बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

बिदाइ हुन १० दिन बाँकी रहँदा महाअभियोग झेल्दै ट्रम्प

काठमाडौँ : अमेरिकी संसद्  क्यापिटोल हिल भवनमा भएको घटनालाई लिएर अमेरिकी डेमोक्र्याट्सहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई राज्यद्रोह प्रोत्साहन अन्तरगत महाअभियोग लगाएर तत्काल सत्ताच्यूतको प्रक्रिया अघि बढाउने भएका छन् । सभामुख न्यान्सी पेलोसीले ट्रम्पले तत्काल पदबाट राजीनामा नदिए महाभियोगको प्रक्रिया अगाडि बढाउने जानकारी दिएकी हुन् ।  

सभामुख पेलोसीले नै सोमबारसम्म राजीनामा नआए उनलाई सोमबार अबेर प्रक्रियामा जाने तयारी गरेको जानकारी दिएकी अन्तराष्ट्रिय संचारमाध्यमहरूले उल्लेख गरेका छन् । पाँच जनाको ज्यान जाने गरी संसद्‍मा भएको दंगलाई प्रोत्साहन गरेको आरोपमा ट्रम्पलाई सत्ताबाट बाहिरिन १० दिन बाँकी हुँदा महाअभियोग लगाएर बिदा गर्न लागिएको हो । जानाजान यस्तो घटना घटाइएको आरोप ट्रम्पमाथि छ ।

तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका करिब १६० सदस्यहरूले महाअभियोग पत्र विधेयकमा हस्ताक्षर गरिसकेका छन् । निन्दनीय कार्य गर्ने व्यक्तिलाई यसै छाड्दा त्यसमा समर्थन जनाए जस्तो हुने हुनाले पनि राजिनामा दिएरर बाहिरिन वा महाअभियोग खेप्‍न उनीहररूले चेतावनी दिएका छन् ।

आगामी १० दिनपछि अमेरिकाको नेतृत्व सम्हाल्न लागेका जो वाइडनले महाभियोगबारे संसद्ले निर्णय जानकारी दिइसहेका छन् । उनले लामो समयदेखि आफूलाई ट्रम्प राष्ट्रपति पदका लागि योग्य नभएको बताउँदै आएका थिए ।  

ट्रम्प प्रशासनले उक्त कदमलाई राजनीतिक प्रतिसोध र स्वार्थमा आधारित भन्दै अमेरिकालाई थप विभाजन तर्फ धकेल्ने काम भएको भनेको छ । बुधवार क्यापिटोलमा भाँडभैलो भइरहँदा महाअभियोगको तयारी भने क्यालिफोर्निया राज्यका सांसद् टेड लिउ र रोड आइल्यान्डका डेभिड सिसिलीनले गरेका थिए ।

यो महाभियोग प्रक्रिया अगाडि बढेमा एकै कार्यकालमा दुई पटक महाअभियोग खेप्‍ने पहिलो राष्ट्रपतिमा उनी दर्ज हुनेछन् । एक वर्ष अघि पनि ट्रम्पलाई महाअभियोग प्रस्ताव अघि बढेको र तल्लो सदनले पारितसमेत गरेको थियो । माथिल्लो सदनले सफाई दिएकाले उनलाई राहत मिलेको हो । यतिबेला रिपब्लिकनहरूको सिनेटमा बहुमत भएका कारण महाभियोग पुनः पारित नहुन सक्ने अवस्था छ ।