मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

सेयर बजारमा पहिरो

काठमाडौँ :  पछिल्लो तीन सातादेखि लगातार बढीरहेको सेयर बजारमा यो साता पहिलो कारोबार दिन नै पहिरो गएको छ । आइतबार सेयर बजार परिसूचक (नेप्से) २.२६ प्रतिशत अर्थात् ५४.७५ अंकले घटेर २,३७०.५४ अंकमा अडिएको छ । 

लगातार बढीरहेको बजार अघिल्लो साता अन्तिम कारोबार दिन बिहीबार १६.५६ अंकले घटेर २,४२५.२९ अंकमा झरेको थियो । आइतबार नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीहरूको सेयरको मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स २.२ प्रतिशतले घटेको छ । त्यसबाहेक नेप्सेमा सूचीकृत कम्पनीहरूको सेयर मूल्य मापन गर्ने फ्लोट इन्डेक्स २.३५ प्रतिशतले घटेको छ । 

आइतबार नेप्सेमा सबै समूहका परिसूचकहरू ओरालो लागेका छन् । वित्त कम्पनी, लघुवित्त, जीवन बीमा, बैंकिङ्ग, निर्जीवन बीमा समूह र विकास बैंकिङ्ग समूहको परिसूचक उल्लेख्य घटेको छ । 

आइतबार उल्लेख्य गुमाउनेहरूमा रिलायन्स फाइनान्स लिमिटेडको सेयर मूल्य ८.३ प्रतिशतले घटेर प्रतिकित्ता २३२ रुपैयाँ कायम भएको छ । त्यस्तै, गुराँस फाइनान्स लिमिटेडको ७.८३ प्रतिशतले घटेर ४२४ रुपैयाँ, युनाइटेड माद्री आरबी हाइड्रोपावर कम्पनीको ७.६६ प्रतिशत घटेर २२९ रुपैयाँ कायम भएको छ । यसबाहेक गुडविल फाइनान्स लिमिटेड र मल्टिपर्पोज फाइनान्सको सेयर मूल्य पनि ७ प्रतिशतभन्दा बढी घटेर प्रतिकित्ता क्रमशः २३३ र १७५ रुपैयाँमा आजको कारोबार बन्द भएको छ । आइतबारको कारोबार सबैभन्दा धेरै कमाउनेमा प्रभु इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, सिभिल लघुवित्त वित्तीय संस्था र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । 

आजका उल्लेख्य कमाएको प्रभु लाइफ इन्स्योरेन्सको सेयर  २७ हजार ८६ कित्ता सेयर कारोबार भएको छ । त्यस्तै, सबैभन्दा ठूलो परिमाणमा सेञ्चुरी बैंक लिमिटेडको ७ लाख ६० हजार चार सय ९५ कित्ता सेयर कारोबार भएको छ । कारोबार रकमको हिसाबले नेपाल लाइफ इन्स्यारेन्सको ४३ करोड ४४ लाख रुपैयाँ मूल्यको सेयर किनबेच भएको छ । 

आइतबार नेप्सेमा २०६ कम्पनीको एक करोड ६२ लाख ७७ हजार दुई सय ४५ कित्ता सेयर ९६ हजार एक सय ५६ कारोबारमार्फत् ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार चार सय ५० रुपैयाँ मूल्यको सेयर किनबेच भएको छ ।