शनिबार १० जेठ, २०८२
Saturday, May 24, 2025

आईएमएफबाट नेपालका लागि झन्डै ४७ अर्बको ऋण स्वीकृत

काठमाडौँ– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालका लागि ३९ करोड ५९ लाख अमेरिकी डलरको ‘एक्सटेन्डेड क्रेडिट फेसिलिटी’ भनिने एक ऋण प्रस्तावलाई स्वीकृत गरेको छ । यो झन्डै ४७ अर्ब रुपैयाँ बराबरको ऋण हो । 

गत डिसेम्बर महिनामा आईएमएफको सञ्चालक समतिमा उक्त प्रस्ताव पठाइएको थियो । आईएमएफको सञ्चालक समितिले बिहीबार यो ऋण सुविधाको प्रस्ताव स्वीकृत गरेको हो । नेपालले विदेशी विनिमय सञ्चितिमा बढ्दो चाप र कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानलाई समेत दृष्टिगत गरेर यो ऋण सुविधा उपयोग गर्न लागेको हो । आईएमएफले स्वीकृत गरेको ऋणमध्ये ७ करोड ८५ लाख स्पेसल ड्रइङ्ग राइट्स (एसडीआर) अर्थात् ११ करोड अमेरिकी डलर तत्काल निकासा हुनेछ । 

यो ऋण सुविधा ३८ महिनाका लागि हुनेछ र यसले खासगरी कोरोना भाइरस महामारीले मानव स्वास्थ्य र अर्थतन्त्रमा पारेका नकारात्मक प्रभाव न्यूनीकरणस्वरूप जोखिममा रहेका समूहको संरक्षण, समष्टिगत र वित्तीय स्थायित्वको सुनिश्चितता तथा दीगो आर्थिक विस्तार र गरिबी निवारणमा टेवा पुर्‍याउने सुधारका एजेन्डालाई सहयोग गर्नेछ ।

यो कार्यक्रम अन्तर्गत राजस्व वृद्धिका उपायहरू तथा सार्वजनिक खर्चको कार्यदक्षता सुधार, वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षणको को सुदृढीकरण तथा बजेट पारदर्शीता अभिवृद्धी गर्दै सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने आइएमएफले उल्लेख गरेको छ ।