उत्तरगंगा जलाशययुक्त आयोजनाको इरानी परामर्शदाता गायब

काठमाडौं : पूर्ण जलाशययुक्त आयोजना उत्तर गंगा (८२८ मेगावाट) को विस्तृत इन्जिनियरिङ र टेण्डर डकुमेन्ट तयार गर्न ठेक्का पाएको इरानी परामर्शदातृ कम्पनी डेढ महिनादेखि सम्पर्कविहीन भएको छ । आयोजनाको प्रवद्र्धक तथा विद्युत् प्राधिकरणको सहायक कम्पनी उत्तरगंगा पावर कम्पनी लिमिटेडको पत्राचारको समेत वास्ता नगरी इरानको महाब घोड्स कन्सल्टिङ इन्जिनियरिङ कम्पनी सम्पर्कमा नआएको हो ।
आयोजना प्रमुख अम्बिकेशकुमार झाका अनुसार नेपाल आएर साइट भिजिट गरी, एउटा बैठक राखेर इन्सेप्सन रिपोर्ट (कहिले काम सुरु गर्ने र कहिले पूरा गर्ने भन्ने विवरणसहितको प्रतिवेदन) दिएर इरान गएदेखि फर्केको छैन ।
पछिल्लो डेढ महिनादेखि उसले आयोजनाको पत्राचारलाई पनि रेस्पोन्स (जवाफ दिन) गर्न छाडेको झाले बताए । ‘नेपालबाट गएको अढाइ महिना भयो, हामीले तारन्तार सम्पर्क गर्ने प्रयास गरिरहेका छौं,’ झाले इकागजसँग भने, ‘हामीले ठेक्काको शर्तअनुसार पत्राचार गरिरहेका छौं ।’
गत अगष्टमा उक्त इरानी परामर्शदातासँग उत्तरगंगा पावर कम्पनीले आयोजनाको विस्तृत इन्जिनियरिङ, डिजाइन, टेण्डर डकुमेन्ट बनाउने गरी ६२ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार उसले १८ महिनाभित्र उत्तरगंगा पावर कम्पनीलाई विस्तृत इन्जिनियरिङ, डिजाइन र टेण्डर डकुमेन्ट बुझाउनुपर्नेछ ।
‘ठेक्का सम्झौताअनुसार जसरी काम गर्नुपर्ने हो त्यो भएको छैन,’ आयोजना प्रमुख झाले भने, ‘कोभिडको कारणले पनि हुन सक्छ, तर सम्पर्कमा आएको छैन, अहिले प्रगतिचाहिं सोचेजस्तो भएको छैन ।’
यो कम्पनीले आफ्नो वेभसाइटमा नेपालको उत्तरगंगा जलाशययुक्त आयोजनाको ठेक्का पाएको उल्लेख गरेको छैन । सन् २०१९ देखि ४६.७२ मेगावाटको एउटा आयोजनाको परामर्शदातृको रुपमा काम गरेको मात्र उल्लेख गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणले यसअघि गरिसकेको सम्भाव्यता अध्ययनलाई महाब घोड्सले समीक्षा गर्ने र विस्तृत डिजाइन नै गर्ने गरी सम्झौता भएको थियो । उसले पाँच महिनाभित्र जियो टेक्निकल इन्भेष्टिगेसन (भौगर्भिक अध्ययन), ड्रिलिङ (भूउत्खनन), चार सय मिटर अडिट एक्सेस टनेल (सुरुङ पहुँच मार्ग, हाइड्रो फ्याक्चरिङ टेष्ट, बाँध क्षेत्र, विद्युत् गृह, जलाशय क्षेत्रको टोपोग्रफिकल सर्भे (स्थलाकृतिक सर्वेक्षण) सुरु गर्नुपर्ने थियो ।
प्राधिकरण आफैले गरेको सम्भाव्यता अध्ययन अनुसार यो आयोजना पूर्ण जलाशययुक्त हो । ६ महिना वर्षायामको पानी संकलन गरेर सुख्खायामको ६ महिना बिजुली उत्पादन गर्न सकिने यो आयोजना एसियामै सबैभन्दा उच्च शीर (हाइ हेड) छ । यसको हेड १३५० मिटर छ ।
माथिल्लो तामाकोसी (४५६ मेगावाट) को ग्रस हेड ८२२ मिटर छ । ठूलो हेड भएका आयोजनामा संरचना सानो बनाए पुग्ने भएकाले तुलनात्मक रुपमा निर्माण लागत सस्तो पर्ने गर्छ ।
सुख्खायामको ६ महिना दैनिक पाँचदेखि १२ घण्टा उच्चतम खपतको समय (पिकिङ) मा उत्तरगंगाबाट बिजुली उत्पादन हुने हुँदा यो आयोजना निर्माणको राष्ट्रिय आवश्यकता परेको हो । यसले वार्षिक एक अर्ब ३० करोड युनिट बिजुली उत्पादन गर्न सक्छ ।
यो आयोजनाको सम्भाव्यता अध्ययनले लागत एक अर्ब १० करोड अमेरिकी डलर (हालको मूल्यमा एक खर्ब ३२ अर्ब रुपैयाँ) पर्ने देखाएको छ । विस्तृत अध्ययनमा लागत अद्यावधिक हुने हुँदा योभन्दा बढी पर्न सक्ने अनुमान छ ।
यता प्राधिकरणको माटो, ढुंगा प्रयोगशालाले ३३० मिटरमध्ये ३२५ भू उत्खनन (ड्रिलिङ) गरिसकेको छ । यो आयोजनाको संरचना क्षेत्र गण्डकी प्रदेशको बाग्लुङ जिल्लामा पर्छ । ढोरपाटनमा पर्ने जलाशय क्षेत्र १२.४६ वर्ग मिटरमा फैलने अध्ययनले देखाएको छ । बाँधको उचाइ दुई सय मिटर छ । यसको सुरुङ ८.५१ किलोमिटर छ ।
यो आयोजनामा दुईवटा विद्युत्गृह हुनेछ । दुवै विद्युत्गृह भूमिगत रहने यस आयोजनाको पहिलो विद्युत् गृहबाट ४१७ मेगावाट र अर्काेबाट ४०४ मेगावाट उत्पादन हुने अध्ययनले देखाएको छ । यसबाट उत्पादित बिजुली ४०० केभीको डबल सर्किट एक सय पाँच किलोमिटर लामो प्रसारण लाइनबाट बुटबल पुर्याउने योजना छ ।

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_LysmaNlpP3_wtuyrormlpkilk8vdfuzyzndvtvihd7zclxw04yhkaofafo1if6g77jabog2.jpg)
प्रतिक्रिया