यसरी लुटेको थियो खिम्तीले २० वर्षसम्म प्राधिकरणलाई
नाफा घट्यो ९३.१८ प्रतिशतले
काठमाडौं : अमेरिकी डलरमा बिजुली किन्ने गरी सम्झौता भएको खिम्ती जलविद्युत्को प्रवद्र्धक कम्पनी हिमाल पावर लिमिटेडले २० वर्षसम्म नेपाललाई कसरी लुटिरहेको थियो भन्ने एउटा तथ्य उजागर भएको छ ।
अमेरिकी डलरमा भुक्तानी गर्नु नपर्ने र यसको आधा स्वामित्व नेपाल विद्युत् प्राधिकरणमा सरेपछि खिम्ती (६० मेगावाट) उसको आर्जन गर्दै आएको नाफामा ९३.१८ प्रतिशतले कमी आएको छ । डलरमा भुक्तानी होउञ्जेल खिम्तीले ३ अर्ब ७० करोड रुपैयाँ खुद मुनाफा कमाउँथ्यो । गत वर्ष २०७७÷७८ मा उसले जम्मा २५ करोड ४१ लाख रुपैयाँ मात्र नाफा गर्न सक्यो ।
डलरमा विद्युत् खरिद गर्ने सम्झौता (पीपीए) को म्याद गत २०७७ असार २६ गते सकिएको र २० वर्षपछि त्यसको आधा स्वामित्व प्राधिकरणमा स्वतः गएकाले खिम्तीको नाफामा उल्लेख्य गिरावट आएको हो ।
रोयल्टीसमेत प्राधिकरणले तिर्नुपर्ने २०५२ सालमा सम्झौता गरिएको खिम्तीले हरेक वर्ष नेपालबाट साढे तीन अर्ब रुपैयाँ लैजान्थ्यो । प्राधिकरणमा आधा स्वामित्व आउनुअघिसम्म खिम्तीले नेपालबाट ७० अर्ब रुपैयाँ लगेको छ ।
खिम्तीले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दैन । तर बुटबल पावर कम्पनी (बीपीसी) को खिम्तीमा १६.८८ प्रतिशत (४३ करोड रुपैयाँ) लगानी छ । बीपीसीले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा खिम्तीबाट उसले आव २०७७/७८ मा ४ करोड २८ लाख रुपैयाँ मात्र पाउने देखिन्छ । जबकि वीपीसीले २०७६÷७७ मा खिम्तीबाट ७३ करोड ९० लाख रुपैयाँ लाभांश पाएको थियो । खिम्तीको नाफा घटेपछि वीपीसीको पनि नाफा घटेको छ ।
अघिल्लो वर्ष बीपीसीको खुद मुनाफा ७६ करोड ५८ लाख रुपैयाँ थियो र खिम्तीको आधा स्वामित्व हस्तान्तरण र डलर नपाएपछि बीपीसीको खुद मुनाफा पनि ५० करोड १८ लाख रुपैयाँमा सीमित हुन पुगेको उसको आफ्नै प्रतिवेदनमा उल्लेख छ ।
अमेरिकी डलर भुक्तानी पाइरहँदा खिम्तीको प्रतिशेयर आम्दानी २११.६ रुपैयाँ थियो । डलर पनि नआउने र आधा स्वामित्व पनि गइसकेपछि खिम्तीको प्रतिशेयर आम्दानी १४.४१ रुपैयाँमा झरेको छ ।
खिम्तीको खुद मुनाफामा उल्लेखनीय रुपमा गिरावट आएपछि बीपीसीको वित्तीय कार्यसम्पादनमा पनि असर परेको छ । खिम्तीको नाफा घट्दा बीपीसीको प्रतिसेयर आम्दानी ११.४१ रुपैयाँमा सीमित भएको थियो । खिम्तीले डलर असुलेको अवस्थामा बीपीसीको प्रतिशेयर आम्दानी २८.१० रुपैयाँ थियो ।
अरुण तेस्रो रद्द गराएर प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने नाममा अमेरिकी डलरमा बिजुली खरीद गर्ने गरी खिम्तीको सम्झौता भएको थियो । खिम्तीले २०५७ साल असार २७ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । यसको निर्माण २०५३ मंसिरदेखि थालिएको थियो ।
अरुण तेस्रोको अवसानपछि नेपाली कांग्रेसले खिम्तीको पहिलो सम्झौता गरेको थियो । नेपाली कांग्रेसका तत्कालीन जलस्रोत मन्त्री लक्ष्मण घिमिरेले २०५० सालमा खिम्तीबाट उत्पादन हुने एक युनिट बिजुलीको ५.२ अमेरिकी सेन्ट्मा खरिद गर्ने सम्झौता (पीपीए) गरेका थिए ।
नेपाली कांग्रेसको सरकार गिरेर एमालेको सरकार बन्दा जलस्रोत मन्त्री बनेका प्रदीप नेपालले खिम्तीको पहिलो सम्झौता संशोधन गरी प्रतियुनिट ५.९ सेन्ट्स पु¥याएका थिए । खिम्ती र भोटेकोसीले नेपालबाट झन्डै डेढ खर्ब रुपैयाँभन्दा बढी लगिसकेका छन् । यी दुई आयोजनाको सम्झौता गर्दा कांग्रेस, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मिलेमतोमा भएको थियो ।
नेपालीले निर्माण गरेका जलविद्युत् आयोजना ३० वर्षपछि सरकारलाई हस्तान्तरण गर्नुपर्छ भने खिम्ती ५० वर्षका लागि दिइएको हो । खिम्तीको रोयल्टी प्राधिकरणले तिर्नुपर्छ । यसको प्रसारण लाइन पनि प्राधिकरणले नै बनाइदिएको थियो । खिम्ती र भोटेकोसी भित्रेपछि अमेरिकी डलरमा पीपीए गर्न सबै सरकार लालायित हुँदै आएका छन् । यी दुई आयोजनापछि माथिल्लो मस्र्याङ्दी (५० मेगावाट) र माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) पनि डलरमै पीपीए भएका छन् ।
अझ बीपीसीले विदेशी लगानीकर्तासँग सहकार्य गर्दै बनाउन लागेका तीनवटा आयोजनामा पनि डलर पीपीएको लागि लबिङ गर्दै आइरहेको छ । बीपीसीको उक्त लबिङलाई अर्थमन्त्री जनार्दन शर्माले ‘सार्थकता’ दिने प्रयास भने नगरेका होइनन् ।
यसका लागि मन्त्री शर्माले नयाँ हेजिङ नियमावली ल्याउन मस्यौदा तयार गर्न लगाए । मस्यौदामा प्रतिमेगावाट १२ देखि १६ करोड रुपैयाँ पर्ने हेजिङ शुल्क नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारले ७० प्रतिशत भुक्तानी गरिदिने उल्लेख छ । प्राधिकरण र ऊर्जा मन्त्रालयले हेजिङ नियमावली मान्य हुन नसक्ने चेतावनी दिइसकेका छन् ।

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_LysmaNlpP3_wtuyrormlpkilk8vdfuzyzndvtvihd7zclxw04yhkaofafo1if6g77jabog2.jpg)
प्रतिक्रिया