कुखुरापालनमा रमाउँदै, गाउँघरमा भविष्य देख्दै

चन्द्रौटा- शिवराज नगरपालिका–१ का धर्म कुँवर दम्पतीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । सवारी चालकको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोजेका उनले गाउँघरमा भविष्य देखिरहेका छन् ।
गतवर्ष बंैकबाट रु २५ लाख कर्जा लिएर सुरु गरेको स्थानीय जातको कुखुरापालन व्यवसायबाट कुँवर दम्पतीले आफ्नो भविष्य खोजिरहेका छन् । “परिश्रम गरे यही सफल हुन सकिन्छ भन्ने अठोटले व्यवसाय सुरु गरेको हुँ”, उनले भने । यहाँका नागरिकले स्थानीय जातका कुखुरा बढी मन पराउँछन् । तर पछिल्लो समय स्थानीय जातका कुखुरा गाउँघरमासमेत पाउन छाडेका छन् । गाउँमा पनि उन्नत जातको कुखुरा पाउन थालेपछि रैथाने स्थानीय जातको कुखुरापालनमा कमी हुँदै आएको छ ।
यसैलाई दृष्टिगत गरेर कुँवर दम्पतीले अहिले १७ कट्ठा जग्गा वार्षिक ३० हजारको दरले भाडामा लिएर स्थानीय जातका कुखुरापालन व्यवसाय सुरु गरेका हुन् । “अहिले सुरुको चरणमा छ, धेरै आम्दानी गर्न सकेको छैन”, कुँवर भने, “यो व्यवसायबाट आफू सन्तुष्ट हुने रहर छ, ।” उनको फार्ममा अहिले स्थानीय जातका एक हजार ६०० कुखुरा र ३०० बट्टाई ३०० छन् । दैनिक रूपमा २०० अण्डा उत्पादन हुने गरेको उनले बताए । अहिलेसम्म आठ लाखको कुखुरा बिक्री गरेको उहाँको भनाइ छ । “यसअघि दुई लट कुखुरा बेचियो, राम्रो आम्दानी भयो”, उनले भने, “पछिल्लो समय उचित मूल्य र बजारको सुनिश्चितता भएमा व्यवसायमा लगानी बढाउने सोच बनाएको छु ।” उनलाई श्रीमती सुनिता कुँवरलगायत अन्य दुई जना कामदारले व्यवसायमा सघाउँछन् ।
कुखुरापालनबाट आम्दानी राम्रो हुने भएपनि किसानलाई केही जटिल समस्या रहेको सुनिता कुँवरले बताइन् । कुखुरा चरन, औषधि उपचार, खोर व्यवस्थापन वा सुधार तथा तारबारको समस्या रहेको उनको भनाइ छ । हालसम्म आफूले कुनै निकायबाट सहयोग प्राप्त गर्न नसकेको उनले गुनासो गरिन् । “कुखुरापालन व्यवसायमा पनि किसानलाई अनुदान दिने भन्ने कुर सुनेको छु”, उनले भनिन् “ तर आफूले अहिलेसम्म कुनै अनुदान वा सहयोग पाउन सकेको छैन् ।”
धेरै लगानीबाट नै आफूले यो व्यवासय सुरु गरेको उनको भनाइ छ । चरनको लागि तारबारमा सहयोग पाएमा केही सहज हुने उनले बताइन् । “अहिले नेट जालीबाट काम चलाउने गरेको छु”, उनले भनिन्, “तारबार भएमा कुखुरा चरनमा धेरै सहजता आउने थियो । यसका लागि सरकारी निकायबाट सहयोग पाएमा आफू खुसी हुने थियौँ ।”
घरायसी प्रयोगका लागि अण्डा माग गर्नेको सङ्ख्या पनि बढ्दो छ । “अहिले गाउँगाउँबाट पनि चल्लाको माग आइरहेको छ”, उनले भनिन् “स्थानीय जातका कुखुरापालनमा विस्तारै आकर्षण बढ्दैछ ।” स्थानीय जातका कुखुराको मासु र अण्डा स्वादिष्ट तथा स्वस्थकर हुने हुँदा उपभोक्ताले रुचाएका हुन् । अन्य जातको भन्दा स्थानीय जातको कुखुराको मूल्य झण्डै दोब्बर छ । ज्यूँदो कुखुरा प्रतिकिलो रु ८०० मा बिक्री हुने गरेको कुँवरको भनाइ छ । अण्डा रु १८ र एक साताको चल्ला रु १५० मा बिक्री हुँदै आएको छ ।
कुँवर दम्पतीले घरमा बसीबसी उद्यम गरेको देख्दा आफन्त, छिमेकी औधि खुसी छन् । मेहनत र लगावका साथ व्यावसायिक कुखुरापालनमा लागेपछि वरपरका धेरैले ती दम्पतीको प्रशंसासमेत गर्न थालेका छन् । लगानी सुरक्षाको लागि सही मूल्य, बजार व्यवस्थापनसहित सरकारी निकायबाट अनुदान र प्राविधिक सहयोग पाउनुपर्ने ती दम्पतीको माग छ । रासस

कृषिमा डिजिटल हस्तक्षेप : ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको …

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया