आइतबार ११ जेठ, २०८२
Sunday, May 25, 2025

स्पा व्यवसायलाई मर्यादित रुपमा सञ्चालन गर्नुपर्ने

वाग्मती –  वाग्मती प्रदेशका संस्कृति एवं पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले स्पा व्यवसायलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । स्पा सङ्घ नेपालको आज यहाँ आयोजित प्रथम वार्षिकोत्सवका अवसरमा उनले मुलुकको अर्थतन्त्रको बलियो आधार स्पा क्षेत्र भएकाले यसलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

“स्पा क्षेत्रमा भएको विकृति र  विसङ्गति अन्त्यका लागि स्पा सङ्घले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ, यस व्यवसायलाई व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्नका लागि प्रदेश सरकारले सहयोग गर्छ,” उनले भने, “यो क्षेत्र पनि नेपालको पर्यटन उद्योगसँग जोडिएकाले  यसको रक्षा गर्ने जिम्मा व्यवसायीसँगै सरकारको पनि होे ।” 

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले स्पा एवं मसाज क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक रहेकाले यस्तो मनोविज्ञानलाई चिर्नु जरुरी रहेको बताए । 

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डङ्गोलले प्राकृतिक आयुर्वेद चिकित्साको रुपमा स्पा व्यवसायीलाई राख्न सरकारलाई आग्रह गरे । सङ्घका अध्यक्ष शुभलाल थिङले कोभिडले आक्रान्त स्पा व्यवसाय सञ्चालनका लागि सङ्घले कोभिड–१९ सङ्क्रमणकालीन स्पा सञ्चालन मापदण्ड–२०७८ बनाएर लागू गरेको जानकारी दिए ।