ओली-दाहालबीचको टुट्यो संवादहिनता, टुंगिएनन् विवादका विषय

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच संवादहिनता तोडिएको छ । ओलीका दूतहरुको सक्रियतापछि १२ औं दिनमा दुवै नेताबीच भेटवार्ता भएको हो । तर वार्ता विना निष्कर्ष सकिएको छ ।
दाहाल ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । दुई अध्यक्षबीच करिब एक घण्टा भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएको र सचिवालय बैठक बोलाएर पछिल्लो समय देखिएका विवादको समाधान खोज्ने भन्दै बैठक टुंगिएको दाहाल निकट स्रोतले बतायो ।
स्रोतका अनुसार नेकपाभित्रको जारी विवाद समाधानबारे छलफल भएपनि कुनै निष्कर्ष ननिस्किएपछि सचिवालय बैठक बोलाएर छलफल गर्ने प्रस्ताव दाहालले गरेका थिए । तर, सचिवालय बैठक कहिले बस्ने भन्ने मिति तय भएको छैन । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा पछिल्लो पटक देखिएका विवाद समाधानका लागि बैठक बोलाउनु पर्ने माग गर्दै आएका छन् । अध्यक्ष दाहालले भेटमा प्रवक्ताको माग बमोजिम बैठक बोलाउनु पर्ने धारणा राखेका थिए ।
कात्तिक ३ गतेदेखि संवादहीनतामा रहेका प्रधानमन्त्री ओली र दाहालबीच लामो कसरतपछि भेट भएको हो । कर्णालीमा आफ्नै पार्टीका मुख्यमन्त्रीलाई सत्तारुढ दलकै सांसदहरूद्वारा अविश्वासको प्रस्ताव, केन्द्रमा एकलौटी मन्त्रिपरिषद्लाई पूर्णता र केही मन्त्रीको मन्त्रालय परिवर्तन, रअ प्रमुखसँगको भेटघाट र पर्सा घटनापछि अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीसँग असन्तुष्ट थिए ।
ओलीले पार्टीभित्र देखिएको विवाद मिलाउन अर्का अध्यक्षसँगको संवादहिनता तोड्न आफ्नो दूतका रुपमा निकट नेताहरुलाई दाहाल निवास खुमलटारमा दैनिकजसो पठाएका थिए । बुधबार अर्थमन्त्री एवम् पार्टी महासचिव विष्णु पौडैल र संसदीय दलका उपनेता तथा स्थायी समिति सदस्य सुवास नेम्वाङ छुट्टाछुट्टै समयमा दाहाल निवास खुमलटार पुगेका थिए ।
बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल र शुक्रबार परराष्ट्रमन्त्री तथा स्थायी समिति सदस्य प्रदीप ज्ञवाली खुमलटार दाहाललाई फकाउन ओलीको दूतका रुपमा खुमलटार पुगे । ओलीले मंगलबार नै दाहाललाई छलफलका लागि बालुवाटार बोलाएको भएपनि नआएपछि वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर छलफल गरेका थिए ।
नेपालसँग पनि कुरा नमिलेपछि ओलीले दाहाललाई नै भेट्न निरन्तर प्रयास गरेका थिए । यता दाहालले आफू १२ दिनमा ओलीसँग भेट्न जानु अगाडी वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका थिए ।

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यकः पूर्वउपराष्ट्रपति पुन

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे

प्रभु साहको टिप्पणीः सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो छ : महामन्त्री शर्मा

प्रतिक्रिया