मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

कोभिड–१९ले रोकेन बोकाबली, राजदेवीमा मात्र ८ हजार बली दिइयो

जनकपुरधाम : कोभिड १९ महामारीलाई मध्यनजर गर्दै यस वर्ष जनकपुरधामस्थित राजदेवी मन्दिरमा बोकाबली नदिन भनियो । तर रोक्दा रोक्दै पनि यहाँ ८ हजारभन्दा बढी बोकाबली प्रदान भएको छ ।

स्थानीय प्रशासनले एक महिना अगाडि नै बोकाबली प्रदान नगर्न÷नगराउन निर्देशन सहितको सूचना गरेको थियो । भीडभाड नियन्त्रण गर्न यो सूचना जारी पछि प्रशासन उक्त सूचनाबाट पछि हट्यो । 

स्थानीय युवा कमिटीहरुको दबावपछि स्थानीय प्रशासन आफ्ना निर्देशनबाट पछि हटेको हो । शनिबार राति राजदेवी मन्दिरमा ८ हजार ९ सय ६८ बोकाबली प्रदान भएको छ ।

साँझ ७ बजेर ५ मिनेटमा सुरु भएको बोकाबली राति ११ बजेर २५ मिनेटसम्म बोकाबली प्रदान कार्यक्रम चलेको हो । अघिल्ला वर्षहरुमा महाष्टमीको समय पारेर राजदेवी मन्दिरमा १४ हजारदेखि १५ हजारसम्म बोकाबली दिने गरिएको थियो । 

यस वर्ष कोभिड महामारीका कारण सिमावर्ती क्षेत्र र ग्रामीण क्षेत्रबाट श्रद्धालु भक्तजन आउन नसकेको कारण संख्यामा कमी भएको पूजा व्यवस्थापक महावीर युवा कमिटीका सन्तोष साहले बताए ।

कोभिड महामारीलाई मध्यनजर गरी गृह मन्त्रालयले शक्तिपीठहरुमा भीडभाड गर्न निषेध गरेपनि जनकपुरधाममा स्थानीय प्रशासनको निरिहताका कारण दसैंको घटस्थापनादेखि नै बलिप्रदान सहित विभिन्न पूजापाठमा राजदेवी मन्दिर सहितका शक्तिपीठहरुमा हजारौंको भीड लाग्ने गरेको छ ।