सेयर बजारमा अन्तर्दिवसीय कारोबार कति सहज छ ?

काठमाडौँः नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले सेयर बजारमा अन्तर्दिवसीय कारोबार (इन्ट्रा डे ट्रेडिङ) सुरु गर्ने सम्बन्धमा अध्ययन अघि बढाएको छ । अन्तर्दिवसीय कारोबार सेयर बजार विकासको एउटा महत्वपूर्ण औजार भएपनि यसका लागि केही कानुनी र केही सेवा प्रदायकसँग सम्बन्धित पूर्वाधार आवश्यक हुने जानकारहरूले बताएका छन् ।
संगठीत स्टक एक्स्चेन्ज सञ्चालनमा आएको झण्डै तीन दशक पुग्नै लाग्दा नेपालले बजार विकासका लागि अन्तर्दिवसीय कारोबार शुरु गर्ने गृहकार्य अघि बढाएको भएपनि यसका लागि अत्यावश्यक धितोपत्र सापटी लिनेदिने तथा अक्सन मार्केट सम्बन्धी आधारभूत पूर्वाधारहरू विकास गर्न आवश्यक रहेको छ ।
अन्तर्दिवसीय कारोबार बजारको उतारचढावबाट वास्तविक समयमा लगानीकर्ताले कारोबारको निर्णय लिने विधि हो । यसमा धितोपत्र कारोबारलाई प्रमुख पेशा बनाएर पूँजी बजारमा लगानीको अनुभव हासिल गरेका र बजारको सम्भावित जोखिम बुझेका पूर्णकालीन लगानीकर्ता तथा बजार सञ्चालक तथा धितोपत्र व्यवसायीलाई थप अवसर सिर्जना हुन्छ ।
धितोपत्रको नियमित दोस्रो बजारमा हुने कारोबारमा सबै लगानीकर्ता धितोपत्र खरिद गरी आफ्नो स्वामित्वमा लिने र बिक्री गरेर पुँजीगत लाभ प्राप्त गर्ने उद्देश्यमा मात्र हुँदैनन् ।
विकसित मुलुकहरुको दोस्रो बजारमा धितोपत्र कारोबार गर्ने परम्परागत शैली र संरचनाभन्दा फरक किसिमले वित्तीय सम्पत्तिहरुको मूल्यमा हुने उतारचढावबाट लाभ उठाउन खोज्ने लगानीकर्तालाई नयाँ अवसर उपलब्ध गराउने एवं बजारको तीब्र उतारचढावलाई समेत सन्तुलनमा राख्ने उद्देश्यले अन्तर्दिवसीय कारोबार सञ्चालनमा ल्याइएको हुन्छ ।
यस किसिमको बजारमा लगानीकर्ताहरुको कारोबार एक दिनमा सीमित हुन्छ । उनीहरु एक दिनभित्रै सस्तो मूल्यमा धितोपत्र किन्ने र महँगोमा विक्री गर्ने अथवा महँगोमा विक्री गरेपश्चात सस्तोमा खरिद गरेर आफ्नो दायित्व पूरा गर्ने उद्देश्य लिएर प्रवेश गर्ने गर्छन ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बजारमा वास्तविक सट्टेबाजी अन्तर्दिवसीय कारोबारले सिर्जना गर्ने बताउँछन् । ‘यसले परिपक्व र बजारको राम्रो विश्लेषण गर्न सक्ने लगानीकर्ता बजारमा प्रवेश गर्छन्,’ उनले भने, ‘त्यसभन्दा अघि त हामीसँग कानुनी, नियामकीय तथा संस्थागत र प्राविधिक पूर्वाधार त्यस अनुकुल हुनुपर्छ ।’
धितोपत्र बोर्ड नेपालका एकजना पूर्व अध्यक्षले विगतमा पुँजी बजारमा भएका सुधारले अन्तर्दिवसीय कारोबारसम्मको अवस्थालाई मार्गप्रशस्त गरेको भएपनि केही अत्यावश्यक गृहकार्य आवश्यक रहेको बताउँछन् । धितोपत्र बजारको कारोबारमा डिजिटाइजेसन भएपनि यसका लागि धितोपत्र सापटी लिनेदिने, अक्सन सम्बन्धी व्यवस्था र मार्जिन ट्रेडिङ सुविधा अत्यावश्यक रहेको भन्दै उनले प्रचलित धितोपत्र ऐन, २०६३ ले धितोपत्र सापटी लिनेदिने सम्बन्धमा कल्पना नगरेकाले ऐन संशोधन आवश्यक पर्ने बताए ।
धितोपत्रको दोस्रो बजार सम्बन्धी कत्ति पनि ज्ञान नभएको, बजार जोखिम वहन गर्ने सवालमा कमजोर, सीमित वित्तीय साधन, सूचना र प्राविधिक ज्ञानका हिसाबले अनुभवहिन लगानीकर्ताका लागि भने अन्तर्दिवसीय कारोबार उपयुक्त हुँदैन ।
विकसिमत मुलुकहरुमा अन्तर्दिवसीय कारोबारको अभ्यास रहेको भएपनि दक्षिण एसियामा भने भारतीय सेयर बजारमा मात्र यो अभ्यास भएको देखिन्छ । संस्थागत, नीतिगत र प्राविधिक पूर्वाधारको पाटोमा प्रशस्त सुधार गर्नुपर्ने भएकाले सरोकारवालाहरूले बहसमा आएपनि अहिले नै धितोपत्रको दोस्रो बजारमा अन्तर्दिवसीय कारोबार सम्भव नभएको बताएका छन् ।
‘नीतिगत पूर्वाधारको अभावमा हाल सञ्चालनमा रहेका पुँजी बजार सम्बद्ध संस्थाहरु अन्तर्दिवसीय कारोबार, धितोपत्र सापटी लिनेदिने तथा अक्सन मार्केटमा सहभागी हुन पाएका छैनन्,’ नेपाल स्टक एक्स्चेन्जका अधिकारीहरू भन्छन्, ‘तैपनि ऐननियममा आवश्यक परिमार्जन गरी नेप्से, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, सदस्य धितोपत्र दलाल, मर्चेन्ट बैकहरु छोटो समयको तयारीमै अन्तर्दिवसीय कारोबार, धितोपत्र सापटी लिनेदिने तथा अक्सन मार्केटमा सहभागी हुन सक्ने देखिन्छ भने अन्य बजार सहभागीलाई यस सम्बन्धी अभिमुखीकरण आवश्यक छ ।’
अहिले नेप्सेले दोस्रो बजार कारोबार नट्स मार्फत सञ्चालन गर्दै आएको छ र यो बहुऔजार कारोबार संयन्त्र भएकाले अन्तर्दिवसीय कारोबार, धितोपत्र सापटी लिनेदिने तथा अक्सन मार्केट सञ्चालनका लागि आवश्यक विशेषताहरु थप गरी सञ्चालनमा ल्याउन सकिने नेप्सेले जनाएको छ । साथै, सिडिएससीले पनि अहिले वेभमा आधारित राफसाफ तथा फछ्र्यौट प्रणाली प्रयोगमा ल्याइरहेकाले यसमा आवश्यक परिमार्जन गरी अन्तर्दिवसीय कारोबारका लागि अनुकुल बनाउन सकिने नेप्सेले जनाएको छ ।

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने, ९८ भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

प्रतिक्रिया