दल आधिकारिकता दाबीसहितको उजुरी आएमा मात्र आयोगले हेर्ने
नेकपाबारे आयोग भन्छ : दुवै समूहको निर्णय विधान विपरित (हेर्नुस् आयोगको निर्णय पत्र)

काठमाडौँ : विभाजित नेकपाका दुवै समूहले प्रतिनिधि सभा विघटनयता अनेकन निर्णय निर्वाचन आयोगमा दर्ता गराए । पार्टीका पहिलो अध्यक्ष केपी शर्मा ओलीले विधानविपरित बृहत् बिस्तारित केन्द्रीय सदस्यको सूची मात्र बुझाएनन् र अर्का समूहको निर्णयलाई अस्वीकार गर्नुपर्ने दाबीपत्र पनि दर्ज गराए ।
अर्कातिर पुष्पकमल दाहाल (प्रचण्ड) - माधवकुमार नेपाल समूहले पनि पहिलो अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गरेको र दोस्रो अध्यक्षमा माधवकुमार नेपाललाई मनोनयन गरेको पत्र दर्ता गराएका थिए । अन्ततः निर्वाचन आयोगले आइतबार साँझ दुवै पक्षको निर्णय र कागजात विधान विपरित भएको ठहर गर्दै नयाँ दावीपत्र, हेरफेर पत्र, निस्काशन पत्र कुनैलाई पनि वैधानिकता दिएन ।
ओली समूहले विधान विपरित ५५६ जना केन्द्रीय सदस्य समेत थप गरेको थियो । जव की निर्वाचन आयोगमा बझाएको विधानमा १० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य थप गर्न नसक्ने प्रावधान छ । आयोगले सबै अध्यन र छानविनपछि न ओलीलाई हटाएको ‘सदर’ गर्यो, न माधवकुमार नेपाललाई अर्का अध्यक्ष बनाएको पत्रलाई वैधानिकता दियो ।
आयोगले आफ्नो २७ पृष्ठ लामो निर्णयको अन्तिममा लेख्यो, ‘त्यस्तो विवरणमा आयोग सन्तुष्ट हुन नसकेकाले नेकपाको कुनै विवरण परिवर्तन, संशोधन वा हेरफेर हुन सक्ने देखिएन । दलको साविकको विवरण नै कायम रहेको जानकारी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिने ।’
आयोगले नेकपा बनेपछि आयोगमा दर्ता भएका दस्तावेजलाई नै आधिकारिक मान्ने निर्णय लिएको छ । एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । तिनले त्यो एकीकरण दस्तावेजसहित नेकपा दल २०७५ जेठ २३ मा आयोगमा दर्ता गराएका थिए । उनीहरूको दर्तापछि आयोगले निर्णय गरी ‘अभिलेखीकरण’ गरेको थियो ।
‘त्यतिखेर दर्ता विवरण, विधानलाई आधार तथा प्रमाणको रुपमा ग्रहण गरेको हो,’ आयोग भन्छ । नेकपाभित्र एक वर्षदेखि खिँचलो चले पनि दुवै समूहले कुनै पनि पत्र दर्ता गराएका थिएनन् । आयोगका अनुसार ‘२०७७ पुस ५ सम्म प्रतिनिधि सभा विघटन नहुँदासम्म पार्टीमा कुनै फरक मत उत्पन्न भएको र त्यसको जानकारी कुनै पक्षले आयोगमा गराएको देखिँदैन ।’
त्यसपछि २०७७ पुस २० मा दाहाल र नेपालले हस्ताक्षरमा निर्वाचन पत्र दर्ता गराएका थिए । त्यसमा आयोगले भनेको छ, ‘जसमा दलको अध्यक्ष परिवर्तन बाहेक पार्टी एकताबाट घोषित अन्य विवरणहरू आयोगमा रहेको यस दल दर्ताको किताबमा सबै विवरण यथावतै कायम रहेकाले कुनै दाबी प्रस्तुत गर्नुपर्ने अवस्था र स्थिति विद्यमान नभएको भनी उल्लेख गरेको स्थितिमा आयोगले केही बोलीरहनु परेन ।’
अर्थात्, दाहाल-नेपाल समूहले दल-झण्डा-चिन्ह् दाबीसहितको उजुरीपत्र आयोगमा दाखिला गराएका थिएनन् । केवल पार्टी अध्यक्ष ओलीलाई हटाएको पत्र मात्र दर्ता गराएका थिए । आयोगमा दर्ता भएको दस्तावेजअनुसार, एकता महाधिवेशनसम्मका लागि केन्द्रीय समितिमा दुई अध्यक्ष, दुई बरिष्ठ नेता, एक महासचिव र एकजना प्रवक्ता रहने र केन्द्रीय कमिटि ४४१ सदस्यीय रहने व्यवस्था भएको उल्लेख छ । त्यसमा आयोगले भनेको छ, ‘कुनै विवरण परिवर्तन, संशोधन वा हेरफेर हुन सक्ने अवस्था देखिएन ।’
आयोगको निर्णयमा, ‘तसर्थ, नेकपाको अन्तरिम विधान २०७५ को धारा १८ (६) (८) मा आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर रहने व्यवस्था छ । धारा ४३ (ङ) मा केन्द्रीय कमिटीमा कुल सदस्य संख्याको १० प्रतिशतसम्म नबढाई सदस्यहरू मनोनयन गर्न सक्ने व्यवस्था छ । धारा ६१ मा भएको अनुशासनको कारवाहीसम्बन्धी व्यवस्था, धारा (७१) मा भएको विधान संशोधन गर्नुरेमा केन्द्रीय कमिटिको दुई तिहाईले गर्न सक्ने व्यवस्था भएको देखिएन्छ । सो बमोजिम गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ दफा ५१ बमोजिम राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २५ र नियमावलीको अनुसूची १८ बमोजिम दुवै अध्यक्षबाट उल्लेखित कानुनी व्यवस्थाको विधि तथा प्रक्रिया पुर्याई विवरण परिवर्तन, संशोधन वा हेरफेरका लागि लेखी आएको नदेखिएको’ उल्लेख छ ।
उसले ऐन, नियमकै अधारमा दुवैको पत्र ‘अभिलेखीकरण’ नगरेको हो । यो निर्णयसँगै दुवै समूहद्वारा प्रतिस्पर्धात्मक रूपमा आयोगमा दर्ता गराएका पत्रहरू अर्थहीन बनेको हो । अब उनीहरूमध्ये कुनै समूह राजनीतिक दल विवाद निरुपणसम्बन्धी दफा ४४ अनुरुप उजुरी गएमा मात्र आयोगले वैधानिकता परीक्षण गर्नेछ । ऐनको दफा ४४ मा दलको नाम, छाप, झण्डा वा चिन्हसम्बन्धी विवाद भएमा केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद भएको तीस दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाणसहित दावी पेश गर्नुपर्नेछ । आयोगका एक पदाधिकारी भन्छन, 'दफा ४४ लाई पछ्याएर उजुरी दिएमा मात्रै आयोगले दलको वैधानिकता सम्वन्धमा हेर्नेछ ।'

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया