक्ष र नेपाल पक्षका नेताहरूले समेत पछिल्लो विवादका विषयमा प्रतिक्रिया दिइरहेको बेला पूर्वमाओवादीको दोस्रो तहका नेता भने मौन छन् ।
टेलिफोन सम्पर्कमा आएका पूर्व माओवादीको कोटाबाट स्थायी समिति सदस्य बनेका एक नेताले पनि यस विषयमा प्रतिक्रया दिन मानेनन् । नाम उल्लेख शर्तमा उनले भने, ‘नेतृत्वको विवाद हो । यस विषयमा हामीलाई केही जानकारी छैन । बोलेर पनि के गर्नु ? के बोल्नु ?’ उनले पछिल्लो विवादका विषयमा सञ्चार माध्यममा आएका विषयबाहेक आफूलाई थप कुनै जानकारी नभएको दाबी गरे ।
एकता जोगाउन दोस्रो तह सक्रिय
नेताहरूबीच देखिएको विवाद साम्य पार्न दोस्रो तहका नेताहरू सक्रिय बनेका छन् । फुटबाट जोगाउन दोस्रो तहका नेताहरू सक्रिय भएका हुन् । पार्टी एकतालाई जसरी पनि जोगाउनुपर्नेमा दोस्रो तहका नेताहरू एकमत देखिएका छन् ।
एकता कायम गर्नुपर्नेमा सचिवालयका दोस्रो तहका नेतादेखि स्थायी समिति र केन्द्रीय समितिका नेताहरू एक मत छ । सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताको रक्षाका निम्ति सक्रिय पहल गर्न अपिल गरेका छन् । पार्टीको बैठक बसेर सबै विषयमा छलफल गर्न समेत उनले माग गरेका छन् ।
‘फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेशविरुध्द हुन्छ । तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ-आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं’ श्रेष्ठले भने । देशी विदेशी प्रतिक्रियावादीले पार्टी फुटाउन खोजेको उनको आरोप छ । अध्यक्षद्वयबीच पुनः संवाद सुरु हुनुपर्ने श्रेष्ठको भनाइ छ ।
त्यस्तै सचिवालयकै सदस्य ईश्वर पोखरेलले पनि पार्टी एकतालाई बचाउनुपर्ने धारणा राखेका छन् । एकताका बेला गरिएको सहमतिविपरीत पूर्वसमूहभित्रको आवध्दताका आधारमा समिकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको उनको भनाइ छ ।
यता पूर्वमाओवादीबाट स्थायी समिति सदस्य बनेका देवेन्द्र पौडेलले एकता बचाउन विभिन्न छलफल र संवादलाई निरन्तरता दिन लागिपरेको बताए । महासचिव पौडेल संयोजकत्वको ६ सदस्यीय कार्यदलको सुझावका आधारमाअघि बढनुपर्ने मत राख्दै वार्ता र संवाद नै समाधानको बाटो रहेको औल्याए । ‘पार्टी विधि, पद्दति र नितीका आधारमा चल्नुपर्छ भन्नेमा हाम्रो जोड छ । बिहानैदेखि भेटघाट गरिरहेका छौ । वार्ता र सम्वादलाई निरन्तरता दिनुपर्छ भन्नेमा लागिपरेका छौं ।’ उनले भने ।

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यकः पूर्वउपराष्ट्रपति पुन

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे

प्रभु साहको टिप्पणीः सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो छ : महामन्त्री शर्मा

प्रतिक्रिया