आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

अस्ट्रेलियन ओपनः ग्रान्डस्लाममा ‘नयाँ नाडाल’ को कीर्तिमान

काठमाडौँ : कार्लोस अल्कराजलाई टेनिस जगतमा स्पेनका राफाएल नाडालसँग तुलना गर्ने गरिन्छ । १७ वर्षिय युवा स्पेनी खेलाडीलाई नयाँ नाडालको नाम दिने अरु कोही नभएर टोनी नाडाल हुन् । टोनी तिनै हुन्, जसले आफ्ना भतिजा राफाएललाई लामो समयसम्म प्रशिक्षण दिए । 

उनै अल्कराजले मेलबर्नमा जारी अस्ट्रेलियन ओपनमा विजय सुरुवात गरेका छन् । ग्रान्डस्लाममा जित हासिल गर्ने सबैभन्दा कान्छो खेलाडी बन्ने क्रममा अल्कराजले मंगलबार डच प्रतिद्वन्द्वी बोटिक भान डे जान्ड्सल्पलाई ६–१, ६–४, ६–४ ले पराजित गरे । यसअघि यो कीर्तिमान अस्ट्रेलियन खेलाडी थानासी कोक्किनाकिसको नाममा थियो । 

प्रतियोगिताको दोस्रो चरणमा स्थान पक्का गरेका अल्कराजलाई नाडालसँग तुलना गर्ने गरिए पनि उनको र स्पेनी ‘लेजेन्ड’ को खेल शैली उस्तै छैन । तर सानो उमेरमा उत्तिकै बलियो लय देखाएकाले तुलना गर्ने गरिएको हो । नाडालले पनि अल्कराजले जस्तै १७ वर्षकै उमेरमा ग्रान्डस्लाममा पहिलो जित दर्ता गरेका थिए ।

मेलबर्न पार्कमा जितपछि पत्रकारहरूसँग कुरा गर्दै अल्कराजले आफु नाडालसँगको तुलनाले मख्ख पर्ने भन्दा पनि प्रदर्शनमै ध्यान दिइरहेको प्रतिक्रिया दिए । ‘अवश्य पनि नाडाल मेरा लागि प्रेरणका स्रोत हुन् । उनी सधैँ मेहेनत गरेर अभ्यास गर्छन । प्रत्येक बलमा उस्तै शत्ति देखाउँछन् । म पनि उनी जस्तै हुन चाहान्छु । तर उनीसँग गरिने तुलनामा मैले ध्यान दिएको छैन ।’ अल्कराजले भने । 

उता नाडालले पनि बारम्बार अल्कराजको तारिफ गर्ने गरेका छन् । ‘उनी तीब्र गतिमा खेल्छन् । उनले देखाउने जोश तारिफयोग्य छ । यदि उनले मेहेनत गर्दै जाने हो भने भविष्यमा ग्रान्डस्लाम विजेता बन्न सक्छन् ।’ नाडालले भने ।