बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

इन्डोनेसियाः  समुन्द्रमा खसेको विमानको टुक्रा भेटियो

काठमाडौं : समुन्द्रमा खसेको भनिएको इन्डोनेसियाको श्रीविजिया एयरको विमानको टुक्रा समुन्द्रमा भेटिएको बताइएको छ । आइतबार राजधानी जकर्ताबाट उडेको यात्रुवहाक विमान समुन्द्रमा खसेको बताइएको थियो । वेपत्‍ता विमानको खोजीकार्यमा संलग्न अधिकारीहरूले विमानको टुक्रा र मानव शरीर भेटिएको रोयटर्सले जनाएको छ ।

‘हामीले दुई वटा सिग्‍नल भेट्टाएका छौं । ती सिग्‍नल हराएको श्रीविजिया एयरको विमानकै हुनुपर्छ भन्ने हाम्रो ठम्मयाइ हो । हामीले ब्लाक बक्स भेट्टाएका पनि हुन सक्छौं,’ खोजीकार्यमा सहभागी अधिकारी बागुस पुरुहितोले पत्रकारहरुसँग भने । ६२ यात्रु र चालक दलका सदस्यहरु बोकेर उडेको बोइङ ७३७–५०० विमान चार मिनेट पछि नै राडरबाट सम्पर्कविहिन भएको थियो । सो विमान राजधानी जर्काताबाट दक्षिणी राज्य वेष्ट कालिमानतानको पोनिटियाङ्क तर्फ जाँदै थियो ।

सन् २०१८ मा लायन एयरको विमान दुर्घटना भएयता इन्डोनेसियामा यो नै पछिल्लो विमान दुर्घटना हो । जकार्ताको सोइकार्नो हत्ता विमानस्थलबाट उडेको बोइङकै ७३७ म्याक्स विमान जाभा नदीमा खस्दा एक सय ८९ यात्रु मारिएको थिए । 

उता इन्डोनेसिया नेभीका अधिकारी वाह्युदिन आरिफले स्थानिय आईन्युजसँग कुरा गर्दै विमानको शंकास्पद टुक्राहरु भेटिएको जानकारी दिए । उनले विमानको टायर र मानव शरिरका अंगहरु पनि भेटिएको पनि बताए । भेटिएका मानव शरिरका अंगहरुलाई पहिचानका लागि प्रहरी अस्पताल लगिएको स्थानिय सञ्चार माध्यमहरुले जनाएका छन् ।